पर्यटकका लागि खुल्यो नेपाल, आगमनपछि क्वारेन्टिन बस्नु नपर्ने

डिसी नेपाल
८ असोज २०७८ १४:२८

काठमाडौं । कोरोना संक्रमणका कारण अति प्रभावित पर्यटन क्षेत्रले लामो समयपछि गति लिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमणमा आउने पर्यटकलाई अनअराइभल भिसा खुला गरेसँगै नेपालमा घुमफिर गर्न आउने विदेशी पर्यटकका लागि आवागमन सहज हुने भएको हो ।

तर, नेपाल आउने पर्यटकले दोस्रो मात्रा डोज भ्याक्सिन लगाएको प्रमाण वा कोभिड–१९ नेगेटिभ रिपोर्ट अनिवार्य पेस गर्नु पर्ने हुन्छ । भ्याक्सिन नलगाएका पर्यटकको हकमा भने अनिवार्य तोकिएको ठाउँमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ । साथै, नेपाल प्रवेश गर्नका लागि पर्यटकले कोरोना परीक्षण गरेको ७२ घन्टाभित्रको रिपोर्ट अनिवार्य पेस गर्नुपर्छ ।

सरकारले कोरोनाका कारण ०७६ फागुनदेखि पर्यटकलाई अनअराइभल भिसा रोकेको थियो । अब नेपाल प्रवेश गर्नका लागि विदेशी पर्यटकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सडकमार्गका प्रवेश बिन्दु (नाका)मै भिसा पाउनेछन् । तर, यस सम्बन्धमा सरकारले मन्त्रिपरिषद् बैठकको निर्णय भने अझै सार्वजनिक गरेको छैन ।

सरकारको निर्णयसँगै नेपालले अनअराइभल भिसा खुला गरेका देशका नागरिकलाई अब नेपाल भ्रमण सहज हुने भएको छ । यसअघि नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीलगायत पर्यटन क्षेत्रका संघ–संस्थाहरूले भ्याक्सिन लगाएका विदेशीलाई सहज रूपमा घुमफिर गर्न आउन दिने वातावरण बनाइदिन सरकारलाई आग्रह गर्दै आएका थिए ।

सिईओ रेग्मीले सरकारले पूर्ण खोप लगाउनेलाई अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको तर आधिकारिक रूपमा जानकारी आउन भने बाँकी रहेको जानकारी गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *