सबै नागरिकलाई राष्ट्रिय परिचय पत्रको विवरण भर्न आह्वान

डिसी नेपाल
९ कार्तिक २०७८ १९:५९

काठमाडौं । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कसैले पनि नछुटाइकन राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराउन आग्रह गरेकी छन् ।

राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरुबीच आज भक्तपुर नगरपालिकामा भएको अभिमुखीकरण कार्यक्रम उनले यस्तो आग्रह गरेकी हुन् । उनले जिल्लाको सबै नगरपालिकाको वडा वडामा राष्ट्रिय परिचय पत्र बनाउने टोली परिचालन भएकाले सबैले प्रत्येक व्यक्ति आफ्नै गाउँको शिविरमा पुगेर नाम दर्ता गराउन आग्रह गरेकी हुन्। प्रजिअ शर्माले भनिन्, ‘व्यक्तिको वैयक्तिक र जैविक विवरणसहितको डिजिटल पहिचान स्थापना गर्ने उद्देश्यले नेपाल सरकारले बहुउपयोगी राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि सारेको छ, नेपाली नागरिकता प्राप्त नागरिकले मात्र राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेकाले नागरिकता लिएका सबैलाई सो विवरण भराउन आग्रह गर्दछु ।’

आधुनिक युगमा डिजिटल प्रविधिमार्फत सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामको लागि समेत प्रयोगमा ल्याउन सकिने हुनाले यो परिचयपत्रको अत्यन्त महत्व रहने बताउँदै उनले सरकारले हाल २० जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन गरिसकेको र १० जिल्लामा सञ्चालन गर्ने तयारीमा रहेको बताइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *