त्रिपालमुनि नै बित्ने भयो सुकुम्बासीको दसैँ

डिसी नेपाल
२७ असोज २०७८ १६:१६

झापा । विश्वकर्माले गत वर्ष आफ्नै घरमा दसैँ मनाएकी थिइन्। सुकुम्बासी धनमायाले वर्षभरि मजदुरी गरेर भए पनि विगतमा दसैँ धुमधामका साथ मनाउँथिन्। तर यसपटकको दसैँ उनका लागि दशा बनेर आएको छ। आफ्नो घर छैन। त्रिपालमुनि दसैँ बनाउनुपर्ने बाध्यता छ।

गत चैतमा धनमायाको टहरामा डोजर लाग्यो। त्यसयता उनी त्रिपालमुनि छिन्। ‘गत सालसम्म त आफ्नै घरमा दसैँ बनाएका थियौँ। सानै र सुकुम्बासी बस्तीमै भए पनि आफ्नै घर थियो,’ उनी भन्छिन्, ‘यसपालि त हाम्रा लागि दसैँ दशा रहेछ । दसैँ के आउनु र!’

विगतमा आफन्त बोलाएर दसैँ मनाउँथे सकुम्बासी बलबहादुर विश्वकर्मा। तर, यसपटक बस्ने घर छैन । सहरको कुरूप उपनाम दिएर दमक नगरपालिकाले उनको घरमा डोजर लगायो। पञ्चमुखी टोलका सात घर सुकुम्बासी एकै ठाउँमा त्रिपाल टाँगेर सामूहिक बसेका छन्। ‘यसपटक त आफन्त बोलाउन सक्ने अवस्था छैन । बोलाएर के खाने ? कहाँ बस्ने ?,’ बलबहादुर भन्छन्, ‘जीवनमा यस्तो बिजोग हुन्छ भन्ने पनि सोचेका थिइनँ ।’
नगरपालिकाले घर भत्काएपछि कमाएर खानसम्म सकेका छैनन्, सुकुम्बासीहरूले । वर्षौ दुःख गरेर टाउको लुकाउन बनाएको घर नगरपालिकाले भत्कायो । ‘घर भत्काएपछि काममा जानसक्ने अवस्था पनि रहेन,’ बलबहादुर भन्छन्, ‘लकडाउनले त्यसै ऋण लागेको थियो । तिर्न नपाउँदै घर भत्कायो । केही समय त सहयोग गर्नेले दाल, चामल दिए । त्यही खाएर अहिलेसम्म बसेका छौँ । दसैँमा यसले पुग्दैन।’

टहरमुनि केटाकेटी पनि छन् । उनीहरूले दसैँमा केही नदिएको भनेर अभिभावकलाई गुनासो गरिरहेका छन् । अभिभावक विवश छन्। उनीहरूको इच्छा पूरा गर्न सकेका छैनन्। ‘बजारमा दसैँमा नयाँ लुगा किन्नेको भिड छ । हाम्रा केटाकेटीले पनि यो देख्छन्। हामीलाई चाहिँ किन नकिनिदएको भनेर किचकिच गरिरहेका छ,’ सकुम्बासी राम लिम्बु भन्छन्, ‘हामीसँग जवाफ छैन। हामी ठूला त भोकै भए पनि कटाउँछौँ/कटाएका छौँ तर केटाकेटीलाई सम्झाउन निकै गाह्रो हुन्छ। अब दसैँमा मीठो मसिनो के खुवाउने भन्ने चिन्ता छ, हामीलाई।’

सुकुम्बासीका लागि चाडपर्व नआएकै राम्रो हुने बताउँछन् सुकुम्बासी बालकुमार राई । यसपटक दसैँ मनाउन सक्ने अवस्थामा नरहेको उनले बताए। ‘दसैँ पहिला त जसरी भए पनि भव्य मनाउँथ्यौँ । कम्तीमा छोराछोरीको रहर पूरा गथ्र्यौँ। काम गरेर पैसा छ भनेर त कहिले पुगेन । तर, कम्तीमा साहुले ऋण पत्याउँथे।
त्यही ऋण लिएर भए पनि दसैँ मनाउँथ्यौँ,’ उनले भने, ‘पछि साहुलाई बुझाउँथ्यौँ । तर, अहिले त साहुले घर–ठेगाना केही छैन भनेर पत्याउनै छाडे । दसैँ खल्लो भयो । बरू दसैँ नआएको भए अरू बेला जस्तै दुःख गरेर खाने थियौँ । अरूले मिठो मसिना खान्छन्, राम्रो लुगा लगाउँछन् । हाम्रा छोराछोरीलाई हामीले केही गर्न सकेनौँ ।’

पहिलो दसैँ पञ्चमुखी टोलका सुकुम्बासीले त्रिपालमुनि बिताए। राज्यले घरमा डोजर लगायो । तर, उनीहरूको व्यवस्थापनमा कुनै चासो दिएन। दमक नगरपालिका सकुम्बासीका लागि बनाएको एकीकृत बस्तीमा जान सुकुम्बासीलाई आग्रह गरिरहेको छ। उनीहरू संविधानले नै जग्गा धनीपूर्जाको व्यवस्था गर्ने भएकाले धनीपूर्जाविनाको एकीकृत बस्ती जान मान्दैनन्।

अझै कतिवटा दसैँ यही त्रिपालमुनि बिताउनुपर्ने हो टुंगो छैन, उनीहरूको। ‘अब यस्ता चाडपर्व त कति यही त्रिपालमुनि बिताउनुपर्ने हो थाहा छैन,’ सुकुम्बासी मनाहाङ्ग सुब्बा भन्छन्, ‘धेरैवटा दसैँ यसरी नै त्रिपालमुनि बिताउन तयार छौँ हामी। तर, हामीले पाउने अधिकार स्थापित गराएरै छाड्छौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *