सवा तीन करोड खोप आउने निश्चित
काठमाडौं । केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ।
विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोपमध्ये फाइजर, कोभिसिल्ड, भेरोसेल खोप केही दिनभित्रै नेपाल भित्रिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, “केही दिनभित्रै कोभिसिल्ड आउने छ । अरू कम्पनीको खोप पनि आउँदैछन्।”
मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले सवा तीन करोड मात्रा खोप आउने निश्चित भएको जानकारी दिनुभयो । तत्काल भारतबाट कोभिसिल्ड खोप १० लाख मात्रा आउन लागेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी चीनबाट थप १६ लाख मात्रा खोप अनुदानमा आउने भएको छ । मन्त्रालयका अनुसार दशैँलगत्तै एक लाख फाइजर खोप आउने छ । उक्त खोप अस्पतालमा रहेका दीर्घरोगीहरूलाई लगाइने छ । फाइजर खोप १२ देखि १८ वर्षसम्मका बालबालिकालाई समेत लगाउन मिल्ने खोप हो। याे खबर आजकाे गाेरखापत्र दैनिकले छापेकाे छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment