एनआरएनएको आसन्न चुनाव विधान विपरीत हुन लागेको आरोप

डिसी नेपाल
४ असोज २०७८ ९:५३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिहरुले एनआरएनको आसन्न निर्वाचन विधानविपरीत हुन लागेको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघको आइसिसीका मानार्थ सदस्य नवराज ओली (शनि), एनसिसी अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र आईसिसीको पूर्वसचिव जानकी गुरुङले आगामी दुई वर्षे (२०२१-२०२३) कार्यकालको लागि हुन लागेको चुनाव विधानविपरीत हुन लागेको आरोप लगाएका हुन्।

पत्रकार सम्मेलनमा प्रतिनिधि चयनमा गरिएको गलत कार्यकाविरुद्ध आइसिसीमा उजुरी गर्दासमेत सुनुवाइ नभएपछि केही सदस्य न्याय माग्दै परराष्ट्र मन्त्रालय पुगेको उनीहरुले बताएका छन्।

केही समय अगाडि एनआरएनका केही प्रतिनिधिहरुले एनआरएनएको आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोटमा अनियमिता भएकोले चुनाव रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरेका थिए। एनआरएनएलाई गलत ढङ्गबाट दुरुपयोग गर्ने कार्यबाट रोक्न बाध्य भएर मन्त्रालय जानुपरेको उनीहरुको भनाई थियो।

त्यस्तै, पत्रकार सम्मेलनमा उनीहरुले रसिया, न्युजिल्याण्ड, साइप्रस, जापानलगायतका देशहरुमा भएको एनआरएनए एनसीसीको चुनाव धाँधलीपूर्ण भएको बताएका थिए । विधान मिचिएर चुनाव गरिएका देशहरूबाट निवेदन आएको भए पनि नेतृत्वले पेलेर जाने नीति हावी रहेको उनीहरुको भनाई थियो ।

पत्रकार सम्मेलनमा मन्त्रालय जानुभन्दा आगाडि अनियमिता बारे किन जानकारी नगराएको भन्ने पत्रकारहरूको प्रश्नमा उनीहरुले छलफलबाटै समस्या समाधानका लागि कुरेको तर, त्यसो नभएपछि वास्तविकता जानकारी गराउनु पर्ने बाध्यता आइपरेको आईसीसी मानार्थ सदस्य ओलीले बताए ।

उनले आपूmहरू एनआरएनएको हक, अधिकार र न्यायका लागि लड्दै आएको बताए । उनका अनुसार अहिले मन्त्रालयले मिति सार्न तथा सम्मेलन रोक्न नभनेको र समस्या समाधान गरेर अगाडि बढ्न भनेको छ ।

पत्रकार सम्मेलनमा आईसिसीको पूर्वसचिव जानकी गुरुङले सबै देशमा समान रूपले निर्वाचन हुनु पर्ने बताएकी छन् । कुनै देशमा एक मापदण्ड र कुनै देशमा अर्को मापदण्ड अपनाइएको आरोप लगाउँदै उनले वर्तमान कार्यसमितिलाई प्रतिनिधि पठाउने जिम्मेवारी दिनु पर्ने र नेतृत्वले अभिभावकको भूमिका खेल्नु पर्ने बताइन् ।

जापानमा विद्यार्थी प्रतिनिधि हुन नपाउने व्यवस्था भए पनि २ हजार २ सय ४० जना विद्यार्थीलाई प्रतिनिधि बनाइएको भन्दै अन्य देशहरुमा पनि भएको अनियमिततालाई छानबिन गर्नु पर्ने उनको धारणा थियो ।

त्यस्तै, आपूmहरूले नेतृत्वलाई विधानविपरीतका कार्य तत्काल रोक्नका लागि आग्रह गरेको र यस विषयमा कुनै सुनुवाइ नभएको एनसिसी अमेरिकाका सल्लाकार खरेलले बताएका छन् । नेतृत्व कब्जा गर्ने गरी कार्य भएको भन्दै उनले संघलाई मर्यादित बनाउनका लागि विधानविपरीतका कार्य रोकेर अगाडि बढ्न आग्रह गरेका छन् ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘एनआरएनए आइसिसीका महासचिव हेमराज शर्मा तथा सचिव गौरीराज जोशीले सञ्चालन गरेको सचिवालयले संघको विधानलाई आपूmखुसी व्याख्या गर्ने, आफ्ना अनुकूल नरहेका एनआरएनएलाई बिनाकारण दुःख दिने, विभिन्न देशबाट छानिएर आउने प्रतिनिधिमा दोहोरो तेहोरो मापदण्ड अपनाउने काम गरेकाले संघको भविष्य र विश्वभरि छरिएका नेपालीहरूको हक, हित र अधिकारको संरक्षणका लागि हामी बाध्य भएर उजुरीको तहसम्म पुग्नु परेको व्यहोरा जानकारी गराउन चाहन्छौँ ।’

विज्ञप्तिमा संघका महासचिव शर्माले १५ अगस्टभित्र ६५ प्रतिशत प्रतिनिधि चयन गरी पठाउने पत्र लेखेको र सो बमोजिम अधिकांश एनसिसीहरूले विधानविपरीत एकलौटी रूपमा प्रतिनिधिको नाम पठाएको आरोप लगाइएको छ ।

त्यसैगरी, अधिवेशनका लागि तोकिएको मितिभन्दा पछि पनि अधिवेशन गरिएको, तोकिएको मितिभन्दा पछि प्रतिनिधि चयन गरिएको, उम्मेदवार भएका व्यक्तिहरू नै निर्वाचन प्रक्रियामा सहभागी भएकाले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको विज्ञप्तिमा जनाइएको छ । साथै, संघको वेबसाइटमा समेत प्रतिनिधिको नामावली प्रकाशन नगरिएको उनीहरूको आरोप छ ।

विवादित एनसिसीका बारेमा बेवास्ता गर्ने र नियमसंगत अधिवेशन भएका देशका प्रतिनिधिलाई मान्यता नदिने कामसमेत गरेको उनीहरुको आरोप थियो । साथै, कतिपय ठाउँमा जालझेल गरेर प्रतिनिधि हेरफेर गर्ने काम भएको र तोकिएको समय पछाडि प्रतिनिधि बनाउन सदस्य थप्ने, विभिन्न ठाउँबाट अनियमिताका सम्बन्धमा उजुरी आउँदासमेत आइसिसीको बैठक बसेर समाधान नगरेको उनीहरुको भनाई थियो ।

उनीहरुको आसय एनआरएन एनसीसीहरुमा भएका गल्ती कमजोरीलाई सुधार गरेर मात्र आईसीसीको चुनाव गर्नुपर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *