पत्रकार नेपालको परिवारलाई सहयोग
चितवन । नेपाल पत्रकार महासङ्घले स्वर्गीय पत्रकार द्वारिका नेपालको परिवारलाई आर्थिक सहयोग गरेको छ। नेपाल पत्रकार महासङ्घ चितवन शाखाको रु ५० हजार र केन्द्रले प्रदान गरेको रु २५ हजार गरी रु ७५ हजार आर्थिक सहयोग गरिएको हो।
पत्रकार नेपालको १३ औँ पून्यतिथिको अवसर पारेर शुक्रबार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले महासङ्घका पदाधिकारीको उपस्थितिमा नेपालका भाइ शालिकरामलाई सहयोग रकम हस्तान्तरण गरे। यही असोज ३१ गते ४७ वर्षीय नेपालको निधन भएको थियो। दसैँको टीका लगाउन रौतहटको चन्द्रनिहापुर घर जाने क्रममा असोज २५ गते बाटोमा बेहोस भएपछि उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो।
यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको थियो। उनको मष्तिष्काघातको उपचारका क्रममा निधन भएको हो।
चितवन शाखाले यसअघि दिवङ्गत हुने आफ्ना सदस्यका परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो। यस्तै महासङ्घका सदस्यको रु सात लाख बराबरको दुर्घटना बीमा समेत गरिसकेको छ। बीमा सुविधा लिन नसक्ने अवस्थामा तत्कालै आर्थिक सहायतास्वरुप महासङ्घले सो रकम सहयोग गर्ने निर्णय गरेको थियो।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment