पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी

डिसी नेपाल
२२ भदौ २०८३ ७:२८

ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ स्थित लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकीय सम्भावना बोकेर प्रवर्द्धनको पर्खाइमा छ। हरियाली लोदेन फाँटको बिचमा अण्डाकार आकृतिमा फैलिएको यो पोखरी सो क्षेत्रको प्रमुख प्राकृतिक सम्पदामध्ये एक हो।

कञ्चनजङ्घा हिमाल, पाथीभरा मन्दिर, बुकी फाँट र प्राकृतिक पोखरीहरूका लागि प्रसिद्ध ताप्लेजुङमा लोदेन क्षेत्र पनि सौन्दर्यले भरिपूर्ण मानिन्छ। जडीबुटी संकलक मिलन लिम्बूका अनुसार घाँसे मैदानमा रहेको यो पोखरीलाई ‘लाम पोखरी’ पनि भनिन्छ। स्थानीय तहमा यसको ठूलो पहिचान भए पनि अहिलेसम्म कुनै पनि निकायले यसको वैज्ञानिक अध्ययन तथा मापन भने गरेका छैनन्।

चारैतिरको हरियाली, हिमाली भू-दृश्य, नीलो शान्त पानी र सांस्कृतिक महत्त्वका कारण यहाँ पुग्ने जो कोही यसको सौन्दर्यबाट मन्त्रमुग्ध हुने गरेको मिक्वाखोला–५ का वडा सदस्य तोप्ला शेर्पा बताउनुहुन्छ। स्थानीय शेर्पा समुदायका अनुसार धार्मिक र सांस्कृतिक दृष्टिले समेत महत्त्वपूर्ण यस पोखरीमा पुगेर पर्यटकहरूले शान्तिको अनुभूति गर्ने गर्छन्।

यद्यपि, उच्च हिमाली क्षेत्रमा पर्ने लोदेनमा मानव बस्ती, होटल तथा होमस्टेको सुविधा छैन। यहाँ जाने पर्यटकले बसोबासका लागि याक तथा भेडी गोठ वा स्थानीयले बनाएका पाटी र धर्मशालामा निर्भर हुनुपर्ने बाध्यता छ।

खाद्य सामग्रीको जोहो पनि पर्यटक स्वयंले गर्नुपर्छ। स्थानीय गाइड पान्दे शेर्पाका अनुसार यस क्षेत्रको पैदल यात्राका लागि करिब एक साताको समय लाग्छ। पछिल्लो समय मिक्वाखोला गाउँपालिकाले भने लाम पोखरी क्षेत्रको प्रवर्द्धनमा चासो देखाउन थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *