गरिब अफगानीहरुको लागि आकाशबाट पैसाको वर्षा हुने

डिसी नेपाल
२३ असोज २०७८ १२:१२

काठमाडौं। अफगानिस्तानमा गरिब नागरिकहरुको लागि आकाशबाट पैसाको वर्षा हुने भएको छ । अफगानिस्तानका २०२२ को अन्त्यसम्म ९७ प्रतिशत नागरिक गरिबीको रेखामुनि झर्न सक्ने संयुक्त राष्ट्रसंघको रिपोर्ट सार्वजनिक भएको अवस्थामा यहाँका गरिबहरुका लागि पश्चिमी देशहरुले यस्तो विचित्र योजना तयार पारेका हुन् । अफगानी नागरिकहरु खाना जुटाउनका लागि घरका सामानहरु बेच्न बाध्य भएको अवस्थामा तालिबानलाई बाइपास गरेर सिधै अफगानी नागरिकसम्म आर्थिक सहायता पुर्याउन यस्तो योजना बनाइएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अन्तर्राष्ट्रिय अधिकारीहरुले पैसा एयरलिफ्ट गरेर अफगानी जनतासम्म लैजाने योजना बनाइरहेका छन् । यो योजना कार्यान्वयन भयो भने आगामी दिनमा अफगानी नागरिकको लागि आकाशबाट पैसा बर्सिने उखास यथार्थमा परिणत हुनेछ । तालिबान सरकारलाई संलग्न नगराइ बैंकिङ प्रणाली पनि प्रयोग नगरी अमेरिकी डलरका नोटहरु हेलिकप्टर वा जहाजमा बोकेर सिधै अफगानी जनताको हातमा पुर्याइनेछ ।

२ बरिष्ठ अधिकारीहरुले रोयटर्ससँग कुरा गर्दै बताएअनुसार अफगानिस्तानलाई आर्थिक सहयोग गर्ने देशहरु तत्कालको लागि मानवीय संकट रोक्नको लागि हावाको बाटोबाट नगद पठाउनुका साथै एक ट्रस्ट फंडको पनि निर्माण गर्न चाहन्छन् । यो फंडबाट त्यहाँका कर्मचारीलाई पारिश्रमिक र अस्पताल तथा स्कुलहरु बिना अवरोध संचालन गर्ने प्रयास पनि जारी राखिनेछ ।

अहिले पनि केही विदेशी कूटनीतिक नियोगले अफगानिस्तानलाई सहयोग गर्ने प्रयास गरिरहेका छन् । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले १ लाख १० हजार डलर नगद सहयोग गरेको थियो । एक बरिष्ठ कूटनीतिज्ञका अनुसार अफगानी जनतालाई २ किसिमले सहयोग गर्ने प्रयास भइरहेको छ । पहिलो योजनाअनुसार डब्लुएफपीले सिधै जनतालाई नगद बाँडिरहेको छ ताकि गरिब जनताले त्यो पैसाले खाना किन्न सकुन् । यो अहिले सानो स्तरमा भइरहेको छ र छिटै ठूलो स्तरमा गर्ने तयारी छ ।

यसका अलावा दोस्रो योजनामा संयुक्त राष्ट्रसंघले अफगानिस्तानका स्थानीय बैंकमा नगद पठाउनेछ जो संयुक्त राष्ट्रसंघका कर्मचारी र अन्य गैर सरकारी संस्थाका कर्मचारीको पारिश्रमिकमा खर्च हुनेछ । पछिल्लो केही समययता विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अमेरिकी केन्द्रीय बैंकले अफगानिस्तानको अन्तर्राष्ट्रिय कोषमा पहुँच अन्त्य गरेका छन् । यसका कारण अफगानिस्तान सरकारले निकै कठिनाइको सामना गर्नु परिरहेको छ ।

अल जजीराका अनुसार अफगानिस्तानमा कैयौं बैंक खुलिसकेका छन् तर पैसा नभएका कारण यी बैंकले हप्तामा २३२ डलरको सीमा तोकेका छन् । पछिल्लो केही समययता सयौं मानिसहरु बैंकबाट पैसा बाहिर निकाल्न संघर्ष गरिरहेका छन् । तर, अफगानिस्तानमा ठूलो संख्यामा यस्ता मानिसहरु पनि छन् जो बैंकसम्म जान सक्दैनन् । अहिले उनीहरु आफ्नो घरका सामान बेचेर खानेकुराको बन्दोबस्त गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *