बलात्कार जस्तो गम्भीर प्रकृतिको आरोप लागेका व्यक्ति सामान्य प्रक्रिया नपुर्‍याई रिहा

रिता बस्नेत
२८ भदौ २०७८ ८:००

काठमाडौं । लमजुङमा एक चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका युवकलाई अदालतको सामान्य प्रकृया नपुर्‍याई धरौटीमा रिहा गरेको छ। जिल्ला अदालतमा न्यायधीश नभएको र आरोपीले बयानमासमेत अस्वीकार गरेको भन्दै धरौटीमा रिहा गरिएको हो।

गत भदौ १ गते जाहेरी परेपछि पक्राउ परेका १४ बर्षीया बालिका बलात्कारका आरोपी अर्जुनविक्रम थापालाई २३ दिनपछि सरकारी वकिलको मिलेमतो र राजनीतिक दबाबमा अदालतले धरौटीमा रिहा गरेको हो । बालिकालाई विभिन्न प्रभाव र प्रलोभनमा पारेर बयान फेर्न लगाएको र सोही बयानलाई सरकारी वकिलको कार्यालयले अदालतमा पेश गरेको तर अदालतबाट चाहेको बेलामा उपस्थित हुने गरी छाडेको हो।

‘बलात्कारको मुद्धा ९ महिनापछि आएको र अहिले अदालतमा न्यायाधीश नभएको तथा आरोपीले प्रहरी, सरकारी वकिल र अदालत सक्षम आरोप अस्वीकार गरेको अवस्थामा उनलाई तत्कालै थुनामा पठाइहाल्नु पर्ने अवस्था नभएकाले धरौटीमा रिहा गरिएको छ’, अदालतका श्रेष्तेदार उदयराज काफ्लले भने।

तर, प्रहरीले भने आवश्यक कारवाहीका लागि आवश्यक प्रमाणसहित सरकारी वकिलको कार्यालयमा मुद्धा बुझाएको जनाएको छ। लम्जुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीको टोलीले थापालाई सरकारी वकिलको कार्यालयमा पठाएको थियो। सो घट्नामा गण्डकी प्रदेश कार्यालयका प्रमुख डिआइजी दिवेश लोहनीलेसमेत चासो दिएर अभियुक्तमाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए।

शिक्षक पेशामा संलग्न रहेका थापा नै बलात्कार जस्तो गम्भीर प्रकृतिको आरोपमा मुछिएपछि प्रहरीमा उजुरी परेको थियो। प्रहरीमा उजुरी परेपछि उनी भागेर चितवन, काठमाडौमा लुकेर बसेका थिए। तर, प्रहरीले उनलाई खोजी गरेर पक्राउ गरी अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। ‘यो करिब १० महिना अघिको घट्ना रहेछ यो विषय डिआइजी कार्यालयसम्म आएकाले अनुसन्धान गर्न निर्देशन दिएको थिए।

प्रहरीले अनुसन्धान गरी प्रमणसहित अदालतमा मुद्धा बुझाएको बुझेको थिए तर अदालतबाट किन छाडियो त्यो भने मलाई थाह भएन जिल्ला प्रहरी कार्यालयमा बुझ्छु’, गण्डकी प्रदेशका प्रमुख डिआइजी दिवेश लोहनीले भने। तर, अदालतले न्यायाधीश नभएको भन्दै धरौटीमा रिहा गरेर उनलाई उन्मुक्ति दिन प्रयास गरेको छ।

‘जिल्लामा न्यायाधीश नभएको बहाना पारेर उनलाई छाडिएको रहेछ तर प्रहरी कार्यालयले आवश्यक प्रमाण पेश गरेको छ धरौटी बुझाएर उन्मुक्ति पाउने अवस्था छैन’, जिल्ला प्रहरी कार्यालयका एक अनुसन्धान अधिकृतले भने।

स्रोतका अनुसार सो घट्ना लुकाउनमा राईनास नगरपालिकाका मेयर सिंहबहादुर थापाको भूमिका रहेको छ। आरोपित उनकै आफन्त भएकाले सो घट्नालाई लुकाउने र सकेसम्म गाउँमै मिलाउने प्रयासमा लागेका थिए।

बालिका बलत्कारको घटना सार्वजनिक भएपछि स्थानीय जनप्रतिनीधि तथा विद्यालयले समेत ढाकछोप गर्ने प्रयास गरेको थियो । त्यसपछि बाल अधिकारका लागि राष्ट्रिय अभियान केन्द्रीय समन्वय समितिले काठमाडौंबाट विज्ञप्ति निकालेको थियो। लगत्तै गत जेठ २२ गते विद्यालय व्यवस्थापन समिति, राइनास बाल क्लव सञ्जाल, राइनास बाल संरक्षण समितिले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न प्रहरी प्रशासनमा निवेदनसमेत दिए।

आरोपी थापा त्यतिबेलै पक्राउ परेका भएपनि प्रहरीले स्थानीय जनप्रतिनीधिको दबाबमा छाडेको थियो। तर, पछि बालिकाले बलात्कार गरेको आरोपसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि भने भदौ १ मा थापालाई पक्राउ गरिएको थियो। थापालाई पक्राउ गरेको २३ दिनपछि अदालतले धरौटीमा रिहा गरेपछि भने सो घट्ना फेरी ओझेलमा पार्ने प्रयास गरेको स्थानीयको आरोप छ।

यसअघि बालिका बलात्कार भएको भन्दै विद्यार्थीका अभिभावहरुले गत जेठ २० गते विद्यालय परिसरमा आरोपित शिक्षक विरुद्ध नाराबाजीसमेत गरेका थिए । स्थानीय बासिन्दा, बाल अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले भने ती बालिकालाइ प्रलोभनमा पारी इन्कारी बयान दिन लगाइएकोले घटनाको सुक्ष्म अनुसन्धान गर्न प्रहरी प्रशासनलाई अनुरोध गरे पनि उक्त विषयले राजनीतिक रूप लिँदा गाउँ नै पक्ष विपक्षमा विभाजित भएको थियो । तर प्रदेश प्रहरी कार्यालयले समेत चासो राखेपछि भने जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरी सरकारी वकिल कार्यालय पठाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *