कोलकातामा नेपालीको सामूहिक दुर्गापूजा
काठमाडौँ । प्रवासी नेपालीले कोलकाता महानगरीमा सामूहिक दुर्गापूजा उत्सव गरेका छन् । श्रीगोरखनाथ सेवा समितिको आयोजनामा कोलकाताका नेपालीले दुर्गापूजा सम्पन्न गरेका हुन् ।
४९ वर्षअघि स्थापित समितिको आयोजनामा कोलकाता कर्पोरेसनको छेउमा पण्डाल निर्माण गरी हिन्दू नेपाली रीतिरिवाज र शैलीमा मौलो पूजन, जमरा राख्ने र फूलपाती भित्र्याउने तथा टीका लगाउने जस्ता विधि पूरा गरिएको थियो ।
विजयादशमीको दिन बेलुका देवीको मूर्ति विसर्जन गरी पूजा कार्यक्रम सम्पन्न गरिएको थियो । फूलपाती समारोहका साथ सांस्कृतिक कार्यक्रम र ‘मौलो’ पत्रिकाको ३३औँ अङ्क विमोचन गरिएको थियो ।
समारोहमा नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, नेपाल पारवहन शाखा प्रबन्धक हिमनाथ पौडेल, भारतीय सेनाका कर्णेल महेश्वरसिंह गुरुङ, आयोजक समितिका अध्यक्ष अरुण पाण्डे, समितिका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ र सचिव नरविक्रम थापा, भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष राजु पाठक, उपाध्यक्ष बद्रीविक्रम थापा, संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घका महासचिव रामप्रसाद उपाध्याय, मौलोका प्रधान सम्पादक धनराज थापा, संयुक्त नेपाली वेलफेयर ट्रष्टका सभापति खिमराज बराल, जानकीमाता नेपाली धार्मिक सङ्घका सल्लाहकार मोहनसिंह कार्की, समितिका आजीवन सदस्य रामबहादुर कार्कीलगायतको सहभागिता थियो ।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment