परदेशीको दसैंं

रिता बस्नेत
२६ असोज २०७८ ८:२७

काठमाडौं। कोरोना संक्रमणका कारण अघिल्लो वर्ष ठप्प जस्तै बनेको हिन्दुहरुको महान चाड वडादसैंँ यस वर्ष भने केही चहलपहल बढेको छ। धेरैजनाले कोरोना खोप लगाएका कारण निर्धक्क भएर यस वर्षको दसैंं मनाउने तरखरमा छन्।

विभिन्न जिल्लाबाट काठमाडौंलगायत ठूला सहरहरुमा कर्म गर्दै आएका प्राय परिवारहरु दसैंं मनाउन आ–आफ्नो गाउँघर तिर लागेका छन्। र, यतिबेला सहरहरु सुनसान बनेका छन्।

त्यसैगरी, परदेशमा बसेका नेपालीहरु पनि यो दसैंँ आ–आफ्नै तरिकाले मनाउने तरखरमा छन्। कतिपय विदेशमा बसेका नेपालीहरु दसैंँ मनाउनकै लागि पनि विदा लिएर नेपाल आएका छन् भने कतिपय नेपाली दसैंँको मुखमा मनै खल्लो बनाएर विदेशिनु परेको छ।

विदेशमा बसेका प्राय नेपालीहरु परिवार भए परिवारसँग नत्र साथीभाइ मिलेर दसैंँ मनाउने गर्छन्। र, विदेशमा बसेर काम, कर्म गर्दै आएका कतिपय नेपालीहरुलाई भने दसैंँ आए नआएको पत्तै हुँदैन। उनीहरु फेसबुकका वालहरु हेरेर जानकारी लिने, खुशी हुने र चित्त बुझाउने गर्छन्।

आज डिसी नेपालले विदेशमा रहेका केही नेपाली युवाहरुलाई दसैंं कसरी मनाउनु हुन्छ त? भनेर सोधेको छ।

पवित्रा घिमिरे :  मलेसियामा आफ्नै व्यापार व्यवसाय गर्दै आएकी घिमिरे मलेसिया बसेको १२ वर्ष पुगिसक्यो। तर, उनी नेपाल आउने जाने गरिराख्छिन्। कोरोना संक्रमण फैलिएपछि भने उनी नेपाल आउन पाएकी छैनन्।

विदेश बसेको १२ वर्षभित्रमा दसैं नमनाएको झण्डै १२ वर्ष नै पुगेको उनले बताइन्। त्योबीचमा छोरीहरुसँग बसेर एक पटक तिहार भने मनाएको उनले सुनाइन्।

उनी भन्छिन्, ‘दसैं तिहार बिर्सिसके जस्तै भइसक्यो, अब त्यति रहर पनि लाग्दैन । आफ्नो परम्परा भएकाले र धर्ममा धेरै विश्वास पनि गर्छु। तर, यता बसेकाले यतैको पारामा चल्यो, त्यही भएर के आयो के गयो भने जस्तै भइसक्यो।’

यस पटकको दसैंमा बााध्यतावस आउन नपाएको सुनाउँदै उनले जन्मदिने आमा निक्कै बिरामी हुनु भएकाले धेरै नै चिन्ता लागेको बताइन्।

उनी भन्छिन्, ‘उदयपुरमा मेरो ममी धेरै बिरामी हुनुहुन्छ । यो दसैंसम्म बाच्नु हुन्छ कि हुन्न भन्ने अवस्थामा हुनुहुन्छ । दसैंमा आएर आमालाई भेट्ने एकदमै मन थियो तर मलेसियाबाट एकहोरो टिकट काट्न मिल्छ, दोहोरो काट्न मिल्दैन । किनभने यहाँको इमिग्रेसनसँग हामीले पहिल्यै एउटा लेटरपेपर लिनुपर्ने हुन्छ, उता(नेपाल)बाट आउछु भनेर । त्यही भएर अल्झिराखेको छ ।’

कोरोनाका कारण अहिले प्राय देशबाट दोहोरो (आउजाउको) टिकट काट्न मिल्दैन। उनी भन्छिन्, ‘उता (नेपाल) बाट पहिलेको जस्तै दोहोरो टिकट सहज लिन मिल्ने भइदिएको भएदेखि म एकहप्ताको लागि मात्रै भएपनि टिकट काटेर आउँथे। यताबाट जान सहज छ, नेपालबाट आउन अहिले पाइँदैन। कति छुट्टि गएका मान्छेहरु नेपालमा अबर परेका छन्।’

आमाको हातको टीका र आर्शीवाद लिन मन भएपनि बााध्यतावस यसपटकको दसैंमा नेपाल आउन नपाएको गुनासो गर्दै उनी सानोमा बुबा आमाले निधारभरि रातो टीका लगाइदिएर पिङ खेल्न गएको, ओल्लोपल्लो घर गएको याद आउने गरेको बताउँछिन्।

घिमिरे भन्छिन्, ‘सानोमा आर्शीवाद भन्दा पनि पैसा, नयाँ लुगाको महत्व हुन्थ्यो। अहिले बुझ्ने भइयो, मेरो आमा यो दसैंं सम्म बाचिदिनु भयो भने मैले अन्तिममा आमाको हातको आर्शिवाद लिन पाउथे भन्ने मात्रै छ।’

उनले प्रत्येक वर्षको दसैं, तिहारमा परिवारसँग भिडियो कल गर्ने गरेको बताइन्। उनले सुरुसुरुमा कम्पनीमा काम गर्दा होस्टलका साथीहरु मिलेर खानपिन गरी दसैं मनाउने गरेको तर अहिले मलेसियामा आफ्नै पसल भएकाले सामानहरु बेच्नमा व्यस्त भएकोले परदेशीलाई के दसैं, के तिहार जस्तै भएको सुनाइन्।

उनी भन्छिन्, ‘साथीभाई मिलेर खानपिन गरिन्छ तर यहाँ मैले दसैंको टीका चाहिँ लगाएको छैन। टीका नलगाइ बस्दा अलिकति नराम्रो त लाग्छ नै । नानीहरु(छोरीहरु)लाई टीका नलगाएको पनि १२ वर्ष भयो।’

दसैंमा परिवारसँग आर्शीवाद लिनदिन र रमाइलो गर्न नपाउँदा विदेशमा खल्लो लाग्ने गरेको बताउने उनी गुनासो गर्दै भन्छिन्, ‘कल, कारखाना, उद्योग, व्यवसाय हाम्रो नेपालमा राम्रो थियो, नेताहरु राम्रा थिए भने गुन्द्रुक र भातै खाएर भएपनि आफ्ना छोराछोरी, परिवारसँग बस्न पाइन्थ्यो। यो त एउटा बेरोजगारीको कारणले न हो, यसरी नेपाल छोडेर प्रवासमा बस्नु परेको।’

दिपक जंग राउत  :  चार वर्षदेखि मलेसियास्थित एक सुपरमार्केटमा काम गर्दै आएका मोरंगका दिपक जंग राउतले भने अघिल्लो दसैंमा साथीको कोठामा गएर दसैं मनाएको बताए। उनी भन्छन्, ‘यसपालीको दसैंमा विदा पर्यो भने साथीभाइ मिलेर जमघट गरेर बस्छौं होला।’

चार–चार वर्षसम्म दसैं नमनाएकाले दसैं कस्तो हुन्छ भन्ने कुरा नै बिर्सिसकियो होला?, भन्ने जिज्ञासामा राउत भन्छन्, ‘बिर्सिन त बिर्सिदैन बच्चैदेखि खुसी हुँदै मनाउँदै आएको। सायद बानी परेर होकी बरु त्यही दिन चाहीँ धेरै नरमाइलो लाग्छ। सबैको निधारमा रातो टीका हुँदा, आफ्नो नहुँदा अलि खल्लो लाग्छ।’

‘घरपरिवार छोड्नुको पीडा, आफन्त छुट्नुको पीडा, आमाबुबाको विछोड यी सब परदेशीलाई कस्तो लाग्छ भन्नै पर्दैन नि’, गुनासो गर्दै उनी भन्छन्, ‘टीकाको दिन भिडियो कल गरेर घर परिवारले दसैं मनाएको हेर्ने गर्छु। भिडियोबाट ममी बुबाले अरुलाई टीका लाइदिनु हुन्छ, त्यही हेर्ने गर्छु।’

उनले विदेशमा आएको बेलामा सुरुसुरुमा त धेरै दुःख लागेको तर अहिले भने बानी परेकाले अलिअलि दुःख लाग्ने गरेको बताए। उनी भन्छन्, ‘फेसबुकमा फोटोहरु आउछ, कोठा, घर, गाउँघरमा स–साना नानी बाबुले टीका लगाएको देख्दा रमाइलो लाग्छ।’

उनले यसपटकको दसैंमा टीकाको दिन सार्वजनिक विदा परेन भने काममा जाने र सार्वजनिक विदा पर्यो भने साथीहरुसँग कोठामै बसेर नेपालमा आफन्तले मनाउँदै गरेको दसैंको टीका लाइभ भिडियोमा हेर्ने बताए।

हस्तबहादुर बस्नेत :  तीन वर्षदेखि साउदीमा ड्राइभरको काम गर्दै आएका मोरंगका हस्तबहादुर बस्नेतले भने यसवर्षको दसैं पछि भने सधैँका लागि नेपाल आउने र दसैंलगायत चाडवाड मनाउने बताए। धेरै वर्ष विभिन्न देशमा बसेर काम गर्दै आएका उनी पछिल्लो वर्ष भने साउदीमा कार्यरत छन्।

उनले साउदीमा दसैं आए गएको नेपालमा भएको परिवारसँग फोनमा कुराकानीबाट थाहा हुने र फेसबुकमा टीका लगाएको फोटो हेरेर थाहा हुने बताए।

उनी भन्छन्, ‘यहाँ हाम्रो छुट्टी हुँदैन, कुन दिन टीका हो थाहा नै हुँदैन। फेसबुकमा टीका लगाएको फोटो देखेपछि दसैं रहेछ आज भन्ने हुन्छ। साउदीमा अन्य धर्मको चाडवाड मान्न दिदैँन यहाँको सरकारले, त्यही भएर छुट्टी नै हुँदैन। यहाँ सार्वजनिक विदा र इदमा मात्रै छुट्टी हुने हो।’
उनले यसवर्षको दसैंको टीकाको दिन गाडी गुडाउदैँ घरपरिवारलाई फोन गर्ने बताए। उनी भन्छन्, ‘हामी काम गर्न आएका दसैंमा छुट्टि लिएर पनि कहाँ टीका लगाउन जानु र? म टीकाको दिन पनि गाडी नै कुदाइराखेको हुन्छ ।’

झुमा मगर : ८ वर्षदेखि दुबईमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी मोरङकी झुमा मगर दसैंमा टीका लगाउने त परै जाओस् चिनेजानेका नेपाली साथीभाई समेत नभएको बताइन्। सुरुका दिनमा टीका लगाउन नपाउदा साह्रै नरमाइलो लाग्ने गरेको बताउने उनी आजभोलि भने दसैं आएगए पनि खासै पिर लाग्ने नगरेको सुनाइन्।

उनी भन्छिन्, ‘घरभित्रै काम गर्छु। घरबाहिर निस्किन मिल्दैन, भित्रै मात्र हो। साथीहरु पनि बोलाउन मिल्दैन र दसैं मनाउन नेपाली साथीभाइ पनि छैनन्।’

प्रत्येक दसैंको दिन घरमा आमाबुबा, बहिनी, भाईसँग कुराकानी गर्ने गरेको बताउँदै उनी भन्छिन्, ‘दसैंमा सबैसँग नेपालमा कुरा गर्छु । उताबाट टीका लगाइम भन्नुहुन्छ । अनि म लल राम्रोसँग मनाउनु भन्छु ।’

दसैंमा आफूले नै घरमा खर्च पठाउनु पर्ने भएकाले कहिलेकाहीँ दसैं नआए पनि हुन्थ्यो जस्तो लाग्ने गरेको गुनासो गर्दै उनी भन्छिन्, ‘पैसा हुँदा मात्रै दसैं, नहुँदा के को दसैं न, तिहार । घरमा टीकादेखि लिएर मासु खानेदेखि लिएर सबै खर्च मैले पठाइदिनु पर्छ । कहिले काहीँ त दसैं नआए पनि हुन्थ्यो जस्तो लाग्छ । आफू मनाउन पाइँदैन, पैसा चाहीँ खनखनी जान्छ ।’

विदेशमा कमाएको पैसा प्राय खान लगाउनमै खर्च हुने गरेको बताउने उनी भन्छिन्, ‘के गर्ने आफूले कमाएको माया लाग्छ। तरपनि खान लगाउन परिहाल्यो । अरुले खाएको लगाएको देख्दा र आफ्नो आमाबुबासँग नभएको देख्दा चित्त दुख्छ, अनि दिनु परिहाल्यो।’

अनुषा थापा : अष्ट्रेलिया पाँच वर्षदेखि पढ्दै काम गर्दै आएकी काठमाडौंकी अनुसा थापा भने प्रत्येक वर्ष ३–४ दिन विदा लिएर दसैं मनाउने गरेको बताइन् ।

उनले भनिन्, ‘दसैंमा हामी कहिले पनि काममा जाने गरेको छैन । यो पटक अष्ट्रेलिया सिड्नीका मान्छे गाउँतिर लकडाउनले आउन मिल्दैन । त्यही भएर धेरैजना हुँदैनौँ होला । हामी नेपालीहरु मिलेर रमाइलो गर्छौ, टीका पनि लगाउछौँ।’

नेपालमा आमा बुबा र आफन्तको हातको टीका नलगाएको पाँच वर्ष पुगेको सुनाउँदै उनी भन्छिन्, ‘पहिला पहिला त धेरै चिन्ता लाग्थ्यो अहिले त त्यति धेरै चिन्ता लाग्दैन । यसपटक बाबाममीलाई फोन गर्छु। आर्शिवादको लागि टीका लगाउने हो, फोनबाटै आर्शीवाद दिनु हुन्छ ।’

उनले यसपटकको दसैंमा तीन दिन विदा लिएको बताइन्। साथै, कोरोनाका कारण सिड्नीमा लकडाउन भएकाले उताबाट आउने साथीभाइ नहुनाले यसवर्षको दसैं खासै रमाइलो नहुने सुनाइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *