इन्डोनेसियामा ज्वालामुखी विस्फोट : १ लाख ७० हजार यात्रु प्रभावित, आठ विमानस्थल बन्द
काठमाडौं। इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि निस्किएको खरानीका कारण हवाई उडान प्रभावित हुँदा करिब १ लाख ७० हजार यात्रु प्रभावित भएका छन् । ज्वालामुखीको खरानी विमानस्थल आसपासको आकाशमा फैलिन थालेपछि आठवटा विमानस्थलबाट हुने उडान अस्थायी रूपमा रोकिएको हो ।
आइतबार बिहान राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा पहिले बन्द गरिएको थियो । विमानस्थलनजिकैको आकाशमा अनाक क्राकाटोआ ज्वालामुखीको खरानी देखिएपछि सुरक्षाका लागि उडान रोक्ने निर्णय गरिएको अधिकारीहरूले बताएका छन् ।
इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार उडान प्रभावित हुँदा हालसम्म १ हजार ५५८ वटा उडान ढिला भएका छन् । सम्बन्धित आठवटै विमानस्थल स्थानीय समयअनुसार सोमबार बिहान ९ बजेसम्म अस्थायी रूपमा बन्द रहने जनाइएको छ ।
अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोट शुक्रबार रातिदेखि सुरु भएको थियो । त्यसपछि आसपासका क्षेत्रमा लगातार भूकम्पजस्तो गतिविधि देखिन थालेको थियो । ज्वालामुखीबाट लाभाका फोहरा निस्कनुका साथै शक्तिशाली विस्फोटका आवाजसमेत सुनिएको बताइएको छ ।
आइतबार बिहान पनि ज्वालामुखीबाट थप दुईवटा विस्फोट भएका थिए । विस्फोटपछि हावामा फैलिएको खरानीका कारण हवाई सुरक्षामा जोखिम बढेपछि विमानस्थल तथा उडान सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको हो ।
यातायात मन्त्रालयका अनुसार उडान रोकिँदा सबैभन्दा बढी सिंगापुर जाने–आउने हवाई सेवा प्रभावित भएका छन् । त्यसैगरी दोहा, सिड्नी, क्वालालम्पुरलगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यतर्फका उडानसमेत प्रभावित भएका छन् ।
ज्वालामुखी गतिविधि र खरानीको अवस्था निरन्तर निगरानी गरिरहेको जनाउँदै अधिकारीहरूले सुरक्षा अवस्था हेरेर उडान पुनः सञ्चालन गर्ने बताएका छन् । यस घटनाका कारण हजारौँ यात्रु विमानस्थलमै रोकिएका छन् भने कतिपय उडान पुनःतालिका निर्धारण गर्नुपर्ने अवस्था आएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment