ती देउवा, यी देउवा

सम्भव सिंह ठकुरी
१७ असोज २०७८ १३:२९

काठमाडौं। नेपाली कांग्रेसका वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ सालको आमनिर्वाचन यता आजको मितिसम्म सधैं शक्ति र सत्ताको केन्द्रबिन्दुमा रहे।

बहुदलको उदय पश्चात २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएयता सबै संसदीय निर्वाचन जितेका देउवाको खुला राजनीतिको करिअर तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री जस्तो शक्तिशाली पदबाट सुरु भएको थियो ।

विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदाएका देउवा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई जस्ता संस्कारी नेताहरुको संगत गरेको र उनीहरुले पनि भोलिको कांग्रेस थेग्ने नेताको रुपमा अब्बल चेला मानेको नेताको रुपमा चिनिएका थिए।

गिरिजाप्रसाद कोइराला जस्ता ‘टावरिङ पर्सनालिटी’ भएका व्यक्ति र कोइराला वंशको विरासत विरुद्ध संघर्ष गरेर ५१ वर्षको उमेरमै बहुदल पश्चात सबैभन्दा कान्छो प्रधानमन्त्रीको रुपमा नेपालको राजनीतिक इतिहासमा सुनौलो अक्षरले नाम लेखाएका एक पात्र समेत हुन्।

२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि उनी नेपाल विद्यार्थी संघको संस्थापक सदस्य र नेपाल विद्यार्थी संघको दोस्रो सभापति बने।

देउवाको कार्यकाल आज ८२ दिन पुग्दा समेत देशको सबैभन्दा ठूलो प्रसाशनिक क्षेत्र सिंहदरबार सुनसान बनेको छ। जनताको दैनिकीसँग जोडिएका प्रत्यक्ष कामहरु ठप्प बनेको छ। ५ मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार चलिरहँदा पूर्ण मन्त्रिपरिषद बिस्तार गर्न नसकेर आलोचनाको सामना गरिरहेका छन्।

पञ्चायतविरोधी राजनीति गर्दा देउवा पटक–पटक जेल परेका छन्। यस्तै राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि उनीमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो र त्यसबेला समेत उनी केही समय जेल परेका थिए।

आफ्नो राजनीतिक जीवनमा पटकपटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएको प्रतिनिधिसभाको वेबसाइटमा राखिएको एक परिचयात्मक भिडियोमा देउवाले बताएका छन्। यसरी विगतमा संघर्षमय राजनीतिक जीवन व्यतीत गरेका देउवा २०४८ सालमा कांग्रेस सरकारमा गृहमन्त्री हुँदा बैवाहिक जीवनमा समेत बाँधिएका थिएनन्।

४५ वर्षको उमेरमा गृहमन्त्री भइसकेपछि राणा खानदानकी डा.आरजु राणासँग बिहे गरेका देउवा बिहेपछि भने व्यक्तिवादी र स्वार्थी भएको कांग्रेस वृतमा चर्चा हुन्छ । यद्यपि देउवाका प्रशंसकहरू उनलाई पार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सफल व्यक्तिका रूपमा चित्रण गर्छन्।

कांग्रेसका एक पुराना नेता देउवाको राजनीतिक यात्रामा सोही समय देखि नै श्रीमती राणा हावी भएको र बेला/बेलामा आलोचितसम्म हुनुपरेको बताउँछन्। देउवाको राजनीतिक यात्राहरुमा विभिन्न उत्तरचढावहरु छन्।

कम बोल्ने देउवा निर्णय लिन र कूटनैतिक चातुर्य भएको नेताका रुपमा पनि चिनिन्छन्। १३ औँ महाधिवेशन पश्चात कांग्रेसको सभापति बनेका देउवाले त्यो क्षमता देखाउनु पनि असाधरण कुरा हो । यसरी हेर्दा देउवाको संघर्ष र राजनीतिक यात्रा सहज थिएन।

आज चर्चा गर्न खोजेको कुरा के हो भने, देउवाको चर्चा र आलोचना विभिन्न घटना र परिघटनामा भइरहेको छ। कुनै बेला सबैभन्दा धेरै संख्यामा मन्त्रिपरिषद् बिस्तार गरेर आलोचित बनेका देउवा आज सरकारको नेतृत्व गरेको ८३ दिन बित्दा समेत ५ मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार चलाएकोमा सर्वत्र आलोचना भइरहेको छ।

२०५१ सालमा मनमोहन अधिकारीको सरकार ९ महिनामा ढलेपछि कांग्रेसको तर्फबाट सरकारको नेतृत्वमा आएका देउवाले पञ्चायत समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत समावेश गरेर ५२ जनाको जम्बो मन्त्रिपरिषद् बनाए । त्यसपछि पञ्चहरुलाई सरकारमा सहभागी बनाएको भन्दै कांग्रेस र देउवाको आलोचना सुरु भयो ।

देउवाले आफ्नो प्रधानमन्त्रीत्व कालमा पञ्चलाई सरकारमा ल्याउनेदेखि सुरासुन्दरी, रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता संसदीय विकृति जन्माएको आरोप समेत खेपे। यी सबै विकृतिको शिकार बन्यो नेपाली कांग्रेस। यसरी पहिलो पटक प्रधानमन्त्री भएको बखतमै ५२ सदस्यीय जम्वो मन्त्रिपरिषद बिस्तार गरे।

यसरी २०४६ सालपछिको बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि सबैभन्दा ठूलो मन्त्रिपरिषद् बनाउने कीर्तिमान उनकै नाममा रहेको छ। त्यतिमात्र हैन २०७४ सालमा चौथो पटक प्रधानमन्त्री हुँदा ‘हाफ सेन्चुरी’को अर्को किर्तीमान बनाउँदै ५० सदस्यीय जम्बो मन्त्रिपरिषद बिस्तार गरे।

अहिले ब्यक्तिगत रुपमा पाँचौ पटक प्रधानमन्त्री भएका देउवा समकालीन राजनीतिज्ञमध्ये सरकारमा पुग्ने मामिलामा सफल, भाग्यमानी र किर्तिमानी राजनीतिज्ञको रुपमा चिनिन्छन्। तर उनको सबै कार्यकाल आलोचित बनेको छ।

गत अनुसार २९ गते प्रधानमन्त्रीमा सपथ खाएका देउवाको कार्यकाल आज ८२ दिन पुग्दा समेत देशको सबैभन्दा ठूलो प्रसाशनिक क्षेत्र सिंहदरबार सुनसान बनेको छ। जनताको दैनिकीसँग जोडिएका प्रत्यक्ष कामहरु ठप्प बनेको छ। ५ मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार चलिरहँदा पूर्ण मन्त्रिपरिषद बिस्तार गर्न नसकेर आलोचनाको सामना गरिरहेका छन्।

कहिले हुन्छ पूर्णमन्त्रीपपरिषद ?

प्रधानमन्त्री शेरबहादुर देउवा निकट एक नेताका अनुसार मन्त्रिपरिषद बिस्तार गर्ने विषयमा गठबन्धनका नेताहरुसँग दैनिक छलफल भइरहेको छ । ‘आज बिहान पनि बालुवाटार सो विषयमा छलफल भयो, लगभग सबै सहमतिमा आइसकेको छ । सम्भवत आज साँझसम्म नै टुङ्गो लाग्नसक्छ । नत्र भोलि सोमबार सम्म पूर्णता दिन्छौँ’ ती नेताले भने ।

उनले अगाडि भने ‘यति लामो समयसम्म मन्त्रिपरिषद बिस्तार नहुनुमा कांग्रेसमा भन्दापनि गठबन्धनका जसपा र एकीकृत समाजवादीको समस्याका कारण हो। अब समस्या छैन। लामो समयसम्म पूर्णता दिन नसक्दा राष्ट्रिय रुपमै आलोचना भइरहेको छ। अब त्यो आलोचना हुन दिन्नौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *