जिरीका विभिन्न स्थानबाट देखिएकाे मनमाेहक दृष्य

फुर्पा शेर्पा
१९ कार्तिक २०७८ ९:५०

काठमाडौं। हरियाली डाँडा, सफा र सुन्दर वातावरणले मन त्यसै फुरूङ हुन्छ। दोलखाको जिरी, चरिकोट र सेरोफेरोको दृश्यहरु निकै रमणीय छ।
सफा, सुन्दर, चिसो वातावरण भएको जिरी हरेक उमेर समूहका पर्यटकका लागि उत्कृष्ट गन्तव्य मध्य एक हो। जिरी सेरोफेरोमा घुम्नका लागि थुप्रै मठ–मन्दिर, गुम्बा, छोर्तेन डाँडा काँडा र सुन्दर गाउँ वस्ति छन्।

चारैतिर डाँडाले घेरिएका सुन्दर उपत्यका हो, जिरी। बिहान कुहिरोको घम्टोले छपक्कै ढाकेको हुन्छ र केहीबेरमा सफा निलो आकस, साँच्चिकै स्वीटजरल्याण्ड जस्तै छ।
गत आइतबार काठमाडौंबाट महिला पत्रकारको एक टोलीलाई मनोरम दृश्य रहेको जिरी घुम्ने अवसर जुरेको थियो। जिरीका युवा अभियन्ता तथा पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष लिलाराम खड्काको निम्तोलाई स्वीकार्दै पत्रकार टोली नेपालको स्विट्जरल्याण्ड अर्थात् जिरी पुगेको हो।

जिरी सेरोफेरोमा थुप्रै घुम्ने ठाउँहरु छन्। त्यहाँबाट करिब २ किमी दूरीमा दूर्गेश्वर मन्दिर, १.५ किमीमा राङ राङेश्वरी मन्दिर, १ किमीमा देवी मन्दिर र ३ किमीमा जिरेश्वर महादेवको मन्दिर र करिब ४ किमीको दूरीमा चिया बगान रहेको छ।

त्यसैगरी, च्योर्दोङ डाँडा (३,६९० मिटर) बाट रोल्वालिङ, नुम्बुर, लाङताङ हिमशृंखला अवलोकन गर्न सकिन्छ। जिरी बजारबाट केही माथि भूलडाँडास्थित बुद्ध पार्क छ भने नजिकै शेर्पा वस्तिबाट जिरी उपत्यकाको असाध्यै मनरोम दृश्यले मन्त्रमुग्ध बनाउँछ।

जिरी ‘नेपालको स्विट्जरल्याण्ड’को रुपमा चिनिन्छ। यसको भौगोलिक बनावट, हावा पानी स्वीजरल्याण्डको जुरिक जस्तो देखिने भएकाले स्विसहरूले जिरीलाई ‘नेपालको स्विट्जरल्याण्ड’ भनिएको गाबिला होटलका सञ्चालक तथा समाजसेवी केशर बहादुर जिरेलले बताए।

२ दशक अघिसम्म विदेशी पर्यटकमाझ ‘एभ्रेस्ट गेटवे’को रुपमा परिचित जिरी काठमाडौंदेखि लुक्ला हवाइ सेवा सञ्चालनमा आएदेखि जिरीमा विदेशी पर्यटक शुन्य रह्यो।
पछिल्लो समय कोरोना कहरले जिरीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। यतिबेला जिरीलाई आन्तरिक पर्यटकको गन्तव्य बनाउन अभियन्ता लिलाराम खड्कालगायत स्थानीय संघ संस्था लागिपरेका छन्।

जसले गर्दा होटल सञ्चालक केशरबहादुर जिरेल लगायत अन्य व्यवासायी तथा स्थानीय होटलवासी उत्साहित र आशावादी छन्। जिरीमा जिरेल, क्षेत्री र शेर्पा समुदायको प्रमुख बसोबास रहेको छ। त्यहाँ जाने आन्तरिक पर्यटकहरु तिनका रहनसहन र संस्कृतिमा रमाएका देखिन्छन्। त्यहाँ पुगेका पर्यटकले रंगिविरंगी फूलहरु, चौरीको चिज, घिउ, चिया, किवी, छुर्पी र डल्ले खुर्सानी जिरीको कोशेलीको रुपमा ल्याउन सक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *