प्रदेश १ का मुख्यमन्त्री आचार्यसँग दुई विकल्प, बर्हिगमन निश्चित

डिसी नेपाल
१५ कार्तिक २०७८ १०:२७

झापा । पार्टी विभाजनताका मुख्यमन्त्रीका लागि एमालेमै रहेका भीम आचार्य आज प्रदेश १ काे प्रदेशसभाबाट विश्वासकाे मत लिँदैछन्। २६ दिन प्रदेश १ का मुख्यमन्त्री बनेका आचार्यले आज मध्याह्न १२ बजे विश्वासको मत लिने कार्यसूची छ।

मुख्यमन्त्री आचार्यले १० भदौमा सपथ लिएका थिए। तर, उनले सपथ लिनुअघि नै नेकपा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बनिसकेको थियो।

प्रदेशसभामा भने २२ भदौमा नेकपा एमाले आधिकारिक रूपमा फुटेको हो। प्रदेश १ मा एकल बहुमतमा रहेको एमाले फुटेपछि मुख्मन्त्री आचार्य अल्पमतमा परेका थिए। प्रदेश १ प्रदेशसभामा ९२ सदस्य छन्। जसमध्ये विगतमा ५१ जना प्रदेशसभा सदस्य एमालेमा थिए। तर, १० जना सांसदले नेकपा (एस) रोजेपछि एमालेमा ४१ सांसद रहे। एक जना सभामुख भएका कारण उनले मत हाल्न पाउँदैनन्।

संविधानको धारा १६८ अनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। प्रदेशमा दल फुटेको मिति अर्थात २२ भदौलाई माने पनि त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो। २२ असोजमा संसद् बोलाए पनि मुख्यमन्त्री आचार्यले पेलेरै विश्वासको मत लिएनन्। मुख्यमन्त्री आचार्यले ५ कात्तिकमा विश्वासको मतका लागि प्रस्ताव संसद्‍मा पेस गरे।

संसद् सचिवालयले ७ कात्तिकमा विश्वासको मत लिने कार्यसूची तय गरेको थियो। तर, कांग्रेसले लिखित रूपमा संसद् रोक्न आग्रह गरेपछि १५ कात्तिक अर्थात आज साेमबारलाई राखिएको थियो। ‘अस्ती केही प्राविधिक समस्याले गर्दा विश्वासको मत लिने समय सार्नुपर्ने अवस्था आयो,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले भने, ‘कतिपय भन्न नमिल्ने प्राविधिक समस्या थिए। लगभग समाधान भयो। आज मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा मत हालिन्छ।’ गठबन्धनले अविश्वासको मत हालेपछि भावी मुख्यमन्त्रीको रूपमा नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र राईलाई अघि सार्ने उनले बताए।

अघिल्लो पटक कांग्रेसले आधा-आधा सरकार चलाउने आकांक्षा देखाएपछि संसद् बैठक सार्नुपर्ने अवस्था आएको नेकपा (एस) संसदीय दलका नेता राईले बताए। ‘कांग्रेसले आधा-आधा सरकार चलाउने प्रस्ताव ल्याएपछि अस्ति बैठक सार्नुपर्ने बाध्यता आयो। तर, अब यो समस्या समाधान भइसकेको छ,’ उनले भने, ‘आधा-आधा चलाउने विषय पार्टी केन्द्रमा आ-आफ्नो नेतालाई राख्ने सहमति भएको छ। यो यहाँबाट टुंगिने विषय हैन।’ साेमबार कीर्तिपुरमा आयाेजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले ६ वटै प्रदेशमा ओली प्रवृत्ति परास्त भएको बताए। प्रदेश १ मा पनि गठबन्धन सरकार बन्ने उनले बताए।

प्रदेश १ मा ९२ सांसदमध्ये ४१ एमाले पक्षमा छन्। त्यसमेध्ये पनि एक जना सभामुख छन्। ९२ सांसद रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसद चाहिन्छ। कांग्रेस २१, माओवादी १५,नेकपा (एस) १०, जसपा ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एक गरी ५० जना सांसद विपक्षी गठबन्धनमा छन् । राप्रपाका एक सांसद छन्।

मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने लगभग निश्चित छ। उनी आजको संसद् बैठकपछि सत्ताबाट बाहिरिने निश्चित छ। उनी प्रदेशसभा फेस गर्छन् वा त्यसअघि नै राजीनामा दिन्छन् यकीन भइसकेकाे छैन। तर आचार्य यस विषयमा बिहानैदेखि नेताहरुसँग छलफलमा छन्।

मुख्यमन्त्री आचार्यले संविधानविपरीत २६ दिन सरकार चलाए । १६ दिन आफ्नै कारण र आठ दिन कांग्रेसका कारण सत्ता चलाउने मौका पाए । ‘आज हामी विश्वासको मतका लागि हरसम्भव प्रयास गर्नेछौँ । तर, विपक्षी गठबन्धन पनि विपक्षमा मत हाल्न तयार छ,’ एमाले सांसद हिकमत कार्कीले भने, ‘अस्तिको पटक कांग्रेसले गर्दा नै सत्ता लम्बिएको हो । कांग्रेसका सांसद्ले विश्वासको मतको पक्षमा मत हाल्ने भएपछि संसद् सार्न लगाइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *