ब्रिटनी स्पियर्सको बेडरुममा समेत निगरानी, आफ्नै पिताले जासुसी गराएको खुलासा

डिसी नेपाल
९ असोज २०७८ ९:१७

काठमाडौं। चर्चित गायिका ब्रिटनी स्पियर्सको बेडरुममा समेत निगरानी हुन्थ्यो र उनको जासुसी गर्नको लागि उनका आफ्नै पिताले एक सुरक्षा फर्मलाई जिम्मेवारी दिएका थिए । ब्रिटनी स्पियर्सको पूर्व सुरक्षा टिमले गोप्य रुपमा निकै संवेदनशील अडियो रेकर्डिङ सुरक्षित राखेको दावी गरिएको छ जुन अडियो ती सुरक्षा एजेन्टलाई जिम्मेवारी दिने ब्रिटनीका पिताले डिलिट गर्न चाहन्थे ।

ब्ल्याक बक्स सेक्युरिटीका एलेक्स भ्लासोभले न्यूयोर्क टाइम्सको एक डकुमेन्ट्रीमा यसबारे बताएका छन् । ‘एडन (येमिनी, ब्रिटनीका पूर्व बडिगार्ड) र अर्का एक एजेन्ट मेरो अफिसमा अडियो रेकर्डिङ डिभाइस र युएसबी ड्राइभको साथमा आए र मलाई यसको सबै कुरा हटाउन भने’ ब्ल्याक बक्स सेक्युरिटीमा २०१२ देखि २०२ सम्म काम गरेका भ्लासोभले भनेका छन् । ‘मैले यसमा के छ भनेर सोधें । उनीहरु आत्तिए र यसमा अत्यन्तै संवेदनशील सामग्री भएकोले कसैले पनि यसबारे थाहा नपाओस् भन्ने हेतुले मैले त्यो सबै हटाउनुपर्ने बताए’ भ्लासोभले भने ।

उनले यो घटनाले कैयौं खतराका संकेतहरु गरिरहेकोले उनीहरु केमा संलग्न थिए त्यसमा आफूले साथ दिन नसक्ने भएकोले यसको एक कपी आफूसँग राखे किनकि उनी प्रमाण नष्ट गर्न चाहँदैनथे । येमिनीलाई ब्रिटनीका पिता जेमी स्पियर्सले २००८ मा ब्रिटनीको अभिभाकत्व र नियन्त्रण आफूले पाएपछि ब्रिटनीको सुरक्षाका लागि राखेका थिए । ब्रिटनीलाई अदालतले २००८ मा उनका पिताको संरक्षकत्वमा रहनुपर्ने आदेश दिएको थियो ।

पछिल्लो समय आफ्ना पिताले संरक्षकत्वको नाममा आफूमाथि दुर्व्यवहार गर्ने गरेको भन्दै ब्रिटनीले यो संरक्षकत्वसम्बनधी आदेश खारेज गरिनुपर्ने माग गरेकी थिइन् । उनी आफ्नो जीवनलाई १३ वर्ष नियन्त्रणमा राखेको दुर्व््यवहारपूर्ण संरक्षकत्वप्रति आक्रामक रूपमा अदालतमा प्रस्तुत भएकी थिइन् । खुला अदालतमा पहिलो पटक बयान दिने क्रममा पप स्टार स्पियर्सले आफ्नो पिताले आफूलाई शतप्रतिशत नियन्त्रणमा राखेको बताएकी थिइन् । उनले आफ्नो थप सन्तान जन्माउन पाउने अधिकार खोसिएको र इच्छा विपरीत मानसिक रोगको औषधि दिइएको आरोप लगाएकी थिइन् ।

सन् २००८ मा अदालतले जेमी स्पियर्सलाई उनको छोरीको गतिविधिमाथि नियन्त्रण गर्ने गरी संरक्षकको अधिकार दिएको थियो । सो आदेश गायिका स्पियर्स मानसिक स्वास्थ्यसम्बन्धी चिन्ताका कारण अस्पताल भर्ना भएपछि दिइएको थियो । गएको जून महिनामा टेलिफोनमार्फत लस एन्जल्सका एक न्यायाधीशलाई ब्रिटनीले आफू दिनदिनै प्रताडित भएको र रोएको बताएकी थिइन् । ‘मलाई मात्रै मेरो जीवन फिर्ता चाहिएको छ,’ ३९ वर्षीया स्पियर्सले भनेकी थिइन् । न्यायाधीश ब्रेन्डा पेनीले स्पियर्सलाई साहसिक शब्दका लागि धन्यवाद दिइन् तर कुनै आदेश भने दिइनन् । स्पियर्सको संरक्षकत्वका बारेमा कुनै आदेश हुनुअघि लामो सुनुवाइ हुने बताइएको छ ।

दुई सन्तानकी आमा स्पियर्सले आफूले प्रेमीसँग विवाह गरेर अर्को सन्तान जन्माउन चाहेको तर संरक्षकत्वको प्रावधानका कारण त्यसो हुन नसकेको बताएकी थिइन् । उनले संरक्षकले अस्थायी बन्ध्याकरण उपकरण हटाउन नदिएको आरोप लगाएकी थिइन् । ‘यो संरक्षकत्वले मलाई फाइदाभन्दा हानी गरेको छ । म खुसी छैन, म सुत्न सक्दिन, म धेरै आक्रोशित छु र म दिनदिनै रुन्छु’ ब्रिटनीले भनेकी थिइन् ।

सन् २०१९ मा जेमी स्पियर्सले स्वास्थ्यका कारण अस्थायी रूपमा संरक्षकको भूमिका त्यागेका थिए । गायिका स्पियर्सले यसलाई स्थायी रूप दिएर सदाकालागि संरक्षकत्वको व्यवस्थाबाट पितालाई हटाउन माग माग गरेकी थिइन् । उनले संरक्षकका रूपमा व्यावसायिक सेवाकर्मी जोडी मोन्टगोमेरीलाई राख्न माग गरेकी थिइन् । जेमी स्पियर्सका वकिलले भने यी आरोपले पितालाई दुःख लागेको बताएका थिए । ‘छोरीलाई पीडा र दुःखमा देख्दा उनलाई दुःख लागेको छ । स्पियर्स आफ्नो छोरीलाई माया गर्छन्’ उनले भनेका थिए ।

अमेरिकामा मानसिक स्वास्थ्यका विभिन्न समस्याका कारण आफ्नो लागि निर्णय गर्न असमर्थ व्यक्तिलाई अदालतले संरक्षकत्व प्रदान गर्न सक्छ । स्पियर्सको संरक्षकत्वका दुई पाटा छन् । पहिलो उनको सम्पत्ति र वित्तीय गतिविधि र अर्को व्यक्तिको रूपमा उनी । उनले सन् २००८ यता आफ्नो सम्पत्ति चलाउन पाएकी छैनन् । जेमी स्पियर्स सुरुमा दुवै पाटाका संरक्षक थिए तर सन् २०१९ मा स्वास्थ्यका कारणले उनी छोरीको व्यक्तिगत मामिलाको संरक्षकबाट हटे ।

त्यो बेला जोडी मोन्टगोमेरीलाई सो जिम्मेवारी दिइयो जसलाई स्पियर्सले अहिले पूर्ण संरक्षकका रूपमा राख्न चाहेकी छन् । उनले वकिलमार्फत बुबालाई आफ्नो व्यावसायिक जीवनमा समेत नचाहेको संकेत दिएकी छन् । एक वकिलले स्पियर्स आफ्नो पितासँग डराएकी र उनको नियन्त्रणमा रहेसम्म मञ्चमा कार्यक्रम नगर्ने बताएका छन् । सन् २०२० को नोभेम्बरमा एक न्यायाधीशले जेमी स्पियर्सलाई संरक्षणबाट हटाउन अस्वीकार गरे पनि एउटा वित्तीय व्यवस्थापन संस्थालाई उनको सम्पत्तिको सहसंरक्षक बनाएको छ । त्यसको एक महिनापछि न्यायाधीशले उनको संरक्षकत्वलाई सन् २०२१ को सेप्टेम्बरसम्म बढाएका थिए ।

सन् २००७ मा स्पियर्सले केभिन फेडरलाइनसँग वैवाहिक सम्बन्ध विच्छेद गर्दा आफ्ना सन्तान आफूसँग नरहने भएपछि अनौठो व्यवहार गर्न थालेकी थिइन् । कपाल खौरने र पत्रकारको कारमा छाताले हिर्काउने जस्ता सार्वजनिक रूपमा गरिएका अनौठा व्यवहारको शृंखलापछि उनको मानसिक स्वास्थ्यको बारेमा प्रश्न उठेका थिए । सन् २००८ मा उनी मानसिक स्वास्थ्य उपचारका लागि दुई पटक अस्पताल भर्ना भइन् ।

त्यही बेला उनलाई संरक्षकत्वमा राखिएको हो जुन थप हुँदा हुँदा अहिलेसम्म आइपुगेको छ । यद्यपि संरक्षकत्वको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । यो बीचमा उनले तीनवटा सांगीतिक एल्बम निकालिन् । सन् २०१८ मा स्पियर्सको कुल सम्पत्ति झन्डै छ करोड अमेरिकी डलर भएको समाचार प्रकाशित भएका थिए । त्यो वर्ष उनले ११ लाख डलर कानुनी र संरक्षकत्व सम्बन्धी व्यवस्थाका लागि तिर्न खर्च गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *