विश्वमै वेश्यावृत्तिको तेस्रो ठूलो केन्द्र मानिने देशमा वेश्यावृत्तिलाई अपराध घोषित गरिने

डिसी नेपाल
४ कार्तिक २०७८ १७:४०

काठमाडौं। स्पेनका राष्ट्रपति पेड्रो सान्चेजले देशमा वेश्यावृत्तिलाई अपराध घोषित गर्ने संकल्प लिएका छन् । उनले भ्यालेन्सियामा आफ्नो सत्तारुढ सोसलिस्ट वर्कर्स पार्टीको तीस्न दिवसीय सम्मेलनमा बोल्दै वेश्यावृत्तिमा रोक लगाउने शपथ लिए । सान्चेजले भने ‘यो यस्तो प्रथा हो जसले महिलाहरुलाई दास बनाउँछ र यो महिलाविरुद्ध हिंसाको सबैभन्दा खराब रुप हो ।’

१९९५ मा स्पेनमा वेश्यावृत्तिलाई अपराधको दायराबाट बाहिर राखिएको थियो । २०१६ मा संयुत्तः राष्ट्रसंघको एक अनुमान अनुसार स्पेनमा वेश्यावृत्तिको कारोबार ४.२ बिलियन डलरभन्दा धेरैको थियो । २००९ का एक सर्वेक्षण रिपोर्टका अनुसार स्पेनमा हरेक तेस्रो व्यक्ति यौनका लागि पैसा तिर्छन् । २००९ मै प्रकाशित अर्को एक रिपोर्टमा भने यो संख्या ३९ प्रतिशतसम्म बढेको हुन सक्ने बताइएको थियो ।

२०११ मा संयुक्त राष्ट्रसंघले स्पेनलाई वेश्यावृत्तिको विश्वकै तेस्रो ठूलो केन्द्र मानेको थियो । यो मामिलामा स्पेनभन्दा अगाडि थाइल्याण्ड र पोर्टो रिको मात्र थिए । स्पेनमा पैसाको बदलामा यौन सेवा लिनेहरुका लागि सार्वजनिक स्थलमा यौनकार्य गरिएको अवस्थामा बाहेक कुनै सजाय तोकिएको छैन । तर, यौनकर्मी र ग्राहकको बीचमा दलाली वा प्रतिनिधिको रुपमा काम गर्नु भने गैरकानुनी हो ।

देशमा वेश्यावृत्तिलाई वैध मानिएपछि यहाँ यो व्यवसाय तीब्र रुपमा बढेको छ । स्पेनमा करिब ३ लाख महिलाहरु वेश्यावृत्तिमा संलग्न छन् । २०१९ मा स्पेन पुलिसले ८९६ महिलाहरुलाई वेश्यावृत्तिको दलदलबाट मुक्त गराएको थियो । रिपोर्टका अनुसार यौनकर्मीको रुपमा काम गर्ने यी महिलाहरुमध्ये ८० प्रतिशतभन्दा बढी माफियाको बन्धनमा फसेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *