प्रसिद्ध नारीवादी लेखिका तथा सामाजिक कार्यकर्ता कमला भसीनको निधन

डिसी नेपाल
९ असोज २०७८ १३:०२

काठमाडौं। महिलाहरुको उत्थानको लागि काम गर्ने प्रसिद्ध सामाजिक कार्यकर्ता तथा लेखिका कमला भसीनको शनिबार बिहान निधन भएको छ । क्यान्सरबाट पीडित उनको विगत केही समयदेखि उपचार चलिरहेको थियो । उनको निधनको जानकारी सामाजिक कार्यकर्ता कविता श्रीवास्तवले गरेकी हुन् ।

उनले ट्वीटरमा लेखेकी छिन् ‘हाम्री प्रिय मित्र कमला भसीनको आज २५ सेप्टेम्बरमा लगभग ३ बजे निधन भएको छ । यो भारत र दक्षिण एसियाली क्षेत्रमा महिला आन्दोलनको लागि ठूलो झट्का हो । विपरित परिस्थितिमा उहाँले जीवनको उत्सव मनाउनुभयो । कमला तपाइँ सधैं हाम्रो मनमा जीवित रहनुहुनेछ । एक बहिनी जो गहिरो दुःखमा छ ।’ अभिनेत्री तथा सामाजिक कार्यकर्ता शबाना आजमीले पनि कमलाको निधनमा शोक व्यक्त गरेकी छिन् ।

कमला भसीन १९७० को दशकमा भारतको साथसाथै दक्षिण एसियाली देशहरुमा महिला आन्दोलनकी एक प्रमुख आवाज थिइन् । २००२ मा उनले नारीवादी नेटवर्क संगतको स्थापना गरेकी थिइन् जसले ग्रामीण र आदिवासी समुदायका अधिकारबाट बसिञ्चत महिलाहरुको साथमा काम गर्छ । उनी नाटक, गीत र कलाजस्ता साहित्यिक साधनको उपयोग गरेर समाजमा महिला उत्थानको काम गर्थिन् । उनले यस विषयमा कैयौं किताब लेखेकी छिन् र ती किताब ३० भन्दा धेरै भाषामा अनुवाद गरिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *