केरलामा बाढीका कारण कम्तीमा २६ जनाको मृत्यु, कैयौँ शहर र गाउँसँग सम्पर्क विच्छेद
बीबीसी। दक्षिणी भारतीय राज्य केरलामा ठूलो वर्षाले निम्त्याएको बाढीका कारण अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ।
बाढीका कारण कैयौँ शहर तथा गाउँसँग सम्पर्क विच्छेद हुन पुगेको अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमध्ये पाँचजना बालबालिका पनि छन्। थुप्रै मानिस अझै हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।
बाढीले धेरै घर बगाएको छ। कोटायाम जिल्लामा मानिसहरू बाढीका कारण फस्न पुगेका विवरणमा जनाइएको छ। सोही क्षेत्रबाट प्राप्त भिडिओमा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गर्दै गरिएको दृश्य देखिन्छ।
केही दिनयता भएको ठूलो वर्षाले केरलामा घातक पहिरोहरू निम्त्याएको छ। अधिकारीहरूका अनुसार राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन्।
पहिरोका कारण फसेका मानिसहरूसम्म राहत सामग्री पुर्याउन हेलिकप्टर परिचालन गरिएको छ। बाढीका कारण फसेका कोलम र अन्य तटीय नगरका मानिसको उद्धारमा माछा मार्ने डुङ्गाहरूको प्रयोग भइरहेको छ।
कैयौँ ठाउँमा बाढीले सडक बगाएको छ र रूखका जराहरू उखेलिदिएको छ। बाढीपीडित एक महिलाले भनिन्, “धेरै क्षति भएको छ, घरहरू बगेका छन्। बालबालिकालाई गुमाएका छौँ।”
केरलामा ठूलो वर्षाले बाढी तथा पहिरो निम्याइरहन्छ। कुनै बेला बाढीविरुद्ध प्राकृतिक रक्षाकवचको रूपमा काम गर्ने गरेका सिमसार क्षेत्र तथा तालहरू बढ्दो शहरीकरण एवं संरचना निर्माणसँगै अहिले मासिएका छन्।
सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा करिब चार सय जनाको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment