भारतमा कोभिडका थप २४ हजार सङ्क्रमित

डिसी नेपाल
१६ असोज २०७८ १८:४५

काठमाडौं । कोरोना भाइरसबाट भारतमा थप २४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना सङ्क्रमित भएका हुन् ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अघिल्लो दिन शुक्रबार बिहान सार्वजनिक जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका थिए । शुक्रबारको विवरणमा भन्दा शनिबारको विवरणमा सङ्क्रमितहरूको सङ्ख्या घटेको देखिएको छ ।
यसअघि दैनिक सङ्क्रमितहरुको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो ।

सङ्क्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको छ ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ७३ हजार ८८९ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या १९७ दिनपछिकै सबैभन्दा कम हो । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितहरूको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ । दैनिक सङ्क्रमितहरूको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या कम हुँदै गएको हो । पछिल्लो २४ घण्टामा २४ हजार सङ्क्रमित हुँदा २५ हजार ४५५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ३० लाख ६८ हजार ५९९ रहेको अधिकारीहरूले जनाएका छन् ।
भारतको चिकित्सा अनुसन्धान परिषद्ले शुक्रबार एक दिनमा एक करोड ४२ लाख ९२ हजार ५४८ जना कोरोना परीक्षण गरिएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म ५७ करोड १९ लाख ९६ हजार ९९० जनाको परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *