देश बनाउने पार्टी एमाले हो, कांग्रेसको कुनै गन्तव्य छैन्ः ओली

डिसी नेपाल
१५ कार्तिक २०७८ १९:५८

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने पार्टी एमालेबाहेक अरू नभएको भन्दै उनले कांग्रेसको कुनै गन्तव्य नै नभएको दाबी गरे ।

नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न चितवन आएका ओलीले आगामी चुनावमा पाँच दलीय गठबन्धनविरुद्ध लड्न एमाले एक्लै काफी हुने उनले बताए । ‘पाँचवटा मिलेरै जाऊ । हामी एक्लै काफी छौँ । काफी हुनुपर्छ’, उनले भने, ‘धनुबाट छुटेको बाणझैँ लाग्न हाम्रा साथीहरूलाई आग्रह गर्छु । कुनै बैसाखी नटेकी एक्लै जिताउन लाग्नुहोस् ।’

चितवनबाट तीन जना प्रतिनिधिसभा सांसद र छ जना प्रदेश सांसद एमालेबाट चाहिने उनले बताए । सबै पालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पनि एमालेबाटै हुनुपर्ने उनको भनाइ छ । मतपत्र च्यात्ने र धाँधली गर्ने नभई जनताको मतबाट नै विजयी बनेर देखाउने उनले बताए ।

फरक प्रसंगमा बोल्दै ओलीले वर्तमान गठबन्धनको सरकार केही समयमा आफैँ खुइलिएर जाने बताए । जालझेल र सेटिङ मिलाएर सरकार बनाएको रहेछ भन्ने कुरा स्पष्ट भइसकेको उनले बताए । ‘न्यायाधीशहरू आफैँ भन्न थाले । बकपत्र सुरु गरे । अमेरिकाबाट आएको ईमेल पढिसक्न नपाउँदै छोपछोप बन्द गर।’, उनले भने, ‘भण्डाफोर पो हुन लाग्यो । आधैमा रोके । प्रतिक्रियावादीहरूले यस्तो हर्कत गर्छन् ।’

नेकपा एमालेलाई सरकारबाट ढाल्नका लागि असंवैधानिक बाटो रोजेको कुरा उक्त ईमेलमा स्पष्ट रहेको उनले दाबी गरे । एमालेसँग अगाडिबाट लड्न नसकेपछि पछाडिबाट झुक्याएर असंवैधानिक ढंगबाट परमादेशले हानिएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *