नेपाल प्रहरीका दुई विवादित एसपीको सरुवा

डिसी नेपाल
७ कार्तिक २०७८ ८:३४

काठमाडौं। नेपाल प्रहरीका दुई विवादित एसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले धनुषाका प्रकाश रानाभाट र सर्लाहीका सन्तोषसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयमा तानेर नयाँ एसपी पठाएको छ।

लागूऔषध मुद्धामा चलखेल गरेको आरोप लागेका र प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीका एसपीको काज सरुवा गरेको हो।

उनीहरको ठाउँमा प्रहरी प्रधान कार्यालयमा रहेका एसपी बसन्त रजौरेलाई धनुषा र प्रदेश २ प्रहरी कार्यालय जनकपुरमा रहेका एसपी कृष्ण प्रसाईलाई सर्लाही पठाएको छ। एसपी रानाभाटले लागुऔषध मुद्धामा गत फागुजनमा पक्राउ परेका आरोपीहरुको मिसिल कमजोर बनाएको आरोप लागेको थियो।

यस बिषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिरहेको जनाएपछि त्यसको परिणाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। एसपी रानाभाटले गत असारमा लागूऔषध मुद्दाको मिसिल फेरबदल गरेर लाभ लिन खोजेको आरोप लागेको थियो। उनले लागुऔषध मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि छानविन नै भएको थियो।

२०७७ फागुन ८ गते धनुषा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बटेश्वरबाट प्रतिबन्धित लागुऔषध नाइट्रोजन भ्याटसहित तीन जनालाई पक्राउ गरेको घटनामा एसपी रानाभाटले मिसिल नै परिवर्तन गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो।

लागुऔषधसहित पक्राउ पर्नेहरुमा महोत्तरीको मनरासिसवा नगरपालिका–२ बस्ने २१ वर्षीय केशव सिंह, २० वर्षीय रोशन ठाकुर र २० वर्षीय सहिल सिंह रहेका थिए । त्यसैगरी सर्लाहीका एसपी राठौरले कार्यालयमै तास खेलेको भिडियो सार्वजनिक भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *