बजेटमाथि चलखेलः १० करोडसम्मका निर्माण ठेक्का कार्यकर्तालाई दिने प्रपञ्च

डिसी नेपाल
२७ भदौ २०७८ ६:४८
916
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा बजेटका कारण विवादमा तानिएका छन्। शुक्रबार संसदमा प्रस्तुत गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा नेता तथा कार्यकर्तालाई पोस्न १० करोड रुपैयाँसम्मका सार्वजनिक निर्माण ठेक्का दिन सक्ने गरी कार्यक्रम ल्याएको आरोप उनीमाथि लागेको छ।

प्रतिस्थापन विधेयकमा उनले बेरोजगार युवाहरूको श्रम समूह वा श्रम सहकारी गठन गरी त्यसमार्फत १० करोडसम्मको लागतका सार्वजनिक निर्माणमा सहभागी बनाउने कार्यक्रम राखेका छन्।

विधेयकको बुँदा नं. २६ मा भनिएको छ, ‘बेरोजगार युवाहरूको विस्तृत लगत अद्यावधिक गरी एकीकृत अभिलेख तयार गरिनेछ। श्रम समूह वा श्रम सहकारीमार्फत युवालाई संगठित गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्न तालिमसहित यस्ता श्रम समूह वा श्रम सहकारीले सार्वजनिक निर्माण क्षेत्रको १० करोडसम्मको लागतको आयोजनामा आपसी प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने कानुनी प्रबन्ध गरिनेछ।’

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यो कार्यक्रम सिधै अर्थमन्त्री शर्माले राख्न लगाएका हुन्। उनका अनुसार मुलुकको विकासका काममा निर्माण व्यवसायीबाहेक अन्य समूहको आवश्यकता देखिए सम्बन्धित मन्त्रालयले यस्तो कार्यक्रम प्रस्ताव गर्न सक्छ। सबै पक्षको छलफलपछि कार्यक्रम बजेटमा राख्न सकिन्छ। तर, अहिले अर्थमन्त्री शर्माले नेता–कार्यकर्तालाई ठेक्का दिलाएर राजनीतिक स्वार्थ पूरा गर्न सिधै यो कार्यक्रम राख्न लगाएका हुन्। आजको नागरिक दैनिकले यो समाचार छापेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *