राजनितिक दलको निर्देशनमा एनआरएनएमा परराष्ट्रको हस्तक्षेप : अध्यक्ष पन्त

डिसी नेपाल
२९ भदौ २०७८ ९:००

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले सत्तारूढ प्रमुख दलको ठाडो निर्देशनमा परराष्ट्रमार्फत निर्वाचन प्रकृया अघि नबढाउन भन्दै हस्तक्षेप हुनु दुर्भाग्य भएको बताएका छन्।

डीसी नेपालसँग कुरा गर्दै उनले एनआरएनएको आफ्नै विधान व्याख्या समिति र संरक्षक परिषद् हुँदाहुँदै सत्ताधारी दलका हेब्बी वेट का नेता र उनका परिवारबाट परराष्ट्रमा दवाव आएकोले सो पत्र काट्नुपरेको जानकारी आफुले पाएको बताए।

निर्वाचनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली मात्र न सार्वजनिक भएको परिस्थितिमा दावी विरोधको समय हुँदाहुँदै दावी–विरोधमाथि छानविन नभई परराष्ट्रले हतासमा निर्वाचन प्रक्रिया रोक्नु भनेर पत्र काट्नु अशोभनीय राजनीतिक हस्तक्षेप भएको उनको जिकिर छ। “यो सरासर राजनीतिक हस्तक्षेप नै हो, दावी विरोेधबारे छानविन नै शुरु नभई एक्कासी लगाइएको आरोपको पछि नलाग्न म अनुरोध गर्दछु। समस्या भएपनि समाधान गर्ने निकाय परराष्ट्र होइन।”

एनआरएनएको वर्तमान कार्यसमितिले संस्थागत सुधारको लागि विशेष अधिवेशन गरेर नयाँ विधान संसोधन गरेको बताउँदै त्यही विधानको आधारमा चुनाव हुन लागेको समेत जानकारी दिए।

मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीसँग पत्र आउनु अघि केही समय कुरा हुँदा उनले यो विषयमा केहि नबताउनु भएकाले पनि यसमा स्वार्थ समुहको योजना अनुसार राजनीतिक हस्तक्षेप भएको बुझ्न सकिने पन्तको दावी छ।

एनआरएनको निर्वाचन तोकिएको समय अक्टोवर तेस्रो सातामा नै हुने बटमलाइनका साथ कुरा गर्न काठमाडौं उड्न लागेको जानकारी दिदैँ पन्तले १० औं अन्तर्राष्ट्रिय महाधिवेशन कुनै पनि हालतमा नरोकिने बताए। एनआरएनएको नियामक निकाय परराष्ट्र मन्त्रालय भएता पनि आन्तरिक विषयमा अनावश्यक चासो राखेर सत्ताको दुरुपयोग गर्दै स्वार्थ समूहको चंगुलमा संस्था बुझाउने षडयन्त्र विरुद्ध एकजुट हुन अध्यक्ष पन्तले आग्रह गरे।

एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न पत्रमार्फत निर्देशन दिएको थियो। भदौ २५ गतेको पत्रमा यस सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले समिति गठन गरेको जानकारी समेत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *