भ्रष्टाचारमा महिला संलग्नता : तुलनात्मक रुपमा कम !

सरस्वती अधिकारी
२९ भदौ २०७८ ११:५९

पहिलो : सार्वजनिक पद धारण गरेको पुरुषलाई पैसा कमाउन, भ्रष्टाचार गर्न उकास्ने महिला। जताबाट जे जसरी भए पनि श्रीमानले घरमा पैसा ल्याओस् र गर गहनालगायतका अन्य अत्यावश्यक वस्तुहरुको जोहो गरिदेओस्, भौतिक सुखका लागि श्रीमानलाई दबाब दिने अनि श्रीमान माथि हावी हुने र कसुर पक्रेपछि झगडा गर्ने झगडालु स्वभावको महिला।

दोस्रो : केही थाहा नपाएको महिला, जसलाई आफ्नो श्रीमानले कहाँ, कसरी, कति धन जम्मा पा¥यो भन्ने जानकारी समेत हुँदैन। जब अख्तियारको फन्दामा श्रीमानसँगै आफू पनि पुग्छिन्, बल्ल थाहा हुन्छ श्रीमानको कर्तुत, त्यस्ता महिला।

तेस्रो :  स्वयं सार्वजनिक पद धारण गरेको। नराम्रो आचरण भएको, गलत संस्कारका मानिसहरुसँग घुलमिल गर्ने, गैरकानूनी रुपमा सम्पत्ति आर्जन गर्ने, भ्रष्टाचारजन्य कृयाकलापमा सहभागी भएको महिला।

‘मेरो पालामा आफै पदमा रहेर भ्रष्टाचार गर्ने महिला धेरै देखिँन, एकजना देखेँ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले आफ्नो कार्यकालमा भ्रष्टाचारमा मुछिएका यी तीन किसिमका महिला भेटे। वि.सं. २०५७ कात्तिक १८ देखि २०६३ कात्तिक १७ सम्मको कार्यकालमा उनले धेरैजसो यस्ता महिलाको सामना गरे जसका श्रीमान्ले श्रीमतीका अगाडि स्वच्छ छवी देखाए। व्यवहार पनि राम्रो गरे तर आफूले के गर्दैछ?, कसरी कमाउंदैछ? कति कमायो? कहाँ राख्यो? भन्नेबारे श्रीमतीलाई थाहा नै दिएनन्।

यसरी आफ्ना श्रीमानका कृयाकलाप नै थाहा नपाउने महिलाहरु उनको अगाडि आएर रुँदै भन्थे, ‘मेरो श्रीमानले के गरेँ भन्ने कुरा मलाई कहिल्यै पनि भनेनन् र आज यो गति भयो’ यस्ता कुराले उपाध्यायलाई भावुक बनाउँथ्यो।

तर, श्रीमानलाई अकुत सम्पत्ति कमाउन उक्साउने र आफू स्वयम पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य कृयाकलापमा संलग्न महिलालाई देखे उपाध्यायलाई लाग्थ्यो भ्रष्टाचारमा महिला पुरुष उस्तै–उस्तै हुन्।

उनले आफ्नो कार्यकालमा एउटी मात्र महिला भेटे जसले स्वयं पदमा बसेर भ्रष्टाचारजन्य कृयाकलाप गरिन्। उपाध्याय स्मरण गर्छन, ‘मेरो पालामा आफै पदमा रहेर भ्रष्टाचार गर्ने महिला धेरै देखिँन, एकजना देखेँ।’ त्यसो त त्यस समयमा अहिले जस्तोे आरक्षण लगायतका धेरै अवसर पनि नभएकाले महिलाहरु माथिल्लो पदमा धेरै कम थिए। तर, जसलाई भ्रष्टाचारमा संलग्न भेट्टाएँ उनी ठूलै पदमा थिइन्।

ती महिलाको नाम बताउन भने उनले चाहेनन्। उपाध्यायले अगाडि भने, ‘उनको आचरण पनि नराम्रो, संगत पनि नराम्रो र भ्रष्टाचार पनि स्वयमले गरेको छ। ती महिलामाथि भ्रष्टाचारको मुद्धा चल्यो। उनको श्रीमान चाहिँ एक दमै सोझो मान्छे, महिला भने खतरनाक निस्किइन्। ती महिला कुनै एउटा पैसा आउने ठाउँमा सहसचिव थिईन्। उनले त्यहाँ बसेर व्यापारीहरुसँग मिलेर नचाहिँदो आफैं गरिन्। पछि मसँग खुबै झगडा समेत गरिन्।’

सार्वजनिक पद धारण गरेका महिलाहरु पनि भ्रष्टाचारजन्य कृयाकलापमा संलग्न भएका अख्तियारको विवरणले पनि देखाउँछ। तर, भ्रष्टाचारमा संलग्न महिलाको संख्या कम नै छ।

धेरैजसो महिला घानमा घुन जसरी पिसिएका छन्

नेपालकी पहिलो महिला प्रधान न्यायाधीश सुशीला कार्की महिलाले भ्रष्टाचार गर्दै गर्दैनन् भन्न नमिल्ने तर एक दमै कम देखेको बताउँछिन्। श्रीमानले कमाएको अकुत सम्पत्तिका बारेमा जानकार नै नभएका महिलाहरु पनि भ्रष्टाचारको मुद्दामा तानिएको उनले बताइन्। ‘त्यस्ता महिला जसका श्रीमान एका तिर नोकरीमा छन्।

तर, उनी आफू गाउँमा खेति गरेर, बारी खनेर, कुखुरा, बाख्रा पालेर बचत गरेर जोडेको, छोराछोरीले पठाएको र आफ्नो मिहेनतले जोडेकी छन्, विचरा! त्यसरी दुःख गर्ने महिलाहरु पनि घानमा घुन जसरी पिसिएको देखेको छु,’ पूर्व प्रधान न्यायाधीश कार्की सुनाउँछिन्।

‘मिहेनतमा विश्वास गर्ने मान्छे भ्रष्टाचारबाट एकदमै टाढा हुन्छन्। मिहेनत नगर्नेले मात्र भ्रष्टाचार गरेर पैसा कमाउछ।’

महिलाहरुले समाजलाई भ्रष्टाचार रहित बनाएका छन् भन्न नमिल्ने उनको तर्क छ। धेरै जसो भ्रष्टाचारको घटनामा पुरुषलाई भ्रष्टाचार गर्न उक्साउने महिला (श्रीमती) नै देखिएका उनी बताउँछिन्। आफू प्रधान न्यायाधीश हुँदा स्वयम पदमा बसेर भ्रष्टाचार गरेका एक दुई जना महिलाका नाममा पनि मुद्दा चलेको उनले सुनाइन्।

‘महिला अछुतो चाँही छैनन् भ्रष्टाचारमा। घरभरिका मान्छेलाई मुद्दा चल्छ। श्रीमानले भ्रष्टाचार गरेको सम्पत्ति महिलाकै नाममा ससुरालीले दिएको, दाइजो आएको जस्ता नाममा राखि दिन्छ अनि महिलाहरु पनि तानिएका छन्’ उनले भनिन्।

घरका पुरुषले भ्रष्टाचार गरेर अकुत कमाउँदा नगर्न भन्ने कल्चर महिलामा नदेखिएकाले पनि भ्रष्टाचार बढेको उनको बुझाई छ। ‘श्रीमतीले श्रीमानलाई अनी छोरीले बाउलाई ‘तैँले भ्रष्टाचार गरेको सम्पत्ति मेरो नाममा राखेर म किन बदनाम हुँ भनेर भन्न किन सक्दिन? उनले प्रश्न गर्दै अगाडि थपिन्, ‘स्वयं महिला नै अगाडि सरेर भ्रष्टाचार गरेको ५.२ प्रतिशत जस्तो देखिन्छ।’

यता राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा पूर्व अर्थ सचिव कृष्णहरी बास्कोटा विश्वव्यापी रुपमै भ्रष्टाचारमा महिला संलग्नता कम भएको बताउँछन्। जिम्मेवारी पाएका महिलाहरुले निक्कै मिहेनत गरेको अध्ययनहरुले देखाएको भन्दै उनले भने, ‘मिहेनतमा विश्वास गर्ने मान्छे भ्रष्टाचारबाट एकदमै टाढा हुन्छन्। मिहेनत नगर्नेले मात्र भ्रष्टाचार गरेर पैसा कमाउछ।’

महिलामा छिटो विश्वास र भरोसा गर्ने स्वभाव हुने भएकाले पनि उनीहरुले अरुलाई विश्वासघात गरेर भ्रष्टाचार गर्ने सम्भावना नरहेको बास्कोटाको तर्क छ। ‘त्यसले गर्दा पनि विश्वब्यापी रुपमा नै महिलाहरु भ्रष्टाचारमा कम छन्’ उनले भने, ‘पुरुषको तुलनामा महिला भ्रष्टाचार गर्दैनन्। यो नेपालमामात्र होइन विश्वव्यापी रुपमा नै देखिएको छ। महिलाले अवसर नपाएर होइन नैतिकवान हुने भएकाले भ्रष्टाचार गर्दैनन्।’

सम्भवतः यमकुमारी कतै २२ देखि १७ मा पर्ने सम्भावना प्रवल छ। कुनै पनि हालतमा एक नम्बर दुई नम्बर तीननम्बर भ्रष्टाचार गर्ने सचिवमा यामकुमारीको नाम नै आउँदैन।

 

उनका अनुसार मनोगत रुपमा दयालु स्वभावको हुने भएकाले पनि महिलाहरु भ्रष्टाचारमा कम छन्। अरु प्रति रिस र डाह राख्ने प्रवृत्ति, अर्का प्रति कठोर हुनसक्ने, अपराधिक मनोवृृत्ति भएको मान्छे मात्र भ्रष्टाचारमा संलग्न हुनसक्छ। कोमल हृदयको हुने भएकाले पनि महिला भ्रष्टाचार कम गर्छन्। ‘सबैभन्दा ठूलो कुरा, सदाचार, नैतिकता, जिम्मेवारी बोध, नैतिक शिक्षा जस्ता सामाजिक गुणहरु महिलामा हुने भएकाले पनि उनीहरु अनैतिक काम गर्दैनन्’ उनले भने।

कर्मचारीदेखि माथिल्लो निकाय वा नीति निर्माण तहसम्म सहभागिता नै कम भएकाले अथवा महिलाले अवसर नै नपाएर भ्रष्टाचार नगरेको हो? भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो होईन। नेपालमा अहिले २२ वटा मन्त्रालय छन्, ती मध्ये त्यहाँ यमकुमारी खतिवडा एक जना महिला सचिव हुनुहुन्छ। त्यो २२ जना सचिवको भ्रष्टाचारको स्केल हेर्ने हो भने, सम्भवतः यमकुमारी कतै २२ देखि १७ मा पर्ने सम्भावना प्रवल छ। कुनै पनि हालतमा एक नम्बर दुई नम्बर तीननम्बर भ्रष्टाचार गर्ने सचिवमा यामकुमारीको नाम नै आउँदैन।’

अर्को उदाहरण दिँदै बास्कोटाले भने, ‘नेपालमा अहिले सांसदहरुले ६–६ करोड चलाउन पाउँछन्। त्यसमा महिला सांसद पनि पर्छन्। मेरो विचारमा मानौं नेपाली कांग्रेसको गगन थापा र कांग्रेस कै महिला सांसद पुष्पा भुसालको विचमा भ्रष्टाचारको सिमा हेर्यो भने भुसालले भन्दा गगन थापाले अलिकता तलमाथी गरेको देखापर्छ। नेपाली कांग्रेस कै पुरुष सांसद भन्दा महिला सांसद ६ करोड खर्च गर्ने कुरामा तुलनात्मक रुपमा गगन थापा वेठिक देखिन सक्छन्। यसमा गगन थापा भ्रष्टाचार गर्ने भन्न खोजेको होइन।

नगर्ने भएकाले उहाँको नामलिएको हुँ। उहाँ स्वयंले गलत नगरे पनि छेउछाउमा बस्ने पुरुषलेसमेत गडबढ गर्ने संभावना हुन्छ। सिडियो पनि दुई तिन जना महिला हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिृकत पनि दुई तीन जना हुनुहुन्छ।’ त्यसमा पनि महिलाको बरु कार्य संपादनमा कमी देखिएला भ्रष्टाचारमा संलग्नता देखिन्न।

महिलाले किन भ्रष्टाचार कम गर्छन् ?

धेरै जसो भ्रष्टाचार तथा लेनदेन पुरुष–पुरुषबीच हुने गरेको पाइएको छ। महिला हाकिम भएको ठाउँमा पुरुषले कुरा गर्न पनि नमिल्ने, महिलाहरु साँझ बिहान घुसको लेनदेन गर्न बाहिर जाने, मिटिङ, जमघट गर्ने, रक्सि खाने, तास खेल्ने जस्ता कार्यमा सहभागी पनि हुँदैनन्। बास्कोटाको अनुभवले यस्तै कार्यबाट भ्रष्टाचार बढी मौलाउने रहेछ भन्ने देखाएको छ।

‘महिला स्वभावैले बेलुका पुरुषसँग बसेर रक्सि खाँदिनन्। पुरुषको समूहमा गएर तास खेल्न नी सक्दिनन्। कर अधिकृत, भन्सार अधिकृतले तास खेल्छन्। व्यापारीले तास खेलेर भन्सार, कर अधिकृतलाई जिताउँछन् भन्ने सुनिन्छ । महिला पनि कर अधिकृत त छन् नी तर महिला अधिकृत व्यापारीसँग बसेर तास नै नखेल्ने भए। यस्ता यस्ता कुराले पनि महिलाले भ्रष्टाचार नगरेको देखिएको छ।’

‘कुनै ठुलो उद्योगीले साँझ राति भेटघाटमा बोलाइ हाले भने पुरुष जसरी निर्धक्कसँग महिला गइहाल्दैनन्। महिला सिडियोहरु पनि छन्। तर, उनीहरुलाई नेतादेखि तस्कर, व्यापारीहरुले क्वाटरमा गएर पुरुषलाई जसरी सजिलै भेट्न पाउँदैनन्। पुरुषसँग जसरी बाक्लो भेटघाट गर्न सक्दैनन्। त्यसले पनि महिला भ्रष्टाचार गर्न सक्दैनन्’ बास्कोटा थप्छन् । बिचौलिया ले पनि पैसाको लेनदेन गरेर कुनै काम मिलाउन पुरुष नै खोज्ने गरेको उनले बताए।

पूर्व प्रधान न्यायाधीश कार्की आफू सक्षमभएर अगाडि बढेका, श्रीमानको भर नभएको, परिवारको धन सम्पत्ति नभएको, जो जागीरको एकदम जरुरत परेका, अभाव भोगेर संघर्ष गरेर सार्वजनिक पदमा पुगेका महिलाहरुले भ्रष्टाचार नगर्ने बताउँछिन्। कार्की भन्छिन्, ‘जसलाई आवश्यकता छ त्यो मान्छेले मात्र जागिरका लागि धेरै मिहेनत गरेको हुन्छ। अनी तिनलाई जागिर गयो भने सबै सकिन्छ भन्ने डर हुन्छ । हो त्यस्ता महिलाले भ्रष्टाचार गर्दैनन्।’

महिलाहरु कम खर्चालु हुने भएका कारण पनि भ्रष्टाचार नगर्ने कार्कीको भनाई छ। ‘महिलाले फारो गरेर घर चलाउँछन् । पुरुषलाई जति भए पनि पुग्दैन, उ खर्चालु हुन्छ। तर, स्वास्नी मान्छेले भान्सा मिलाउने भएको हुनाले खर्च व्यवस्थापन गर्न जानेका हुन्छन् जसले गर्दा उनीहरुलाई भ्रष्टाचार गर्ने जरुरत पर्दैन,’ उनि भन्छिन्, ‘बरु ओभरटाइम गर्लान्, भत्ता पाउने कोसिस गर्लान्, दुई पैसा आम्दानी बढाउने उपाय गर्लान्, घरमा अर्काे धन्दा गर्लान् तर भ्रष्टाचार गर्दैनन्। अनुशासन हुन्छ, डर हुन्छ अनि भ्रष्टाचार गर्ने हिम्मत नी छैन। गर्नेले ग¥याछन् तर निक्कै कम।’

त्यसो त ठुलो पदमापुगेका महिलालाई घुसको, लेनदेनको प्रस्ताव नै नआउने भने होईन। न्यायालयमा पनि भ्रष्टाचार मौलाएको छ। महिला भएकै कारण पैसाको लेनदेनका लागि अफर गरेनन्? भन्ने प्रश्नमा कार्कीले भनिन्, ‘किननगर्नु ? डाइरेक्ट भन्दैन थिए। तेस्रो व्यक्तिमार्फत पैसाको अफर गरिहाल्थे। यसो गरिदिनु प¥यो, उसो गरिदिनुप¥यो भनेर । नेताहरु नै आउथे । यहाँ भ्रष्टाचार त खुलमखुल्ला छ। फाईल पठाउँछन् ठुलो तहका मान्छेहरुले। मैले त गन्दैनथेँ, टेर्दैनथेँ।’ अर्थमन्त्रालयदेखि अदालतसम्मकाले बसेर खान्छन् कसले कसले खान्छ त्यो थाहा छैन तर खान्छन्। मलाई वकालत नै गर्दा पनि दुई नम्बरको काम, टेवल मूनी हात लगाएको भए पनि अर्बौको सम्पत्ति जोडिन्थ्यो। त्यता गइएन।’

तथ्यांकले के भन्छ ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापनाको ३० वर्षको इतिहासमा गत आर्थिक वर्षमा सबैभन्दा बढी भ्रष्टाचारको मुद्धा विशेष अदालतमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७६/७७ मा अहिलेसम्मकै धेरै चार सय ४१ वटा मुद्धा विशेष अदालतमा दर्ता गरिएको आयोगले जनाएको छ। जसमध्ये घुस लिएको दुई सय ५, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी लाभ लिएको ८५, गैरकानूनी रुपमा सार्वजनिक सम्पत्ति आर्जन गर्ने १८ र विविध विषयका १० वटा मुद्धा रहेका आयोगको तीसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६/७७ मा उल्लेख छ।

आयोगले विशेष अदालतमा दर्ता गरेका यी मुद्दाहरुमा १ हजार दुई सय १२ जनालाई विपक्षी बनाइएको छ र उनीहरुबाट दुई अर्ब ५३ करोड ६६ लाख ९८ हजार दुई सय ६८ रुपैयाँ ५० पैसा बिगो मागदाबी गरिएको छ।

आयोगले यस आर्थिक वर्षमा प्रतिवादी बनाएका एक हजार दुई सय १२ जनामध्ये एक सय ५२ जना महिला र एक हजार ६० जना पुरुष छन्। तिमध्ये सबैभन्दा धेरै घुस लिएको आरोप लागेका पुरुषको संख्या तीन सय ३१ रहेको छ। १० जना महिलाविरुद्ध घुस लिएको आरोप छ। गैरकानूनी लाभ वा हानि पु¥याएका दुई सय ८१ पुरुष र ७५ जना महिलालाई प्रतिवादी बनाई मुद्दा दायर भएको छ।

भ्रष्टाचारको मुद्दा लागेका कुल सय ५२ महिला मध्ये ७३ जनाले गैरकानूनी लाभ वा हानि पु¥याएको अख्तियारको दाबी छ। २१ जना महिलाले गैरकानूनी सम्पत्ति आर्जन गरेका, २० जना महिला झुटा शैक्षिक प्रमाणपत्र देखाएर नियुक्ति लिएर सरकारी सुविधा हासिँल गरेका, १३ जना महिलाले सार्वजनिक सम्पत्तिको नोक्सानी गरेका, नौ जना महिला राजस्व चुहावटमा संलग्न रहेका र छ जना महिला अन्य विभिन्न विषयसँग सम्बन्धित भ्रष्टाचारको मुद्धामा संलग्न रहेको आयोगले जनाएको छ।

स्थापना भएदेखि हालसम्मको अवधिमा आयोगले जम्मा दुई हजार आठ सय ७८ वटा मुद्धा अदालतमा दर्ता गरेको छ। जसअनुसार औषतमा प्रतिवर्ष करिब ९६ वटा मुद्धा छन्। यसरी हेर्दा आर्थिक वर्ष २०७६/७७ मा औसतभन्दा साढे चार गुणा बढी मुद्धा दायर भएको आयोगले जनाएको छ।

ख्तियारले त्यो महिला–पुरुष, ठुलो पद वा सानो पद धारण गरेको हेर्दैन, जो भएपनि सार्वजनिक पद धारण गरेका व्यक्तिले सेवा लिने ठाउँमा रकम माग गर्ने, प्रकृयागत त्रुटीहरु देखाएर रकम माग गर्ने गरेको उजुरी एवं सूचना आएपछि आवश्यक अनुसन्धान गर्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसाल आयोगले महिला र पुरुष भ्रष्टाचारी भने नछुट्याउने बताउँछन् । यद्धपी तथ्यांकले गैरकानूनी सम्पत्ति आर्जन गरेका मुद्धामा महिलाहरु धेरै तानिएको देखाएको छ। ‘अख्तियारले त्यो महिला–पुरुष, ठुलो पद वा सानो पद धारण गरेको हेर्दैन, जो भएपनि सार्वजनिक पद धारण गरेका व्यक्तिले सेवा लिने ठाउँमा रकम माग गर्ने, प्रकृयागत त्रुटीहरु देखाएर रकम माग गर्ने गरेको उजुरी एवं सूचना आएपछि आवश्यक अनुसन्धान गर्छ । तथ्य आधारले त्यसलाई प्रमाणित गरेको अवस्थामा पक्राउ गरि कारवाहीको दायरमा ल्याउने काम अख्तियारको हो’ उनले भने।

कुन आर्थिक वर्षमा कति मुद्धा, कति प्रतिवादी?

आर्थिक वर्ष २०७०/७१ मा विशेष अदालतमा एक ६८ वटा मुद्धामा छ सय ५२ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भयो। तिमध्ये ५२ जना महिला थिए। ५२ जना महिलामध्ये १६ जनालाई विभागीय कारवाही गरिएको थियो भने १४ जना महिलाबाट असुल उपर गरिएको र एक जनालाई सचेत गराइएको अख्तियारले जनाएको छ।

आर्थिक वर्ष २०७१/७२ मा विशेष अदालतमा दायर गरिएकामध्ये विषय गत आधारमा झुटा शैक्षिक प्रमाण पत्रतर्फ ९६, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीमा १०५, घूसमा ६८ तथा गैरकानुनी लाभ वा हानि पु¥याए वापत १८ वटा मुद्दा दायर भएका छन्। गैरकानुुनी सम्पत्ति आर्जनतर्फ २, राजस्व चुहावटमा ४ र विविधतर्फ १० वटा मुद्दा दर्ता गरिएका छन्। यी मुद्धाहरुमा नौ सय ३ जना व्यक्तिलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएकोमा पुरुषको संख्या आठ सय २८ र महिलाको संख्या ७५ रहेको छ। आयोगबाट अभियोजन गर्न निर्णय भएका मुद्धाहरुमा एक अर्ब ३९ करोड ४० लाख १६ हजार ७१ रुपैंया बिगो माग दाबी लिइएको छ।

आर्थिक वर्ष २०७२/७३ मा तीन सय १० जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको थियो। ती मध्ये महिला २५ जना थिए भने पुरुषको संख्या दुई सय ८५ रहेको थियो। त्यस आर्थिक वर्षमा दायर गरिएका एक सय ४४ वटा मुद्दाहरुमा एक अर्ब ३३ करोड ४० लाख दुई हजार सात सय १० रुपैयाँ ४० पैसा बिगो माग दाबीलिइएको छ।

आयोगले आर्थिक वर्ष २०७३/७४ मा १६ जना महिलालाई भ्रष्टाचारमा संलग्न रहेको पुष्टि भएको दाबीसहित विशेष अदालतमा मुद्धा दायर गर्यो। एक सय ५४ वटा मुद्धामा दुई सय ५१ जना पुरुषलाई प्रतिवादी बनाइएको थियो। त्यस वर्ष आयोगले कुल ११ अर्ब ५२ करोड ११ लाख ३२ हजार पाँच सय ३० रुपैयाँ, ५५ पैसा बिगो दाबी गरेको थियो।

आर्थिक वर्ष २०७४÷७५ मा ३४ जना महिला विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भयो। जसमा सबैभन्दा धेरै झुठा शैक्षिक प्रमाणपत्र सम्बन्धि बिषयमा १९ जनामहिला मुछिए। यस्तैगरी ४ जना महिलाविरुद्ध घुस लिएको, ३ जनामहिला विरुद्ध गैरकानूनी लाभ वा हानि पु¥याएको, १ जनाविरुद्ध राजस्व चुहावट, १ जना विरुद्ध सार्वजनिक सम्पत्तिको हानी नोक्सानी, र ६ जना विरुद्ध विविध विषयमा भ्रष्टाचार गरेको मुद्धा लागेको थियो। कुल सय ९४ वटा मुद्दामा ३४ महिलाका अलावा तीन सय ९२ पुरुषलाई प्रतिवादी बनाइएको थियो र कुल ४० करोड ५५ लाख ५९ हजार दुई सय ६२ रुपैयाँ १६ पैसा बिगोदाबी गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७५÷७६ को मुद्दासम्बन्धी निर्णय विवरण हेर्दा जम्मा तीन सय ५१ वटा मुद्दा विशेष अदालतमा दर्ता भएको देखिन्छ। त मुद्धामा आठ सय २१ जना पुरुष भ्रष्टाचारमा संलग्न भएको आरोप लगाइएको छ भने भ्रष्टाचारमा संलग्न महिलाको संख्या ७३ रहेको आयोगको दाबीथियो।

आयोगले विभिन्न बिषयगत भ्रष्टाचारका तीन सय ५१ मुद्दाबाट चार अर्ब पाँच करोड ३७ लाख ६३ हजार आठ ८८ रुपैया ६५ पैसा बिगो माग दाबी गरेको देखियो।

आर्थिक वर्ष २०७६/७७ मा भ्रष्टाचारको मुद्धाका घटना ह्वात्तै बढेको छ। अख्तियारको विवरणले यही भन्छ। यस आर्थिक वर्षमा ४४१ वटा भ्रष्टाचारका मुद्दा दर्ता भएका छन्। आयोगले अनुसन्धानका क्रममा १ हजार ६० जना पुरुषले भ्रष्टाचार गरेको ठहर भएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा भ्रष्टाचारमा संलग्न महिलाहरुको संख्या पनि बढेको आयोगको बार्षिक प्रतिवेदनले देखाएको छ। यस वर्ष एक सय ५२ जना महिलालाई भ्रष्टाचारको मुद्दामा प्रतिवादी बनाइएको छ। आयोगले कुल दुई अर्ब ५२ करोड ६६ लाख ९८ हजार २ सय ६८ रुपैया ५० पैसा बिगो मागदाबी गरेको छ।

के महिला भ्रष्टाचार गर्दैनन् ?

आर्थिक २०७०/७१ देखि २०७६/७७ सम्मको विवरण हेर्दा भ्रष्टाचारका मुद्धाहरु बढेका छन्। त्यसैगरी भ्रष्टाचारमा संलग्नव्यक्तिहरुको संख्यापनि बढेको छ। तिनमा महिलाको संख्या पनि बढेको छ । यद्धपी अख्तियारको बार्षिक प्रतिवेदनहरुमा भ्रष्टाचारमा संलग्न पुरुष भन्दा महिला कम देखिएको छ।

विश्वव्यापी रुपमै पनि पुरुषको तुलनामा महिलाहरु भ्रष्टाचारका घटनामा कम मुछिएका छन्। तथापी राजनीतिक तहमा उपल्लो स्थानमा पुगेका केही महिलाहरु ठुला घोटालामा मुछिएका घटनाले भ्रष्टाचार न्यूनिकरणको अभियानलाई चुनौति नदिएको भने होईन। तिनमा केहीले दोषी ठहर भई सजायसमेत पाएका छन्।

दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति पार्क गेउनहाइलाई भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा महाअभियोग लगाइयो र पछि अदालतले दोषी ठहर गर्दै २४ वर्षको जेल सजाय सुनायो। ६५ वर्षको उमेरमा पार्कलाई अदालतले दोषी ठहर गरेपछि गत सन् २०१७ को मार्चमा हिरासतमा लिइएको थियो।

अदालतले पार्कमाथि लागेका १८ मध्ये घुषखोरी, शक्तिको दुरुपयोग, राज्यको गोप्य सुचना चुहावटलगायत १६ वटा अभियोगमा दोषी ठहर गरिदियो। अदालतले पार्कलाई एक करोड ६८ लाख अमेरिकी डलर जरिवाना पनि तोकेको थियो।

यस्तै बंगलादेशमा विपक्षी नेत्री खालिदाजियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइयो। जियाले अनाथ बच्चाका लागि विश्वभरबाट उठेको रकममध्ये झन्डै साढे दुई करोड रूपैयाँ भ्रष्टाचार गरेको ठहर गरिएको थियो।

म्यानमारकी नेत्रीआङ सान सू चीमाथि त्यहाँको सैन्य सरकारले नयाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ। यदि यस मुद्दामा सू चीको पराजय भएको अवस्थामा सैन्य सरकारले उनलाई १५ वर्षसम्म जेल सजाय दिनसक्ने छ।

हिरासतमा राखिएकी नेत्री सू चीमाथि सैन्य सरकारले राजद्रोहको मुद्दासहित दर्जन जति मुद्दा लगाएको छ। त्यहाँको भ्रष्टाचार निवारण आयोगले समेत सू चीले उनको कार्यकालमा पैसा, सुन लगायत ६ लाख अमेरिकी डलर रकम बराबरको सम्पत्ति गैरकानूनी रुपमाकमाएको आरोप लगाएको छ।

भारतको तमिलनाडुकी तत्कालीन मुख्यमन्त्री दिवंगत जय ललितामाथि सन् १९९१ देखि १९९६ सम्म तमिलनाडुको मुख्यमन्त्री रहँदा ६६.६५ करोड सम्पत्ति जम्मा गरेको (जुनउनको आयस्रोत भन्दानिक्कै बढी थियो ) आरोप लगाइएको थियो। १९९६ मा पक्राउ परेकी उनले २१ दिन जेलमा बिताउन पर्यो। यसैसँग जोडिएकी शशिकलाले भ्रष्टाचारको मुद्धामा चार वर्षसम्म जेल सजाय काट्नु प¥यो । उनी २०१७ मा ७७ करोड भारतीय रुपैंयाको आयभन्दा धेरै सम्पत्ति आर्जन गरेको मुधामा दोषि ठर भई चार वर्ष को सजाय सुनाइएको थियो।

यसरी हेर्दा अन्तरराष्ट्रिय रुपमा पनि पदमापुगेका महिला भ्रष्टाचारमा संलग्नँ हुँदै नभएको होइन। अघि नै उल्लेख गरियो, तुलनात्मक रुपमा भने पुरुषको दाँजोमा महिला कम भ्रष्टाचारी हुन्छन्। बरु यसभित्रका कारण भने विविध हुन सक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *