भारतको सुरक्षा सम्झौतामा अमेरिकाले आपत्ति जनायो, भारतमाथि प्रतिबन्धको आशंका बढ्यो

डिसी नेपाल
२१ असोज २०७८ १२:४२

काठमाडौं। भारतले रुससँग एस–४०० मिसाइल प्रतिरोध प्रणाली खरिद गर्ने निर्णय गरेकोप्रति अमेरिकाले आपत्ति जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनकी एक बरिष्ठ अधिकारीले बुधबार पत्रकारहरुसँग कुरा गर्दै रुससँग ‘एस ४०० ट्रायम्फ’ मिसाइल रक्षा प्रणाली खरिद गर्ने निर्णय दुई देशबीतको सम्बन्धमा ‘समस्या’ बनेर अगाडि आएको बताएकी छिन् । उनले यो सम्झौता सुरक्षाको हिसाबले कसैको हितमा नभएको बताइन् ।

द हिन्दूको रिपोर्टअनुसार अमेरिकाकी उपविदेशमन्त्री वेन्डी शर्मनले नयाँ दिल्लीमा पत्रकारहरुसँग कुरा गर्दै भनिन् ‘जुन पनि देशले एस–४०० को प्रयोग गर्ने निर्णय गर्छ ती देशहरुको विषयमा हाम्रा नीतिहरु यसअघि नै सार्वजनिक रहेका छन् । हामीलाई लाग्छ कि यो खतरनाक छ र यो कसैको पनि सुरक्षाको हितमा छैन ।’ उनले एस–४०० प्रयोग गर्ने देशहरुसँग अमेरिकाले यसअघि जस्तो नीति लिएको थियो भारतसँग पनि उस्तै नीति लिने बताएकी हुन् ।

वेन्डी शर्मनको यो भनाइसँगै अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउन सक्ने आशंका बढेको छ । अमेरिकाले यसअघि रुसको एस–४०० मिसाइल प्रतिरक्षा प्रणाली खरिद गरेका कारण टर्कीमाथि प्रतिबन्ध लगाइसकेको छ । उप विदेशमन्त्री शर्मनको ‘अमेरिकाको नीति स्पष्ट रहेको’ भनाइले भारतमाथि पनि प्रतिबन्ध लाग्न सक्ने आशंका बढेको हो । यद्यपि उनले भारत र अमेरिकाको सम्बनध बलियो भएकोले यो विषय आपसमा सुल्झाइने आशा व्यक्त गरिन् ।

स्रोतका अनुसार वेन्डी शर्मनले भारतीय विदेश सचिव हर्ष श्रृंगलासँग पनि यस विषयमा कुरा गरेकी थिइन् । भारतीय रक्षा सचिव अजय सि.ह पनि अमेरिकी रक्षा नीति समूहको बैठकका लागि छिटै वाशिङटन जाँदैछन् । त्यहाँ पनि यो विषयमा चर्चा हुनेछ । अमेरिकाले यसअघि पटक पटक भारतले रुससँग गरेको यो सम्झौताले अमेरिका–भारत रक्षा साझेदारी खतरामा पर्न सक्ने बताउँदै आएको छ । वेन्डी शर्मनका अनुसार भारतमाथि प्रतिबन्ध लगाउने विषयमा निर्णय राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिंकनले गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *