भौतिक उपस्थितिमा पढाइ सुरु, मापदण्ड पालना नगरे कारबाही

डिसी नेपाल
८ असोज २०७८ १६:५१

काठमाडौँ । कोभिड–१९ का कारण लामो समयदेखि विद्यालय सञ्चालन रोकिएपछि मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा सस्थागत १०६ विद्यालयले भौतिक रुपमै पठाइ सुरुआत गरेका छन् ।

पालिकाले विद्यालयले सरकारले तोकेका मापण्डअनुसार पढाइ सुरु गरे नगरेको बुझ्नका लागि अनुगमन गरिने सो क्रममा मापदण्डपालना नगरेको पाइएमा विद्यालयलाई कारबाहीको दायरामा ल्याउने पालिकाका नगर शिक्षा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।

कक्षा कोठाका क्षमताका आधारमा भौतिक दूरी कायम गर्ने, शिक्षक, विद्यार्थी सबैले अनिवार्य मास्क लगाउने, धेरै विद्यार्थी भएको विद्यालयले आलोपालो गरी पढाइ गर्नेलगायतका मापदण्डपालना गरेर मात्र विद्यालय सञ्चालन गर्ने अनुमित दिएको भण्डारीले जानकारी दिए ।

उनका अनुसार मेचीनगर क्षेत्रभित्र ४२ वटा सामुदायिक विद्यालय, चार वटा धार्मिक स्कुल र ६० वटा बोर्डिङ स्कुल सञ्चालनमा छन् । विद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्य ढाँचा २०७७ अनुसार मापदण्ड पूरा गरी भौतिक उपस्थितिमा पढाइ गरिरहेका छन् या छैनन् भनेर अनुगमनसमेत गरिने उनले बताए ।

जिल्लाका भद्रपुर, विर्तामोड नगरपालिका, झापा गाउँपालिकाका विद्यालयलेसमेत भौतिक रुपमा पढाइ सुरु गरेका छन् । शिक्षा विकास तथा इकाइ समन्वय कार्यालयका प्रमुख राजकुमार विश्वकर्माले आजदेखि विभिन्न विद्यालयमा अनुगमन सुरु गरेको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *