नेपालको प्रथम साइबर सेक्योरिटी जर्नल प्रकाशन हुँदै

डिसी नेपाल
२१ असोज २०७८ २०:४९

काठमाडौं। साइबर सेक्योरिटी रिसर्च एण्ड इनोभेसन केन्द्र नेपाल (सीएसआरआई) र नेपाल कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (एनपीसर्ट) को संयुक्त आयोजनामा नेपालकै प्रथम अन्तर्विषयक पियर रिभियु साइबर सेक्योरिटी जर्नल प्रकाशन हुने भएको छ ।

बढ्दो अनलाइन कारोबार र सूचना प्रबिधि क्षेत्रमा देखा परेका नविनतम सेवा सुबिधा संगसंगै थपिएका सांगठनिक, व्यवसायिक एवं राष्ट्रिय साईबर सुरक्षा चुनौतीहरुलाई अवसरमा बदल्न अनुसन्धान मार्फत नेपाललाई आवश्यक पर्ने साईबर सुरक्षा एवं प्रतिरक्षा नीति, जनशक्ति, प्रविधि, व्यवस्थापकिय तथा कानूनी ज्ञान आवश्यक रहेकोले साईबर सेक्योरिटी जर्नल प्रकाशन गर्न लागिएको जानकारी उक्त जर्नलका प्रधान सम्पादक डा.राजिब सुब्बाले दिएका छन्।

जर्नलको मुख्य उद्देश्य साईबर सेक्योरिटी एवं सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत विज्ञ, जनशक्ति तथा विश्वविधालयका बिद्यार्थीहरुलाई आफ्नो कार्य वा शोधपत्र प्रकाशन गर्ने, विज्ञहरुको पृष्ठपोषण लिने र शोधपत्र प्रशारण गर्ने उदेश्य रहेको डा.सुब्बाले बताए।

जर्नलमा सूचना प्रबिधि क्षेत्रमा देखिएका जोखिम व्यवस्थापन, साईबर हाइजिन, साईबर सेक्योरिटी रणनीति, साइबर डिफेन्स, साइबर कानून, साईबर आपतकालिन रेस्पन्स केन्द्र, डिजिटल फोरेन्सिक, संगठनिक एवं व्यापार निरन्तरता र विपत उद्धरण, आइओटि, ब्लकचेन, बिश्वका बिकसित मुलुकका अभ्यासहरु आदि सम्बन्धमा अनुसन्धानमुलक लेख रचनाहरु आव्हान गरिएको छ ।

नेपाल कम्प्युटर इमर्जेन्सी रेस्पन्स टिम (एनपीसर्ट) का अध्यक्ष एवं उक्त जर्नलका प्रबन्ध निर्देशक चिरञ्जीवी अधिकारीका अनुसार।त्रिभुवन विश्वबिद्यालय मार्फत डिजिटल अब्जेक्ट पहिचान तथा आइएसएसनम्बर प्राप्त गरि आगामी छ महिना भित्र जर्नल प्रकाशन गरिने छ ।

सीएसआरआई नेपालका अध्यक्ष प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा र संचार तथा सूचना प्रबिधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तको प्रमुख आतिथ्यता असोज २० गते समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अथिती समेत रहेका दत्तले साईबर सेक्योरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त सहकार्यमा साइबर सेक्योरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेक्योरिटी जर्नल साइबर सुरक्षा चुनौती ब्यबस्थापन र अवसर सिर्जना गर्न कोशे ढुंगा साबित हुने बताएका छन्।

कार्यक्रमको अध्यक्षता गरेका प्रा.डा.सुवर्ण शाक्यले साईबर सेक्योरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त सहकार्यमा साइबर सेक्योरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नल साईबर सुरक्षा क्षेत्रमा अन्तराष्ट्रिय स्तरमै अब्बल जर्नल बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *