कच्याककुचुक परेको सर्ट आइरन पनि नगरी लगाएर मोदीलाई भेट्न पुग्ने व्यक्ति को हुन् ?

डिसी नेपाल
२० असोज २०७८ ११:३८

काठमाडौं। प्रतिष्ठित व्यक्तिहरुलाई भेट्न जाँदा मानिसहरु सफा भएर, चिटिक्क किलेको कपडा लगाएर जान्छन् । देशको उच्च पदमा रहेका व्यक्तिहरुसँग भेट्नको लागि त निश्चित ड्रेस कोड नै तोकिएको हुन्छ । तर, पछिल्लो समय सामाजिक संजालमा एउटा फोटो भाइरल भइरहेको छ । फोटोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न पुगेका एक व्यक्तिले कच्याककुचुक परेको सर्ट लगाएका छन् । अर्को एउटा फोटोमा त ती व्यक्ति कुर्सीमा बसेका छन् र उनको अगाडि मोदी कुनै आज्ञाकारी बालकजस्तै हात बाँधेर उभिएका छन् ।

भारतीय मिडियाका अनुसार यसरी प्रधानमन्त्री मोदीलाई भेट्न जाने व्यक्ति राकेश झुनझुनवाला हुन् । उनी भारतका प्रतिष्ठित लगानीकर्ता हुन् । झुनझुनवाला परिवार २ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको सम्पत्तिका मालिक हुन् । राकेश र उनकी पत्नी रेखाले मंगलबार बेलुकी प्रधानमन्त्री मोदीलाई भेटेका थिए । यो भेटको फोटो सार्वजनिक भएपछि मानिसहरुले सामाजिक संजालमा यसको निकै मजा लिए । केहीले त झुनझुनवालालाई कसैले इस्त्री देउ सम्म भने ।

राकेश झुनझुनवाला भारतको शेयर बजारमा ठूला र दिग्गज लगानीकर्ता हुन् । मानिसहरु उनलाई बिग बुल भन्छन् । उनका एक–एक कदममा करोडौं लगानीकर्ताको नजर हुन्छ । राकेशले जुन शेयरमा लगानी गर्छन् त्यो शेयरको मूल्य आकाशिन्छ । यतिमात्र होइन उनकै देखासिकी गरेर उनकै बाटो पच्छ्याउँदै शेयरमा लगानी गर्नेहरु कैयौं धनी भएका छन् । देशका कम्पनीहरुमा ठूलो लगानी गरेका झुनझुनवालाले अब एयरलाइन्स कम्पनी सुरु गर्दैछन् । उनीसँग भेटको फोटो स्वयं मोदीले ट्वीट गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *