अमेरिकाको भर्जिनिया सरकारबाट ‘हिन्दू‐सम्पदा’ महिना मनाउने घोषणा( पत्रसहित)

डिसी नेपाल
१५ असोज २०७८ ५:२९

वासिंगटन डिसी। अमेरिकाको भर्जिनिया सरकारले सन् २०२१ को अक्टोबर महिनालाई हिन्दू सम्पदा महिनाको रुपमा मनाउने घोषणा गरेको छ।

भर्जिनिया राज्यका गर्भनर राल्फ एच नर्टमले सेप्टेम्बर ३० मा एक घोषणा पत्र जारी गर्दै सो जानकारी दिएका हुन्। उनले भर्जिनिया राज्यको गभर्नरको हैसियतले भर्जिनियाको संविधानले दिएको अन्तर्निहित अधिकारको प्रयोग गरी त्यस्तो घोषणा जारी गरेको बताएका छन्।

विश्वभरको जनसंख्यामा हिन्दू धर्म तेस्रो ठूलो संख्याले मान्ने धर्म भएको जिकिर गर्दै गभर्नर राल्फले विश्भरका १ अर्व जनसंख्याले हिन्दू धर्म मान्ने र त्यसमध्ये २० लाखभन्दा बढी हिन्दूहरु अमेरिकामा बसोबास गर्ने तथ्यांक पनि उनले आफ्नो सो घोषणामा उल्लेख गरेका छन्। (हेर्नुहोस् घोषणा पत्र)।

हिन्दू सम्पदा महिनाका रुपमा मनाउनुको कारण स्पष्ट पार्दै गभर्नरले घोषण पत्रमा लेखेका छन्, ‘हिन्दू सम्पदा, संस्कृति, परम्परा र मूल्यहरुले जीवनका धेरै समस्याहरुको अमूल्य समाधान प्रदान गर्दछ र मार्गदर्शनका लागि हिन्दूधर्मको शिक्षामा भरपर्ने लाखौं व्यक्तिहरुका लागि प्रेरणा, चिन्तन र चिन्तनको स्रोतको रुपमा काम गर्दछ।’

अमेरिकामा सबैभन्दा द्रुत गतिमा बृद्धि भएको आप्रवासी समुदायमध्येको एक हिन्दू समुदाय भएको उल्लेख गर्दै गभर्नर राल्फले हिन्दू अमेरिकन समुदायले भर्जिनियाको उन्नतिका लागि नागरिकहरुको जीवनस्तर उकास्दै योगदान दिएको प्रसंग पनि घोषणा पत्रमा उल्लेख गरेका छन्।

अक्टोबर महिनामा हिन्दू संस्कृति र सम्पदाका पर्वहरु मनाउने भएकाले सो महिनालाई हिन्दू सम्पदा महिना घोषणा गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले भर्जिनियाका नागरिकहरुलाई सोही घोषणामार्फत ध्यानाकर्षण गराएको पनि गर्भनरले बताएका छन्।

गभर्नर राल्फको सो घोषणालाई भर्जिनियावासी नेपाली समुदायले स्वागत गरेका छन्। अक्टोबर महिनामा पितृपूजादेखि दुर्गापूजासहित दशैंजस्तो महान चाड र ल क्ष्मीपूजा पनि  पर्ने र सो कुरालाई अमेरिकाको भर्जिनिया सरकारले उत्सवका रुपमा मनाउने गरी घोषणा गरिदिएकोमा नेपाली समुदाय उत्साहित भएको छ।

डेमोक्रेटिक नेशनल कमिटी,अमेरिकाका केन्द्रीय सदस्य हरि शर्माले डिसी नेपालसँग भने, ‘हिन्दू सम्पदा महिनाको घोषणा गरी हिन्दू संस्कृतिलाई सम्मान गरेकोमा गभर्नर राल्फ र भर्जिनिया सरकारप्रति आभार प्रकट गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *