संरक्षक परिषद्लाई गुहार्दै सकियो विश्व भेला

डिसी नेपाल
१० कार्तिक २०७८ ८:२२

वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेलाले एनआरएनएको संरक्षक परिषद्लाई हाल प्रकट भएका विवाद मिलाउन आग्रह गर्ने निर्णय गरेको छ।

एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुबेदीको नेतृत्वमा संसारभरका ४२ देशका अध्यक्ष र अन्य केही देशका पदाधिकारीहरु सहभागी भएको सो भेलाले संस्थाको गरिमा र साख जोगाउनका लागि तत्काल पहल गर्न संरक्षक परिषद्लाई आग्रह गरेको हो।

आइतबार सम्पन्न भेलाले सात बुँदे घोषणापत्र पनि जारी गरेको छ र घोषणा पत्रमा संघको वर्तमान नेतृत्वप्रति आक्रोश व्यक्त गरिएको छ। संघको वर्तमान नेतृत्वका कारण संस्था गतिहीन र विवादित बनेको भन्दै घोषणा पत्रमा संस्थाको गरिमा कायम राख्न संरक्षक परिषदले पहल गर्नुपर्ने निष्कर्ष निकालिएको उल्लेख छ।

संघको संस्थापक पक्षबाट अध्यक्ष कुमार पन्त तथा महासचिव हेमराज शर्मा दुबैले इमेल र पत्रमार्फत यस्तो विश्व भेला नगर्न र सहभागी नहुन आग्रह गरिएको भए पनि भेलामा उल्लेख्य संख्यामा विश्वभरका एनसीसी अध्यक्ष तथा नेताहरुले सहभागित जनाएका थिए।

एनआरएनको विधान अनुसार नै अक्टोबर २३–२५ का लागि तोकिएको दशौं विश्व सम्मेलन तथा महाधिवेशन हुन नसकेपछि एनसीसीहरुको विश्व सम्मेलन गरिएको आयोजकहरुले दावी गरेका छन्।

खासगरी महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा देखिएको विवादका कारण संघमा भाँडभैलो भएको छ र यसैकारण निर्धारित समयमा हुने भनेको महाधिवेशन रोकिएको छ। केही देशमा एनसीसीहरुको निर्वाचनमा पनि विवाद देखिएको छ । संघको नेतृत्वले आफूखुसी नियमावली बनाएका कारण विवाद बढेको असन्तुष्ट पक्षको गुनासो छ।

एनसीसीहरुको विश्व भेलाले अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी)को नेतृत्वले विधान विपरीत काम गर्दा संस्था नै गम्भीर अवस्थामा पुगेको निष्कर्ष निकालेको उसको घोषणापत्रमा उल्लेख छ। भनिएको छ, ‘गैरआवासीय नेपाली संघको विधानको व्यवस्था बमोजिम २ वर्षभित्र महाधिवेशन गर्न नसकेको कारणले संघको विधानको धारा १६ (१) को (४) मा उल्लेख भए बमोजिम संस्थाको साख बचाउन पहल गर्नु पर्ने जिम्मेवारी संरक्षक परिषदमाथि आइपुगेको छ। संघको इतिहासमै उत्पन्न अभूतपूर्व संकटलाई हालै कार्यकाल पुरा गरेको आइसीसी, नव निर्वाचित आइसीसी सदस्यहरु, सल्लाहकारज्यूहरु तथा हामी सम्पूर्ण एनसीसीहरुसँग छलफल र परामर्श गरी निकास निकाल्ने वैधानिक दायित्व पुरा गर्न संरक्षक परिषद अग्रसर हुने हामीले विश्वास लिएका छौं।’

तर, संघको संस्थापन पक्षले भने संरक्षक परिषद् हाल म्याद सकिएको अवस्थामा भएको दावी गर्दै आएको छ। यो पक्षले केही दिनअघि एउटा जुम बैठकको आयोजना गरी आईसीसीको म्याद ६ महिना थप गर्ने निर्णय गरेको थियो तर संरक्षक परिषद्बारे कुनै निर्णय गरेन।

संस्थापन इतरसमूहबाट आयोजित विश्व भेलाले आफूहरुमाथि चरम अन्याय भएपछि न्याय माग्न नियामक निकाय परराष्ट्र मन्त्रालय पुगेको र सो काम स्वाभाविक भएको ठहरसमेत गरेको छ। परराष्ट्र मन्त्रालयले दिएको सुझाव र सल्लाहलाई संघको विधान अनुसार कार्यान्वयन गर्न सम्मेलनले संघको वर्तमान नेतृत्वलाई आग्रह गरेको छ।

भेलाले अन्यायपूर्ण काम के के भएका थिए भन्नेबारे पनि छलफल गरेको बताइएको छ। जसअनुसार, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट एउटै विषयमा एनसीसीहरुलाई भिन्नाभिन्नै पत्र पठाउनुलाई असमान व्यवहार भएको आरोप लगाइएको छ भने आइसीसीका पदाधिकारीहरु नै चुनावमा होमिने भएपछि आफ्नो अनुकूल स्थिति बनाउन यस्ता कामहरु गरिएको ठहर गरेको छ।

भेलाले आइसीसीको निर्वाचन परिणामलाई प्रभावित गर्न एनसीसीको निर्वाचन डेलिगेट्स चयन प्रक्रियामा हस्तक्षप गर्ने वातावरण अन्त्य गर्न पनि माग गरेको छ ।

संघका अध्यक्ष पन्त र महासचिव शर्मा अनुपस्थित भएको संस्थापन इतरको सो विश्व भेलाको उद्घाटन भर्चुअल माध्यमबाट पूर्वपरराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले गरेका थिए भने सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत समाजवादीका प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह लगायतले सम्बोधन गरेका थिए।

त्यस्तै संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचन, संघका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, सोम सापकोटा, त्रिलोक गुरुङ, एसी शेर्पा, हरिबोल भण्डारी, केन्द्रीय उपाध्यक्ष मन केसी, सचिव आर के शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, मध्यपूर्व युवा संयोजक राज रेग्मी, विभिन्न एनसीसीका अध्यक्षहरुले सम्मेलनको सफलताको कामना गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *