पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिर २१ गतेदेखि २३ गतेसम्म

डिसी नेपाल
५ कार्तिक २०७८ २०:४०

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौँमा नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो ।

‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ भन्ने नाराका साथ आयोजना गरिने सम्मेलनमा निजी आवास, सांस्कृतिक सम्पदा, सार्वजनिक पूर्वाधार पुनःनिर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत आयोजना गरिनेछ ।

सम्मेलनलाई लक्ष्यित गरी वेबसाइट पनि आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछि २०७२ साल असार १० गते पुनःनिर्मााण्का लागि अन्तरराष्ट्रिय सहयोग जुटाउन आयोजना गरिएको सम्मेलनकै जस्तो सहभागिता यसपटक पनि जुटाउन लागिएको जानकारी दिए ।

सम्मेलनले नेपाललाई सन् २०३० सम्ममा विपद् जोखिम मुक्त देशका रुपमा स्थापित गर्ने लक्ष्यलाई पूरा गर्न सहयोग गर्ने विश्वास गरिएको छ । प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणका अनुभव र सिकाइ भावी पुस्तालाई हस्तान्तरण गर्न अभिलेखीकराणको कामसमेत गरेको छ । सम्मेलन सफल बनाउन प्राधिकरणले ध्यान केन्द्रित गरेको सचिव सुशीलचन्द्र तिवारीले जानकारी दिए ।

आगामी पुस ९ गते छ वर्षे कार्यकाल सक्न लागेको प्राधिकरणले पुनः निर्माणका बाँकी काम विषयगत कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । प्राधिकरणले नै गरिरहेका केही काम भने त्यस अवधिमै सक्ने गरी तयारी भएको छ । प्राधिकरणले अहिले लेखापरीक्षणको काम गराइरहेको जनाइएको छ ।

सम्मेलन आयोजक समितिका संयोजक एवम् प्राधिकरण कार्यकारी समितिका सदस्य डा चन्द्रबहादुर श्रेष्ठले राजनीतिक दल, सञ्चारकर्मी र दातृ निकायले भूकम्पपछिको पुनःनिर्माणलाई कसरी हेरेका छन् भनी छुट्टाछुट्टै सत्र राख्न लागिएको जानकारी दिए । सम्मेलनमा विषय विज्ञ, स्वदेशी तथा विदेशी पाहुना एवम् विभिन्न सङ्घसंस्थालाई आमन्त्रण गरिएको उनले सुनाए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *