भारतको उत्तराखण्डमा चिनियाँ सेनाको प्रवेश, भारतको पुल ध्वस्त पारिदिए

डिसी नेपाल
१३ असोज २०७८ १३:१७

काठमाडौं। चिनियाँ सेनाले सीमा पार गरेर भारतको उत्तराखण्ड राज्यमा प्रवेश गरेको छ । १ सयभन्दा धेरै चिनियाँ सैनिकहरु ५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए । उनीहरु सीमा पार गर्दै उत्तराखण्डको बाराहोती क्षेत्रमा प्रवेश गरेका थिए । यी चिनियाँ सैनिकहरुले भारतभित्र प्रवेश गरेर भारतका संरचनाहरु पनि भत्काइदिएका छन् । रिपोर्टका अनुसार यो घटना ३० अगष्टको हो ।

यी चिनियाँ सैनिकहरु सीमा पार गरेर भारतीय क्षेत्रमा ५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए । उनीहरु ५० भन्दा धेरै घोडामा चढेर आएका थिए । यसरी भारतीय क्षेत्रमा प्रवेश गरेको २ घण्टापछि चिनियाँ सैनिकहरु बाराहोती क्षेत्रबाट आफ्नो क्षेत्रमा फर्किएका थिए । इकोनोमिक टाइम्सको रिपोर्टअनुसार तुनजुन ला पास पार गरेपछि भारतीय क्षेत्रमा चिनियाँ सैनिकहरु ५ किलोमिटर भन्दा पनि धेरै भित्र पुगेका थिए ।

चिनियाँ सेना प्रवेश गरेको तुन जुन ला पास लिम्पियाधुराबाट नजिकै पर्छ । नेपालको सीमाको नजिकै भारत र चीनबीच यस किसिमको घटना हुनुले नेपाललाई पनि रणनैतिक र कूटनैतिक रुपले गम्भीर प्रभाव पर्न सक्छ । तुन जुन ला पासबाट लिम्पियाधुरामा नेपाल, भारत र चीनको त्रिदेशीय सीमाको विन्दू लगभग ७१ किलोमिटरको दूरीमा छ ।

रिपोर्टका अनुसार चिनियाँ सैनिकले फर्किनुभन्दा पहिले भारतमा एउटा पुलमा आक्रमण गरेर पुललाई ध्वस्त पारिदिएका छन् । यो रिपोर्ट प्रकाशित भएसँगै भारतका विपक्षी दलका नेता राहुल गान्धीले ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई निशाना बनाएका छन् । यो क्षेत्रमा भारत–तिब्बत सीमा पुलिस तैनाथ छ । रिपोर्टका अनुसार चिनियाँ सैनिक आएको सूचना पाएपछि भारतीय सेनाले यो क्षेत्रमा गस्ती पनि गरेको थियो तर भारतीय सेना पुग्दासम्म चिनियाँ सैनिक फर्किइसकेका थिए ।

रिपोर्टका अनुसार दुई देशबीच सीमाको रेखांकनलाई लिएर अस्पष्टता छ जसका कारण बाराहोतीमा उल्लंघनका घटना भइरहन्छन् । भारतीय अधिकारीहरुले ३० अगष्टका दिन सीमा पार गरेर आएका चिनियाँ सैनिकको संख्यालाई लिएर निकै आश्चर्य व्यक्त गरेका थिए । यसअघि सेप्टेम्बर २०१८ मा पनि यो क्षेत्रमा चिनियाँ सैनिक पटक पटक प्रवेश गरेका थिए । चीनले यहाँ वास्तविक नियन्त्रण रेखा नजिकै स्थायी संरचना निर्माणलाई पनि तीब्रता दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *