काठमाडाैं महानगरपालिकाले ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने

डिसी नेपाल
८ कार्तिक २०७८ ११:२९

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका करीब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ। राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरले यो लक्ष्य राखेको हो।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रम आइतबार कार्यक्रमको सुरुवात गर्दै ८० हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने लक्ष लिएको जानकारी दिए। महानगरले दुई सय ७९ वुथबाट कार्यक्रम चलाउन पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेको छ।

प्रमुख शाक्यले, महानगरले सञ्चालन गरेको निःशुल्क स्वास्थय सेवामा सेवाग्राहीको आकर्षण बढाउने गरी विश्वसनीय सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह पनि गरेका छन्। ‘हामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिइरहेका छौँ। तर कतिपय सेवाग्राहीहरु पैसा तिरेर निजी क्लिनिकमा गइरहनुभएको छ। गएको बर्ष हामीले वितरणका लागि तयार पारेको सबै औषधि वितरण भएन। हामी निःशुल्क सेवा दिन्छौँ भन्दा नागरिक किन निजीतिर आकर्षित हुनुहुन्छ? हामीले हाम्रा सेवाको समीक्षा गर्नुपर्छ।’ प्रमुख शाक्यले भने, ‘हाम्रो स्वास्थ्य सेवामा नागरिकको आकर्षण बढाउनुपर्छ।’

महानगरकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केकाअनुसार ०७८ बैशाख ६ र ७ गते सञ्चालन गरिएको कार्यक्रममा ६ महिनादेखि १ बर्षसम्मका ५ हजार ९९५ जना र १ बर्षदेखि ५ बर्षसम्मका ५३ हजार ५४३ गरी जम्मा ५९ हजार ५३८ जनालाई भिटामिन ए क्याप्सुल दिइएको थियो। त्यसै गरी ३ सय जना सुत्केरीलाई भिटामिन ए क्याप्सुल दिइएको थियो। त्यसै गरी ५३ हजार ८०३ जनालाई जुकाको औषधि दिइएको थियो।

महानगरले हरेक अभिभावकलाई ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ। यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ। रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यस कार्यक्रममा आउने अभिभावकलाई — भिटामिन ए पाइने र घरमै पाइने खाद्यबस्तुका बारेमा जानकारी दिने गरिएको छ।

कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *