एनआरएनए कोषाध्यक्षमा जापानबाट श्रेष्ठको उम्मेदवारी घोषणा

डिसी नेपाल
२२ भदौ २०७८ १२:१७

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी) को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनबाट चुनिने नयाँ कार्यसमितिमा कोषाध्यक्ष पदका लागि एनआरएनए अभियानका अगुवा अरुणकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए अभियानमा आफूले आर्जन गरेको अनुभव र विज्ञतालाई सदुपयोग गर्ने बाचाका साथ ‘चुस्त, पारदर्शी र मितब्ययी एनआरएनए आजको आवाज’ भन्ने मूल नाराका साथ जापानबाट श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रविधियुक्त, आर्थिक पारदर्शीता, उद्यमशीलता र नेपाली एकताको संगठन बनाउने एजेन्डासहित उम्मेदवारी घोषणा गरेका श्रेष्ठ दुई कार्यकाल एनआरएनए आईसीसी सदस्य भइसकेका छन् । एनआरएन अभियानमा संस्थापनकालदेखि नै लागिपरेका श्रेष्ठ लामो समयदेखि जापानमा व्यावसाय गर्दै आएका छन् ।

सन् २०१३–१५ कार्यकालमा नै कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका श्रेष्ठले वर्तमान उपाध्यक्ष डा.बद्री केसीसँग झिनो मतले पराजय भएका थिए । चितवन निवासी श्रेष्ठ जापानमा नेपाली ब्राण्डको सामग्रीलगायत व्यापार गरि मयूर कर्पोरेशन र ग्लोबल बजारबाट नुनदेखि सुनसम्म व्यवसाय गरेर जापानमा स्थापित नेपाली व्यवसायीका रुपमा चिनिन्छन् ।

नेपाल तथा जापानमा सामाजिक क्षेत्रमा समेत सहयोगी कार्य गर्दै आएका श्रेष्ठले एनआरएनएमा अहिलेसम्म मुद्दा र एजेण्डाहरु धेरै उठेता पनि कार्यान्वयन हुन नसकेकाले अबको आवश्यकता ठोस कार्यान्वयन भएकाले आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

श्रेष्ठले आफ्नो कार्यकौशलता र अनुभवलाई सहि सदुपयोग गर्दै एनआरएनए अभियानमा निरन्तरता दिने दृढ संकल्पसहित सबैको साथ, सहयोग र सद्भाव पाएमा निस्वार्थ सेवाभावका साथ आगामी जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *