कर्णालीमा चल्दै छ पाँच दशकदेखि ‘चामल राजनीति’, पटकपटक पुग्छ कुहिएको चामल !

डिसी नेपाल
११ असोज २०७८ १७:२२

सुर्खेत । कर्णालीमा पाँच दशकदेखि चामलको राजनीतिक चलिरहेको छ । ०३०–०३५ साल (पञ्चायतकाल) देखि नै कर्णालीमा चामलको राजनीति जारी छ । पञ्चहरूले कर्णालीमा भोकमरी हुने भन्दै त्यसबेला हेलिकोप्टरमार्फत चामल ओर्सान थालेका हुन् । तर, उनीहरूले कर्णालीमा भोकमरीभन्दा भोट जोगाउने चिन्ताले यस्तो गरेका हुन् । पछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो र शाखा कार्यालय नै स्थापना गरेर चामलको व्यापार गर्न थाले ।

कर्णालीमा चामल लैजाने नाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारी, ठेकेदार र बिचौलियाले चामलमा झेल गर्दै आएका छन् । यहाँ आउने अनुदानको चामल (राम्रो चामल) अयन्त्र पठाएर कुहिएको चामल बिक्री गर्ने गरेका छन् । कार्यालयले बिषेशगरी दशैँ तिहारका बेला कर्णालीमा चामलको अभाव रहेको ‘प्रचार’ गर्दै कुहिएको चामल बिक्री वितरणका लागि पठाउने गरेको छ ।

आर्थिक वर्ष ०७७र०७८ को दशैँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट मुगु जिल्लाका लागि चामल ढुवानीको जिम्मा पाएको दुर्गा भगवती इन्टरप्राइजेज र शर्मा निर्माण सेवाले कम्पनीबाट उठाएको चामल भक्तपुर लैजान लागेका बेला प्रहरीले सुर्खेतको सुब्बाकुनाबाट ना६ख ५७२१ नम्बरको ट्रकसहित दुई सय ५० क्वीन्टल चामल जफत गरेको थियो ।

कम्पनीले दुर्गा भगवती इन्टरप्राइजेज र शर्मा ढुवानी सेवाका सञ्चालक वासुदेव शर्मासँग मुगुको कालैमा तीन हजार क्वीन्टल, सोरुकोट, पुलु र कालिकोटको थिर्पुमा एक–एक हजार क्वीन्टल तथा दैलेखको चामुण्डा र ठाँटीकाँधमा पाँच–पाँच सय क्वीन्टल चामल ढुवानी गर्ने सम्झौता गरेको थियो । कम्पनीसँग १६ असोज ०७७ मा भएको सम्झौताअनुसार शर्माले कालैका लागि जापानी चामल एक हजार क्वीन्टल र अरुवा मोटा चामल एक सय क्वीन्टल उठाएका थिए । तर, उनीहरूले मुगु पठाउनु पर्ने चामल भक्तपुर पठाएका थिए । यो प्रकरणमा ठेकेदार कम्पनीका प्रतिनिधि त समातिए । उनी पछि धरौटीमा छुटेँ । त्यो पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको मिलेमतोमा नै ।

पहिलो पटक बास्मती चामल

कम्पनीले यसअघि कर्णालीका नौ जिल्लामा धनगढी, लहानलगायत स्थानबाट मोटा, अरुवा चामल पठाउँदै आएको थियो । तर, यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंबाट सुर्खेतमा १५ साउनदेखि १५ भदौको बीचमा २ हजार २ सय क्विन्टल बास्मती चामल पठायो । काठमाडौंबाट पहिलोपटक बास्मती चामल कर्णाली पठाएको हो । तर यो चामल खान योग्य नभएको पुष्टि भइसकेको छ ।

खाद्य कम्पनी प्रादेशिक कार्यालय सुर्खेतका लेखा शाखा प्रमुख विनोद पौडेलले भने, ‘पहिलोपटक कर्णालीमा बास्मती चामल आए पनि विवादमुक्त भएन । यो चामल २० किलोको बोरामा छ ।’ उनका अनुसार सुर्खेत कार्यालयबाट हालसम्म एक सय १० रुपैयाँ प्रतिकिलोका दरले १५ क्विन्टल जति चामल बिक्री पनि भइसकेको छ ।

कर्मचारीकै मिलेमतोमा कर्णालीका कुहिएको चामल पठाएर सरकारले नागरिकको जीवनमाथि खेलबाड गरेको उपभोक्ता हित संरक्षण समितिका प्रदेश कोषाध्यक्ष विन्दुलाल रेग्मीले आरोप लगाए । ‘यो नागरिकको जनस्वास्थ्यमाथि गम्भीर खेलबाड हो,’ उनले भने, ‘राज्यको जिम्मेवार निकायबाट नागरिकमाथि यस्तो खेलबाड गर्नु अपराध हो ।’

चामल गोदाममा सिल

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले किरा परेको र कुहिएको चामल रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको गोदाम सिल गरेको छ ।

डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले गोदाम अनुगमन गर्दा काठमाडौंबाट आएको १९ सय ९० क्वीन्टल बास्मती चामलमध्ये १५ क्वीन्टल बिक्री गरिसकेको पाएको बताए । बाँकी १९ सय ७५ क्वीन्टल चामल खाद्य कम्पनीको गोदाममा रहेको उनको भनाइ छ । उनले हाल गोदाममा रहेको सो बास्मती चामल बिक्री वितरण नगर्न सिल गरेको जानकारी दिए ।

ढुवानीसमेत झेल

खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट ढुवानीको जिम्मा पाएका ठेकेदारहरूले डिपो तथा खाद्य कम्पनीको कार्यालयमा नपु¥याएर बाटोबाटै बिक्री गर्ने समेत गरेका छन् । कार्यालयका कर्मचारीसँगको मिलेमतो उनीहरूले बाटोमा चामल बिक्री गर्ने गरेका छन् ।

कर्णालीका सडक नपुगेका जिल्ला हुम्ला र डोल्पामा नेपालगन्ज र सुर्खेतबाट चामल ढुवानी गर्ने जिम्मेवारी वायुसेवा कम्पनीहरूलाई दिने गरेको छ । तर, चालु आर्थिक वर्ष ०७८\७९ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वायु सेवा कम्पनीलाई ढुवानीको जिम्मा नदिएर बिचौलिया प्रयोग गरेको छ ।

हुम्ला र डोल्पामा मात्रै हवाई मार्गमार्फत वार्षिक १५ करोड रुपैयाँको चामल ढुवानी हुने गर्छ । चालु आर्थिक वर्षमा चामल ढुवानीमा बिचौलिया ल्याएको वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीको आरोप छ । ‘विगतमा यो काम खाद्य कम्पनीले सिधै एयरलाइन्सलाई दिने गरेको थियो,’ उनले भने, ‘चालु आर्थिक वर्षमा विमान नै नभएको कम्पनीलाई चामल ढुवानीको जिम्मा दिइयो । यो जिम्मा बिचौलियाले लिए पनि बोक्न भने एयरलाइन्स नै प्रयोग गर्नुपर्छ ।’

यी हुन् कुहिएको चामल पठाउने कर्मचारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतस्थित प्रादेशिक कार्यालयलाई कर्णालीमा बिक्री वितरण गर्नेगरी १५ साउनदेखि १५ भदौको बीचमा बास्मती चामल पठायो । उक्त चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खानयोग्य नभएको पुष्टि गर्दै नष्ट गर्ने निर्देशन दिएको थियो ।

नष्ट गर्न विभागले निर्देशन दिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र बिक्री वितरण शाखाका विभागीय प्रमुख भीमबहादुर थापा र अन्य विभागीय प्रमुखको निर्देशनमा ‘रि–पोलिसिङ’ गरि चामल सुर्खेत पठाएका थिए । काठमाडौं कार्यालयबाट पठाएको चामल प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले ‘रिसिभ’ गरेका थिए । सुर्खेत आइपुगेको केही चामल कार्यालयमार्फत बिक्री समेत भइसकेको छ ।

पटकपटक किन पुग्छ कुहिएको चामल ?

कर्णालीमा यसअघि पनि पटकपटक यस्तै खालका चामल आइपुग्ने गरेका उदाहरण छन् । केन्द्रले पठाएको चामल प्रादेशिक कार्यालयले बिना चेकजाँच गाउँगाउँमा पठाउँदा कर्णालीबासी पीडित बन्ने गरेका छन् । प्रादेशिकका प्रमुख माधव मिश्र केन्द्रीय कार्यालयबाट आएको चामल चेकजाँच भएर नै आउने भएकाले शंका नगर्ने गरेको बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *