जसले १४ वर्ष पहिले बचाएका थिए उनैको काखमा चर्चित माउन्टेन गुरिल्ला नदाकासीको मृत्यु

डिसी नेपाल
२१ असोज २०७८ १४:२१

काठमाडौं। आफ्ना ‘आजीवन मित्र’को काखमा चर्चित माउन्टेन गुरिल्ला नदाकासीको मृत्यु भएको छ । माउन्टेन गुरिल्ला नदाकाशी एउटा सेल्फीका कारण चर्चित भएकी थिइन् । पूर्वी कंगोको विरुंगा नेशनल पार्कमा २०१९ मा पार्क रेन्जर म्याथ्यु शामवुले सेल्फी खिच्ने क्रममा पोज दिएपछि यो माउन्टेन गुरिल्लाको चर्चा बढेको थियो । नदाकासीले नेशनल पार्कका पार्क रेन्जर आन्द्रे बाउमाको काखमा अन्तिम सास लिएकी हुन् ।

सीएनएनको रिपोर्टअनुसार नदाकासीको १४ वर्षको उमेरमा मृत्यु भएको हो । उनलाई विरुंगा नेशनल पार्कका रेन्जरले त्यतिबेला बचाएका थिए जतिबेला नदाकासी मात्रै २ महिनाकी थिइन् । नदाकासीलाई आफ्नी आमाको मृत शरीरमा टाँसिएर बसेको अवस्थामा फेला पारिएको थियो । उनकी आमालाई घण्टौं पहिले सशस्त्र मिलिसियाका व्यक्तिहरुले गोली हानेर मारिदिएका थिए । नदाकासीलाई पछि विरुंगा नेशनल पार्कको सेनक्वेकवे सेन्टरमा अर्को एक अनाथ गुरिल्ला नेडेजसँग राखिएको थियो ।

२०१९ मा यो गुरिल्लाको जोडीले पार्क रेन्जर म्याथ्यु शामवुले सेल्फी खिच्ने क्रममा पछाडि पोज दिएर निकै चर्चित बनेका थिए । सेनक्वेकवे सेन्टरमा एक दशकभन्दा धेरै समय बिताएपछि सबैकी प्रिय बनेकी गुरिल्लाको लामो रोगका कारण मृत्यु भएको हो । नदाकासीको आन्द्रे बाउमाको काखमा मृत्यु भयो ।

१४ वर्ष पहिले उनै बाउमाले नदाकासीलाई बचाएका थिए । आफ्नो अन्तिम समयमा पनि बाउमाले नदाकासीलाई अंगालोमा बाँधेर राखेका थिए । विरुंगा नेशनल पार्कले नदाकासीको अन्तिम तस्वीर जारी गरेको छ । नदाकासीको मृत्युपछि बाउमाले भनेका छन् ‘यस किसिमको प्रेम गर्ने प्राणीलाई सहयोग गर्नु र उसलाई सहयोग गर्नु सौभाग्यको कुरा थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *