एक वर्षपछि घर निर्माणका लागि सम्झौता

डिसी नेपाल
८ कार्तिक २०७८ ६:४८

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितको पुनःस्थापना गर्न निजी आवास पुनःनिर्माणका लागि एक वर्षपछि बल्ल अनुदान सम्झौता भएको छ।

विसं २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरोपीडितको लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउन आइतबार पोखरेबगरस्थित गाउँपालिकाको कार्यालयमा सम्झौता गरी अभिमुखीकरण गरिएको हो। बीस लाभग्राहीसँग अनुदान सम्झौता गरी घरको नमूना, मापदण्ड, अनुदानको किस्ता भुक्तानी, प्रविधि र प्रक्रियाको विषयमा अभिमुखीकरण गरिएको गाउँपालिकाका इञ्जिनियर ईश्वरबहादुर भण्डारीले जानकारी दिए।

गत वैशाखमा पारित भएको कार्यविधिअनुसार कोरोना र बर्खाका कारण तत्कालै घर निर्माण गर्ने सम्भावना नदेखिएपछि ढिलाइ भएको उनले बताए। अनुदानमध्ये गाउँपालिकाले पहिलो किस्ताबापतको दश प्रतिशत रु ५० हजारका दरले पीडितको खातामा पठाउनेछ। दोस्रो किस्ता रु दुई लाख पचास हजार र तेस्रो किस्ता घर निर्माण सकिएपछि रु दुई लाख उपलब्ध गराउने व्यवस्था छ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले यस वर्षको बर्खामा पनि घरबास गुमाएकाको पहिचान गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरिएको र स्वीकृत भएपछि अनुदान सम्झौता र पुनःनिर्माण प्रक्रिया अघि बढाइने जानकारीदिए।

यसैगरी हालै बाहिरिएको यस वर्षका मनसुनका समयमा भएको विपद्जन्य घटनाबाट जिल्लाको रघुगङ्गा गाउँपालिकामा २५ घर भत्किएका छन्। पहिरो, बाढी, कटानका कारण घरबास गुमाएकालाई तत्काल रु चार लाख ७० हजार राहत नगद वितरण गरेको गाउँपालिकाले उनीहरुको निजी आवास पुनःनिर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग साझेदारी गर्ने जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले मनसुनजन्य विपद्बाट क्षति भएका निजी घरको लगत सङ्कलन गरेर पुनःनिर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरिएको जानकारी दिए।

“सबै घरको जनप्रतिनिधि, प्राविधिक र प्रहरीको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारि प्रशासनमा सिफारिस गरेका छौँ”, उनले भने, “पालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा पहिरोपीडितको निजी आवास पुनःनिर्माण प्रक्रिया अघि बढाएका छौँ।” वडा नम्बर १ बेगमा तीन, वडा नम्बर २ भगवतीमा छ, वडा नम्बर ३ पिप्लेमा नौ, वडा नम्बर ४ दग्नाममा पाँच, वडा नं ५ झिँ र ८ नम्बर वडा कुइनेमङ्गलेमा एक/एक वटा घरमा क्षति पुगेको छ। पूर्ण क्षति भएका १० वटा घरलाई रु २५ हजार, आंशिक क्षति भएका १४ घरलाई रु १५ हजार र सामान्य क्षति भएका एक घरलाई रु दश हजारका दरले रु चार लाख सत्तरी हजार राहत वितरण गरेको छ।

गत २०७७ को बर्सातमा क्षति पुगेका रघुगङ्गाका १७ वटामध्ये चार वटा म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले पुनःनिर्माण गरेर हस्तान्तरण गरिसकेको छ। बाँकी १३ वटा घरलाई रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउने सम्झौता गरी पुनःनिर्माण सुरु गरेका छन्। गाउँपालिकाले उपलब्ध गराउने दश प्रतिशतले हुन आउने रु ५० हजारका दरले सबै पीडितको खातामा पठाइसकेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *