‘पर्यटन विकासको लागि विश्वसम्पदा सूचिमा सम्पदाको सूचीकरण बढाउनुपर्छ’

डिसी नेपाल
१७ कार्तिक २०७८ २१:३८

इलाम । पर्यटन विकासको लागि सांस्कृतिक र प्राकृतिक सम्पदाको विश्वसम्पदा सूचिमा सूचीकरण बढाउनु पर्ने सरोकारवालाले निचोड निकालेका छन् । इलाम नगरपालिका पर्यटन प्रवर्द्धन विकास समितिले आयोजना गरेको ‘इलामको पर्यटन प्रवर्द्धनमा पाइला’ विषयक सरोकारवालाको छलफलमा सहभागीले यस्तो निचोड निकालेका हुन् ।

इलाममा भएको प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा भित्रको मूर्त र अमूर्त सम्पदा विश्वसम्पदा सूचिमा सूचीकरणको लागि योग्य रहेको विदु कायस्थाले बताए । ‘इलाम बजारमा रहेको डेढ सय वर्ष पुरानो चिया बगान र नेपालको सबैभन्दा पुरानो चिया उद्योग सम्पदा सूचिमा सूचीकरण गर्न योग्य छ’, उनले भने, ‘सांस्कृतिक सम्पदा भित्र लोपोन्मुख लेप्चा र लिम्बू समुदायको संस्कृति पनि विश्व सम्पदा सूचीकरण गर्न मापदण्ड पुग्छ ।’

अहिले नेपालको १० वटा सम्पदा मात्रै विश्वसम्पदा सूचिमा सूचीकृत छन् । त्यसमध्ये सातवटा सम्पदा काठमाडौं उपत्यका भित्र छन् । नेपालको पूर्वी क्षेत्रको रहेको कुनै पनि सम्पदा विश्वसम्पदा सूचिमा सूचीकरण नभएको कायस्थले बताए ।

सम्पदा सूचीकरणको प्रक्रिया स्थानीय तहले सुरुगर्न सक्ने भएकाले उनले इलाम नगरपालिकालाई युनेस्कोले तोकेको मापदण्ड पुरा हुने सम्पदा सूचीकरणमा लाग्नुपर्ने बताए । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सूचीकरण हुनसक्ने सम्भावित सम्पदाहरूको सूचीकरणको लागि प्रक्रिया अघि बढाउने बताए ।

‘आजैबाट यो प्रक्रियाको थालनी भयो, हामी सम्भावित सम्पदाको सूचीकरणमा सफलता प्राप्त गर्छौ’, नगरप्रमुख महेश बस्नेतले भने,‘हामी सांस्कृतिक र प्राकृतिक सम्पदाको दृष्टिले धनी छौं, ती सम्पदाको सूचीकरण गर्न सकियो भने पर्यटन विकासमा योगदान पुग्छ ।’

इलाम नगरपालिका पर्यटन प्रवर्द्धन सरोकार समितिका अध्यक्ष प्रकाश अधिकारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको सूचीकरण गर्न सकिए इलामको पर्यटनले फड्को मार्ने बताए । ‘हामी सम्पदाको दृष्टिले धनी छौं । तर, सूचीकरणमा पछि छौं’, अधिकारीले भने,‘विश्वसम्पदा सूचिमा सम्पदाको सूचीकरण बढाउन सकियो भने पर्यटन क्षेत्रले फड्को मार्नसक्छ ।’

कार्यक्रममा इलाम जिल्लाको पर्यटकीय क्षेत्रको बारेमा सञ्जीव पौडेलले प्रस्तुति राखेका थिए । उनले इलाम प्राकृतिक र सांस्कृतिक रूपमा पर्यटकीय सम्भावना रहेको बताए ।

इलाममा साहसिक पर्यटनको क्षेत्रमा काम गर्न याम बहादुर गुरुङ (कमल) नामको फाउन्डेसन दर्ता गरिएको छ । इलाम जिल्लामा जन्मिएर पहिलो पटक सगरमाथाको आरोहणमा सफल भएको याम बहादुर गुरुङ (कमल)को नाममा फान्डेशन दर्ता गरिएको फाउन्डेसनका अध्यक्ष प्रकाश अधिकारीले बताए ।

फाउन्डेसनमार्फत साहसिक पर्यटन क्षेत्रको विकासको काम गर्ने अधिकारी बताउँछन् । बेलायती सेनामा कार्यरत यामबहादुर गुरुङले २०७४ जेठ २ गते सगरमाथा आरोहण गरेका थिए । उनलाई इलाम नगरपालिकाले पर्यटन सद्भावना दूतको रूपमा समेत प्रस्ताव गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *