पाकिस्तानको सबैभन्दा महत्वपूर्ण खुफिया एजेन्सीका प्रमुख फेरिए, सेनामा पनि ठूलो परिवर्तन

डिसी नेपाल
२१ असोज २०७८ १०:२५

काठमाडौं। पाकिस्तानी सेनाको जनसम्पर्क विभागका अनुसार लेफ्टिनेन्ट जनरल नदीम अहमद अंजुमलाई देशको सबैभन्दा महत्वपूर्ण खुफिया एजेन्सी इन्टर सर्भिसेज इन्टेलिजेन्स (आइएसआइ)को प्रमुख बनाइएको छ । यो पदमा नियुक्त हुनुभन्दा पहिले उनी कराचीका कोर कमाण्डर पदमा थिए ।

लेफ्टिनेन्ट जनरल नदीम अंजुमले अब लेफ्टिनेन्ट जनरल फैज हमीदको स्थान लिनेछन् । करिब अढाइ वर्षसम्म यो पदमा रहेका फैज हमीदलाई पेशावरमा ११ औं कोरको कमाण्डर नियुक्त गरिएको छ । आइएसआइको नयाँ महानिर्देशक नियुक्त गर्नुका साथै पाकिस्तानको सेनामा पनि उच्च स्तरीय परिवर्तन गरिएको छ ।

२८ औं पंजाब रेजिमेन्टका लेफ्टिनेन्ट जनरल नदीम अंजुमलाई सेनामा कडा र शान्त स्वभावका अधिकारीको रुपमा चिनिन्छ । उनी ७७ औं लंग कोर्सबाट आएका हुन् । ब्रिग्डियर रहँदा उनले सैन्य अभियानका क्रममा लांडी कोटलमा ब्रिगेडको नेतृत्व गरे र उनी कराची कोरमा चीफ अफ स्टाफको रुपमा पनि तैनाथ रहिसकेका छन् ।

उनले रोयल कलेज अफ डिफेन्स स्टडिजबाट अध्ययन गरेका हुन् । यसअघिका सैनिक शासक तथा पूर्व राष्ट्रपति परवेज मुशर्रफ र जनरल राहील शरीफले पनि यही कलेजबाट अध्ययन गरेका हुन् । यो कोर्सपछि अंजुम इन्स्पेक्टर जनरलको रुपमा एफसी बलुचिस्ताननर्थमा नियुक्त भए र केही समयको लागि त्यहीँ लेफ्टिनेन्ट जनरलको रुपमा कमाण्डेन्ट स्टाफ कलेज पनि रहे । कराचीमा सेनाले आइजी सिंको अपहरण गरेको कथित घटनापछि उनलाई लेफ्टिनेन्ट जनरल हुमायुं अजीजको स्थानमा कराचीको कोर कमाण्डर नियुक्त गरिएको थियो ।

पर्यवेक्षकहरुका अनुसार आइएसआइले राजनैतिक र सैन्य दुवै स्तरमा काम गर्छ र आफ्नो इनपुट दिन्छ । आइएसआइका पूर्व महानिर्देशक लेफ्टिनेन्ट जनरल जावेद अशरफ काजीका अनुसार आफ्नो संगठनको हदभित्र आइएसआइका महानिर्देशक निकै शक्तिशाली हुन्छन् ।

‘आइएसआइको महानिर्देशकले एजेन्टहरु आफ्नो संगठनभित्र राख्न सक्छ, उनीहरुलाई हटाउन सक्छ र उनीहरुलाई सेनामा फिर्ता पठाउन सक्छ र उनीहरुलाई पोस्ट आउट गर्न सक्छ । तर जहाँसम्म एजेन्सीभन्दा बाहिरको प्रश्न छ त्यहाँ भने आइएसआइ प्रमुखको शक्ति प्रधानमन्त्री र सेना प्रमुखसँग उसको सम्बन्धमा निर्भर गर्छ’ उनले भने ‘प्रधानमन्त्री उनलाई पदबाट हटाउन सक्छन् र सेनामा त सबैभन्दा बलियो सेना प्रमुख नै हुन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *