कांग्रेसका करिब ६० जिल्लामा आज पालिका अधिवेशन

डिसी नेपाल
९ असोज २०७८ १०:३९
64
Shares

काठमाडौं । नेपाली कांग्रेसको पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि पालिका अधिवेशन सुरु हुने भएको छ। हालसम्म वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा आजबाट पालिका अधिवेशन प्रारम्भ भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

वडा अधिवेशन सम्पन्न भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि पालिका अधिवेशन सुरु भएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताए।
काठमाडौंमा भने वडा अधिवेशनको मत परिणाम प्राप्त भइनसकेकाले आज पालिका अधिवेशन सुरु गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए।

काठमाडौंमा पालिका अधिवेशन १६ असोज लागि तय गरिएको उनले जानकारी दिए। काठमाडौंको वडा अधिवेशन ५ असोजमा सुरु भएको थियो। क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन।

प्रदेश २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समितिका संयोजक यादवले जानकारी दिए।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँ अघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ।

काभ्रे र डडेलधुरा पनि आजै

विवादका बीच वडा अधिवेशन सम्पन्न भएका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा, काभ्रेलगायतका जिल्लामा पनि आजै पालिका अधिवेशन सुरु हुने निर्वाचन समितिले जनाएको छ। ५२ वडामध्ये एक वडा बाहेक सबैमा वडा अधिवेशन सम्पन्न भएको डडेलधुरामा आजै पालिका अधिवेशन सुरु हुने तयारी गरिएको निर्वाचन अधिकृत लोकेन्द्र वमले जानकारी दिए।

नवदुर्गा गाउँपालिका–५ मा भने वडा अधिवेशन भएको छैन। बाँकी सबै पालिकामा आजै निर्वाचन सुरु हुने उनले बताए। डडेलधुरमा क्रियाशील सदस्यता विवाद कायमै रहेको भन्दै जिल्ला पार्टी सभापति कर्ण मल्लसहितका नेताहरूले विरोध जनाउँदै नेताहरू आमरण अनशनमा बसेका छन्।

यस्तै काभ्रेमा पनि आजै पालिका अधिवेशन सुरु हुने निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले जानकारी दिए। का‌ग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले पालिका अधिवेशनको अघिल्लो दिन शुक्रबार निर्वाचन अधिकृत लामिछाने बिनासूचना बेपत्ता भएको भन्दै पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका थिए। निर्वाचन अधिकृत लामिछानेले भने सवै वडामा अधिवेशन सम्पन्न भइसकेकाले आजै पालिका अधिवेशन सुरु हुने बताए।

कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले वडा अधिवेशन सम्पन्न भएका करिब ६० जिल्लामा आजबाट पालिका अधिवेशन सुरु हुने जानकारी दिए। ‘केही जिल्लाका उजुरी निर्वाचन समितिमा परेका छन्, रामेछाप, नुवाकाेटलगायतका जिल्लाका उजुरीकाे हिँजै समाधान भइसेकाे छ,’ उनले भने, ‘बाँकी उजुरीकाे पनि आज समाधान हुन्छ।’

कांग्रेसले वडा अधिवेशन गत १८ भदौदेखि सुरु गरेको थियो। पालिका अधिवेशन आज , प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजमा तय गरेको गरिएको थियो।

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोजमा, प्रदेश अधिवेशन १०–१२ कार्तिक र केन्द्रीय महाधिवेशन आगामी ९–१३ मङ्सिरमा काठमाडौंमा गर्ने तय गरिएको थियो। क्रियाशील सदस्यताको विवाद समयमै टुंगो लगाउन नसक्दा कांग्रेसको निर्वाचन कार्यतालिका सातपटक परिमार्जन भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *