११ लाख लिएर ४६ दिनमा आफन्तले बुझे सीता भण्डारीको शव

डिसी नेपाल
३ कार्तिक २०७८ १६:१८

काठमाडाैं। रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव ४६ दिनमा आफन्तले बुझेको छ । माइती पक्षलाई ११ लाख रुपैयाँ दिने सहमति भएपछि शव उठेको हो ।

आत्महत्या गरेको भनिएकी सीताको मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाएका थिएनन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत रुपन्देहीले मृतकका श्रीमान्, जेठाजु र आमाजूलाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ ।

उनीहरुलाई कारागार चलान गरेको करिब दुई साता बित्दा पनि माइती पक्षले आर्थिक लेनदेनको विषयमा कुरा नमिल्दा शव उठाउन मानेका थिएनन् । तर दुई पक्षबीच भएको छलफलमा ११ लाख माइती पक्षलाई दिने गरी सहमति भएपछि शव उठाएर तिनाउको मगरघाटमा दाहसंस्कार गरिएको हो ।

स्रोतका अनुसार सीताका माइती पक्षले घरतर्फ अर्थात् पौडेल परिवारबाट ११ लाख रुपैयाँको चेक बुझेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ स्थित गंगोलियामा एकजना मध्यस्थकर्ताको घरमा मंगलबार लिखित सहमति भएको थियो ।

तिलोत्तमाको कफी कम्पनी नजिकै गत १९ भदौमा २७ वर्षीया सीता भण्डारीको शंकास्पद मृत्यु भएको थियो । सीताको मृत्यु हत्या नभई आत्महत्याबाट भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोस्टमार्टम रिपोर्टले देखाएको थियो । तर माइती पक्षले हत्या नै भएको दावी गर्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले भने आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएपछि जिल्ला अदालतले श्रीमान् टीका पौडेल, आमाजू विष्णु पौडेल र जेठाजु हरिप्रसाद पौडेललाई दुरुत्साहनमा निर्दोष देखिएको भन्न नसकिने भन्दै पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

मंगलबार दुई पक्षबीच भएको सहमतिमा माइती पक्षले पौडेल परिवारबाट ११ लाख बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा हस्तक्षेप नहुने गरी कुनै आन्दोलन नगर्ने सहमति भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *