कांग्रेसभित्र गगन थापाको छुट्टै टिम, प्रकाशमानलाई सभापति मान्ने

सम्भव सिंह ठकुरी
१८ असोज २०७८ १३:३७

काठमाडौं। यतिबेला नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको कतै स्थानीय तह, कतै जिल्ला तहको अधिवेशन धमाधम भइराखेको छ। केन्द्रीय नेताहरु वडा तहदेखि आफू अनूकुलको नेतृत्व ल्याउन दौडधुप गरिराखेका छन्। तर कांग्रेसको यो अधिवेशनमा टिम र गुटसँगै नयाँ पुस्ताको प्रतिनिधित्वले पनि प्रवेश पाउने संकेत गरिसकेको छ।

देशको विभिन्न वडाहरुबाट १८ देखि ३० वर्ष उमेर समूहका युवाहरु उल्लेखनीय रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। कांग्रेस नेतृत्व पुस्तान्तरणको पहिलो आधार र संकेत पनि यही हो। कांग्रेस भित्र जब पुस्तान्तरण कुरा चल्छ, त्यो बेला सम्झिने नाम भनेको गगन थापा हुन्।

पुस्तान्तरणको विषयमा खरो रुपमा आवाज उठाउने थापा कांग्रेसको १३ औँ महाधिवेशन मै महामन्त्रीको उम्मेदारी बनेका थिए। उनले १४ औँ महाधिवेशनमा पनि महामन्त्रीको पदमा उम्मेदार दिने बताइसकेका छन्।

थापाले गत भदौ १४ गते काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा भएको कार्यक्रमबाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरिसकेका छन्। १३ औँ महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदार बनेका थापा यो महाधिवेशनमा भने कुन समूहबाट उम्मेदार बन्ने भनेर समूह खुलाएका छैनन्। तर उनी कांग्रेसमा संस्थापनइतर समूह मै देखिएका छन्।

संस्थापन समूहबाट वर्तमान सभापति शेरबहादुर देउवा नै निर्विकल्प रुपमा सभापतिको उम्मेदारी दिने भइसकेका छन्। देउवासँगै लामो राजनीतिको सहयात्री बनेका उपसभापति बिमलेन्द्र निधिले पनि सभापतिको उम्मेदारी घोषणा गरिसकेका छन्।

यद्यपी देउवा समूहका एक केन्द्रीय नेता लोकतान्त्रिक पार्टीमा उम्मेदारी दिने र दिन पाउने स्वभाविक प्रक्रिया भएपनि देउवाको उम्मेदारीलाई ठूलो असर नपर्ने बताउँछन्।

संस्थापन इतर समूहबाट भने आधा दर्जन आकांक्षी देखिएका छन्। तर इतर समूहका एक नेता भने इतर समूहबाट एकमात्र साझा उम्मेदार बन्ने दावी गर्छन्। इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह केन्द्रीय सदस्य डा.शेखर कोइराला रहेका छन्। उक्त समूहका एक युवा नेताले साझा उम्मेदार बनाउने दावी गरेपनि सबै नेता पौडेल, सिंह र कोइरालाद्धयले आफ्नो दावी छाडेका छैनन्।

कांग्रेसको विकसित पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा इतर समूह भित्र नै विभिन्न गुटउपगुट निर्माण भइरहेको छ। नेता प्रकाशमान सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको स्पष्ट पारिसकेका छन्।

नेपाली काँग्रेस काठमाडौं महानगरपालिका १७ ले गत शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको बताएका छन्।

सिंहले सभापतिको दावी गरिरहँदा काठमाडौं कांग्रेसको राजनीतिले नयाँ मोड लिएको छ। काठमाडौंको कांग्रेस अधिवेशनमा सभापतिको उम्मेदार सिंह र महामन्त्रीको उम्मेदार थापा एउटै कित्तामा उभिएका छन्।

सिंह र थापा एकै ठाउँमा

काठमाडौंको राजनीतिमा नेता सिंहको सधैं प्रभाव रहेको हुन्छ। यो प्रभाव १४ औँ महाधिवेशनमा पनि निरन्तर देखिने प्रष्ट संकेत आएको छ। शनिवार भएको काठमाडौं महानगर अधिवेशनमा सिंह समूहको बलियो उपस्थिति देखिएको छ। शनिबार भएको अधिवेशनमा नेता सिंह समूहका नगर सभापतिका उम्मेदार नीलकाजी शाक्य भारी मतान्तरले प्यानल सहित सभापतिमा विजयी बनेका छन्।

नीलकाजी शाक्यलाई नेता सिंह, गगन थापा, काठमाडौं जिल्लाका सभापति कृष्ण बानियाँ ‘सबुज’, ध्यानगोविन्द रञ्जित, काठमाडौं महानगरबाट मेयरका प्रत्यासी राजुराज जोशी, महानगरका उपमेयर हरिप्रभा खड्कीलगायतको समर्थन रहेको थियो। नगरसभापतिका अर्का उम्मेदार प्रगतिमान रञ्जितलाई डा.प्रकाश शरण महत, भिमसेनदास प्रधानको समर्थन रहेको थियो।

रोचक कुरो के रह्यो भने १३ औँ महाधिवेशनमा भिमसेनदास प्रधान र गगन थापा नेता सिटौलाको समूहमा थिए। प्रधान अहिले पनि सिटौला समूहमा छन्। तर थापा सिंह समूहसँग निकट देखिए।

यसरी सभापतिका र महामन्त्रीका उम्मेदार रहेका सिंह र थापाको निकटताले कांग्रेस बृतमा नयाँ समूह बन्न सक्ने चर्चा चल्न थालेका छन्। सिंह निकट स्रोत अनुसार पनि थापासँग अधिवेशनको सहकार्यमा छलफलले तिब्रता पाएको बताउँछन्।

‘प्रकाश दाइ र गगनजीबीचमा छलफलहरु चलिनै रहेको छ। प्रकाश दाइ आफैं सभापतिको उम्मेदारी दिने बताइरहनु भएको छ। अधिवेशनको पूर्व सन्ध्यामा छौं। राजनीतिमा असम्भव भन्ने हुँदैन। त्यसमा पनि यो त पार्टीको आन्तरिक अधिवेशन हो। थापाजी र प्रकाश दाइ एउटै समूहमा रहनपनि सक्नुहुन्छ। राजनीतिमा असम्भव के छ र,’ प्रकाशमान सिंह निकट स्रोतले भन्यो।

आइतबार साँझ मात्र पनि सिंह, थापा जिल्ला सभापति बानियाँको सामुहिक तस्विर नेविसंघका नेता युपी लामिछानेको फेसबुकबाट सार्वजानिक गरेका छन्। तर थापा निकट स्रोत भने थापा इतर समूहबाट साझा उम्मेदार बनाउने कसरतमा लागेको बताउँछन्।

स्रोतले भन्यो, ‘गगन दाइ अहिले यो समूह त्यो समूह भनेर छुट्याउनुभएको छैन। उहाँ साझा उम्मेदार बनाउनुपर्छ भनेर सबै नेताहरुसँग छलफलमा चाहिँ जुटुनु भएको छ। अहिलेलाई यति भन्छु उहाँ महामन्त्रीको उम्मेदार हो। तर समूह छुट्याउनु भएको छैन।’ नेता सिटौला संगपनि छलफलमै रहेको र सिटौला सहितको साझा उम्मेदार बनाउने कसरतमा लागेको गगन थापा निकट स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *