सुडानमा टिभी, रेडियोमा सेनाको कब्जा, सरकारले जनतालाई भन्यो ‘सेनाको हस्तक्षेप रोक्नुस्’

डिसी नेपाल
८ कार्तिक २०७८ १३:५९

काठमाडौं। सुडानमा सेनाले देशका प्रधानमन्त्री र अन्तरिम सरकारका मन्त्रीहरुसहित कैयौं सदस्यहरुलाई आज बिहानै गिरफ्तार गरेको छ । सुडानको सूचना मन्त्रालयले गिरफ्तार गरिएका व्यक्तिहरुलाई रिहा गर्न र र सत्ता कब्जाको कोसिस रोक्न अपिल गरेको छ ।

सेनाले देशको सरकारी टिभी र रेडियो मुख्यालयलाई आफ्नो कब्जामा लिएको खबर छ । सुडानको सूचना मन्त्रालयले आफ्नो फेसबुक पेजमा यो जानकारी दिँदै सेनाले एक कर्मचारीलाई गिरफ्तार पनि गरेको बताएको छ ।

सुडानका प्रधानमन्त्रीका एक सल्लाहकारले अल अराबिया च्यानलसँग कुरा गर्दै अमेरिकाका विशेष प्रतिनिधिको उपस्थितिमा सत्तारुढ परिषदसँग सम्झौतापछि पनि सत्ता कब्जा भएको बताएका छन् ।

देशको सूचना मन्त्रालयले समाचार एजेन्सी रोयटर्ससँग भनेको छ ‘देश एक पूर्ण सैन्य सत्ता कब्जाको सामना गरिरहेको छ । हामी जनतासँग सेनाको हस्तक्षेप रोक्न अपिल गर्छौं ।’

२ वर्ष पहिले सुडानमा ३० वर्षदेखि राज गरिरहेको ओमर अल बशीरलाई सत्ताबाट हटाएपछि एक अन्तरिम सरकार अस्तित्वमा आएको थियो । त्यही बेलादेखि सेना र नागरिक सरकारबीच टकरावको स्थिति आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *