कतार प्रहरीको डिमाण्ड आएसँगै अल ताक्वेत म्यानपावरले प्रतिव्यक्ति १० लाख बढी असुल्दै

रिता बस्नेत
३१ भदौ २०७८ ८:५९

काठमाडाैं । कतार प्रहरीको डिमाण्डमा जान हौसिएका एक युवा भन्दै थिए, ‘मेरो सबै काम सकिएको छ, तर म्यानपावरले मसँग साढे १० लाख रुपैयाँ मागिराखेको छ। त्यत्रो पैसा मसँग छैन, सरकारले तोकेअनुसार लाग्ने खर्च दिन्छु भनेको उल्टै मलाई थर्काउछ।’

वैदेशिक रोजगारको लागि कतार पुलिसको डिमाण्डमा जान लागेका ति युवा लाखौं तिर्न नसकेर अहिले अन्योलमा परेका छन् । उनी भन्छन्, ‘मलाई लाने भनेर पहिले नै छानेको हो र मेरो अन्तर्वार्तालगायत सबै प्रक्रिया सकिएको छ तर पैसाकै कारण मलाई पठाउँदैन होला जस्तो छ।’

आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेसँगै अहिले काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपालले यो दसैं अगाडि नै २ सय जना नेपाली युवा कतार उडाउने तरखर गरिराखेको छ। उसलाई कतार प्रहरीमा काम गर्न जान चाहने २ सय जना युवाहरु कतार पठाउन भ्याइनभ्याई छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले उक्त म्यानपावरलाई पूर्व स्वीकृति दिएको थियो। र, वैदेशिक रोजगारको आकर्षण बनेको कतार प्रहरीको लागि पछिल्लो पटक दुई सय जनाको डिमाण्ड प्रमाणीकरण भएसंगै उक्त म्यानपावरले युवाहरुलाई विभिन्न ठाउँमा राखेर कागजात संकलन गर्ने, लाखौँ रुपैयाँ असुल्ने काम गरिराखेको छ।

नियामानुसार मलेसियालगायत खाडी मुलुकमा नेपाली श्रमिक पठाउदा म्यानपावरहरुले फ्रि भिसा फ्रि टिकटमा पठाउनु पर्ने हुन्छ । तर ती युवाका अनुसार उक्त म्यानपावरका व्यक्ति ठूलै पहुँचवाला नेताको छोराका साथीभाई भएकाले प्रतिव्यक्ति ८ देखि १२ लाख रुपैयाँ विभिन्न ठाउँमा बोलाएर उठाइराखेका छन्।

उनी भन्छन्, ‘त्यो मेनपावरको मान्छे श्रेष्ठसँग कसैले पनि बोल्न सक्दैन रे । उसको नेताको छोरासँग राम्रो सम्बन्ध छ रे । त्यो म्यानपावरले पहिला पनि कतारको राम्रो डिमाण्डमा उसैको छोरालाई राखेर रातिराति इन्टरभ्यू लिएर पठाएको थियो रे।’

सो डिमाण्डमा डकुमेन्ट बुझाउनेहरुमा अधिकांश रोजगारकै क्रममा रहेका नेपाल प्रहरी र सुरक्षाकर्मीहरु समेत रहेको बुझिएको छ । त्यस्तै, कतारको गृह मन्त्रालयले झन्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि कतारमा काम दिने घोषणा गरेपछि धेरै म्यानपावर व्यवसायीहरुले सयौँ युवालाई कतार प्रहरीमा काम दिलाइदिने भन्दै मनपरी पैसा असुलेर कतार पठाइसकेका छन्।

सरकारले विदेशमा कामदार पठाउँदा १० हजारभन्दा बढी शुल्क लिन नपाउने बताए पनि अहिले म्यानपावर कम्पनीलाई १२ लाख रुपियाँसम्म तिरेर युवाहरू कतार पुगेका छन्।

उता, चर्को शुल्क असुलेर नेपाली युवालाई कतार पठाउँदा समेत वैदेशिक रोजगार विभागले वास्ता गरेको छैन । विभागका एक कर्मचारी भन्छन, ‘कतार प्रहरीमा लाखौं पैसा असुलेको कुरा समाचारमा त सुनेको हो तर यहाँ उजुरी परेको छैन।’

ती कर्मचारीका अनुसार विभागमा उजुरी परेको खण्डमा भने सम्बन्धित म्यानपावरलाई कारवाही गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *