तालिबान र अमेरिकाबीच वार्तामा के–के कुरा भए ?

डिसी नेपाल
२४ असोज २०७८ १०:५३

काठमाडौं। यही वर्ष अगष्ट महिनामा अमेरिकी सैनिकले अफगानिस्तान छाडेपछि तालिबानले देश आफ्नो नियन्त्रणमा लिएको थियो । केही दिनपछि नै त्यहाँ नयाँ सरकारको घोषणा पनि गरियो । यो पूरै घटनाक्रमपछि हिजो शनिबार पहिलो पटक अमेरिका र तालिबानबीच प्रत्यक्ष वार्ता भएको छ । अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि तालिबान र अमेरिकाबीच यो पहिलो वार्ता थियो ।

अमेरिका र तालिबानका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अमेरिकी खुफिया एजेन्सी सीआइएका उपनिर्देशकको अध्यक्षतामा एक उच्चस्तरीय प्रतिनिधिमण्डलले कतारको राजधानी दोहामा तालिबानका अधिकारीहरुसँग शनिबार बार्ता गरेका हुन् ।

अमेरिकी अखबार वाशिङटन पोस्टका अनुसार अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले वार्तामा विदेशी नागरिकहरुको अफगानिस्तानबाट सुरक्षित निकासी, तालिबान सरकारलाई समावेशी बनाउने र महिला अधिकारको सम्मान जस्ता मुद्दाहरुमा कुरा भएको बताएका छन् । वार्ता आइतबार पनि जारी रहनेछ ।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले वाशिङटन पोस्टसँग नाम नबताउने शर्तमा यो बैठक तालिबानलाई मान्यता दिने विषयमा नभएको बताए । ती अधिकारीले तालिबानले मान्यता उसको कामको आधारमा पाउने र अहिलेसम्म उसले यस्तो केही काम नगरेको बताएका छन् । तालिबानको प्रतिनिधिमण्डलको अध्यक्षता विदेश मन्त्री आमिर खान मुत्तकीले गरिरहेका छन् ।

टिआरटी वर्ल्डको रिपोर्टअनुसार तालिबानले यो बैठकमा अफगानिस्तानको वर्तमान तालिबान सरकारलाई अस्थिर बनाउने प्रयास नगरियोस् भनेको छ । टिआरटीका अनुसार तालिबानको अन्तरिक सरकारका विदेश मन्त्री आमिर खान मुत्तकीले भनेका छन् ‘अमेरिका सरकारलाई अस्थिर बनाउने प्रयास नगरोस् ।’ मुत्तकीको यो बयान यस्तो समयमा आएको छ जतिबेला २० वर्षसम्मको युद्धपछि अमेरिकी सेना अफगानिस्तानबाट फर्किइसकेको छ ।

दोहामा यो बैठकपछि मुत्तकीले अफगानिस्तानको सरकारी समाचार एजेन्सी बख्तरसँग कुरा गर्दै अफगानिस्तानमा सरकारलाई अस्थिर बनाउने कोसिस गर्नु कसैको लागि पनि राम्रो नरहेको बताए । उनले अफगानिस्तानसँग राम्रो सम्बन्ध राख्नुमा नै सबैको भलाइ भएको बताए । उनले भने ‘अफगानिस्तानको वर्तमान सरकारलाई कमजोर गर्ने गरी केही पनि गरिनु हुँदैन जसबाट मानिसहरुलाई समस्या होस् ।’

तालिबान सरकारका विदेशमन्त्री मुत्तकीको यो बयान दोहामा अमेरिकी विदेश मन्त्रालयका कार्यवाहक विशेष प्रतिनिधि टम वेस्ट र शीर्ष युएसएआइडी अधिकारी साराह चार्ल्ससँग हुने २ दिनको बैठकको पहिलो दिन आएको हो ।

अमेरिकी अधिकारीहरुले बैठकमा तालिबानसँग आतंकवादी समूहलाई रोक्ने, अमेरिकी नागरिकलाई निकाल्ने र मानवीय सहायता जस्ता मुद्दामा चर्चा गरे । उनीहरुले अमेरिकाले कोरोना महामारीविरुद्ध खोप अभियानमा अफगानिस्तानलाई सहयोग गर्ने बताए ।

तालिबान सरकारका विदेश मन्त्री मुत्तकीले भने ‘हामीसँग प्रतिबद्धता गरिएको छ कि दुवै देशबीचको सम्बन्ध राम्रो रहनेछ ।’ मुत्तकीले संवाददाताहरुसँग कुरा गर्दै भने ‘तालिबान अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सम्बन्ध सुधार्न चाहन्छ तर कुनै पनि देशलाई आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अनुमति दिइने छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *