मोडलको कपाल गलत तरिकाले काटिदिने सैलुनले २ करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने

डिसी नेपाल
८ असोज २०७८ ९:५५

काठमाडौं। एक महिला मोडलको कपाल गलत तरिकाले काटिदिएको आरोपमा एक सैलुनले २ करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । भारतको राष्ट्रिय उपभोक्ता विवाद समाधान आयोगले दिल्लीको एक सैलुनलाई पीडित महिलालाई २ करोड रुपैयाँ षतिपूर्ति दिन आदेश दिएको हो । महिलाको कपाल गलत तरिकाले काटेको र गलत हेयर ट्रिटमेन्ट दिएर कपाललाई स्थायी नोक्सानी गरेको आरोपमा यो रकम तिर्न आदेश दिइएको हो ।

डेक्कन हेराल्डको एक रिपोर्टअनुसार यो सैलुन दिल्लीको एक होटलमा छ । यो सैलुनमा गएको अप्रिल महिनामा मोडल आश्ना रोय आफ्नो कपालको ट्रिटमेन्टको लागि गएकी थिइन् । आश्ना कपालमा प्रयोग गरिने कस्मेटिक उत्पादनहरुका लागि मोडलिङ गर्ने काम गर्थिन् । उनले कैयौं ठूला ठूला कपालसम्बन्धी उत्पादनका ब्राण्डहरुको लागि मोडलिङ गरेकी थिइन् ।

तर, सैलुनले उनको कपाल गलत तरिकाले काटिदिएपछि उनले आफ्नो काम गुमाइन् र उनलाई ठूलो आर्थिक नोक्सानी भयो । यो कारणले उनको रहन सहन पनि बदल्नुपर्यो र टप मोडल बन्ने उनको सपना पनि भत्कियो । आश्ना रोयले भनिन् ‘मैले सैलुनमा प्रस्ट रुपमा कपाल अगाडि लामो ‘फ्लिक्स’ राख्न र पछाडि कपाललाई ४ इन्च काट्न भनेकी थिएँ । तर हेयरड्रेसरले आफ्नो मर्जीले केवल ४ इन्च कपाल छोडेर लामो कपाल पूरै काटिदिए ।’

आश्नाले यस सम्बनधमा म्यानेजरसँग गुनासो गरेपछि उनलाई निःशुल्क हेयर ट्रिटमेन्टको अफर दिइयो । आश्नाको दावीअनुसार यस क्रममा केमिकलले उनको कपाललाई स्थायी नोक्सानी भयो । त्यसपछि उनी राष्ट्रिय उपभोक्ता विवाद समाधान आयोग पुगिन् । आयोगमा उनले ३ करोड रुपैयाँ क्षतिपूर्ति दिलाउन माग गरिन् । यस सम्बन्धमा आयोगले सैलुनलाई ८ हप्ताभित्र पीडितलाई २ करोड रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *