बेपत्ता व्यक्तिको खोजी भइरहँदा हराएका व्यक्ति पनि आफ्नै खोजी अभियानमा जुटेका थिए

डिसी नेपाल
१४ असोज २०७८ १३:१०

काठमाडौं। टर्कीमा एउटा निकै अनौठो घटना भएको छ । यहाँ बेपत्ता भएका एक व्यक्ति आफ्नै खोजी अभियानमा जुटेका थिए । उनलाई यो कुरा थाहा समेत थिएन कि मानिसहरु जुन व्यक्तिलाई खोज्दे जंगलमा घुमिरहेका छन् ती हराएका व्यक्ति उनी आफैं हुन् । यद्यपि यसो हुनुमा ती व्यक्तिको पनि कुनै गल्ती थिएन ।

टर्किश मिडिया एनटिभीको एक रिपोर्टअनुसार खासमा बेहान मुतुलु नामका ५० वर्षका एक व्यक्ति आफ्ना साथीहरुसँग ड्रिक गर्नको लागि घरबाट टाढा इनेगोल सहर गएका थिए । तर, यही बीचमा उनी साथीहरुबाट छुट्टिए र कतै हराए । स्थानीय मिडियाका अनुसार उनी नशाको हालतमा जंगलमा हराएका थिए । जब बेहान मुतुलु फर्किएनन् त्यसपछि उनका साथीहरुले पुलिसलाई सूचना दिए ।

पुलिसले पनि बेपत्ता भएको रिपोर्ट लेखेर उनको खोजीको लागि सर्च अभियान सुरु गर्यो । धेरै समयसम्म जंगलमा खोजी गर्दा पनि मुतुलुको कुनै सूचना पाइएन । यही बीचमा पुलिस अधिकारीहरुले जंगलमा मुतुलुको नाम चिच्याएर बोलाए । पुलिसले बोलाएपछ मुतुलुले पनि जवाफ दिए । त्यसपछि पुलिसकर्मी यो देखेर चकित परे कि मुतुलु त पूरै समय सर्च अभियानमा उनीहरुको साथमै हराएको मान्छे खोज्दै हिँडेका थिए ।

खासमा मुतुलुले कोही व्यक्ति हराएकोले सर्च अभियान सुरु गरिएको थाहा पाएपछि हराएका व्यक्ति खोज्न जंगलमा गएका सुरक्षाकर्मी र अन्य व्यक्तिहरुको साथमा आफू पनि खोजी अभियानमा सहभागी भएका थिए । तर, उनलाई हराएको व्यक्ति को हो भन्ने थाहा थिएन । उनलाई कोही अरु नै व्यक्ति हराइरहेको भन्ने लागेको थियो । उनलाई हराएको व्यक्ति आफू नै हो भन्ने त रत्तिभर लागेको थिएन ।

पुलिससँग मुतुलुको कुनै तस्वीर पनि थिएन । मुतुलुलाई पनि उनीहरुले आफूलाई खोजिरहेका छन् भन्ने थाहा थिएन । रिपोर्टका अनुसार जब बेहान मुतुलुले जंगलमा पुलिसले आफ्नो नाम बोलाइरहेको सुने त्यसपछि भने ‘तपाइँहरु कसलाई बोलाउँदै हुनुहुन्छ ? म त यहाँ छु ।’ मिडिया आउटलेट वजियतले ट्वीटरमा एउटा तस्वीर शेयर गरेको छ जसमा मुतुलु पनि खोजी अभियानमा अन्य सदस्यहरुसँगै छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *