काबुलमा विमानस्थलमा आत्मघाती विष्फोट गराउनेलाई तालिबानले जेलमुक्त गरेको थियो

डिसी नेपाल
२१ असोज २०७८ १६:११

काठमाडौं। काबुल विमानस्थलमा आत्मघाती बम विष्फोट गराएर १७० जनाभन्दा धेरैको ज्यान लिने आइएसआइएस–केका आत्मघाती आक्रमणकारीलाई केही दिनअघि मात्र तालिबानले जेलबाट छोडेको खुलासा भएको छ । यो विष्फोटमा १३ जना अमेरिकी सैनिक पनि मारिएका थिए ।

२ अमेरिकी अधिकारीले बताएअनुसार यो नरसंहार गर्ने आतंकवादीलाई बागराम एयरबेसको परवान जेलबाट छाडिएको थियो । अमेरिकी सेनाले यो एयरबेस छाडेर बाहिरिएपछि तालिबानले यो जेलका सबैलाई छाडिदिएको थियो ।

अगष्ट २७ का दिन २ जना आइएसआइएस–केका २ जना आतंकवादीले काबुल विमानस्थलको अबे गेटमा आत्मघाती विष्फोट गराएका थिए । त्यतिबेला यहाँ विमानस्थल भित्र पस्न अफगानीहरुको भीड लागेको थियो र अमेरिकी सैनिकले सुरक्षा जाँच गरिरहेका थिए ।

सीएनएनले गरेको खुलासाअनुसार यसरी आत्मघाती विष्फोट गराउने २ जनामध्ये एक जना जेलबाट छुटेका थिए । बागरामको परवान जेल र काबुलनजिकैको पुल ए चर्खी जेलमा ठूलो संख्यामा आइएसआइएस केका आतंकवादी राखिएका थिए । तालिबानले दुवै जेल खाली गराएको थियो ।

जेलबाट छुटेको ११ दिनपछि यिनैमध्येका एक कैदीले अबे गेटमा आत्मघाती विष्फोट गराए । यसको केही दिनपछि अमेरिकाले ड्रोन आक्रमणमा यो आत्मघाती आक्रमणका मुख्य योजनाकारलाई मारेको दावी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *