झुपडीमा बनाइएको स्कुलको कक्षामा आगो लाग्दा ५ देखि ६ वर्षका २५ बालबालिकाको मृत्यु
काठमाडौं। ग्रामीण क्षेत्रमा झुपडीले बनाइएको स्कुलको कक्षाकोठामा कक्षा चलिरहेका बेला अचानक आगलागी हुँदा दक्षिणी नाइजरमा कम्तीमा २५ जना विद्यार्थी बालबालिकाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार यी सबै बालबालिकाको उमेर ५ देखि ६ वर्ष थियो ।
नाइजरको मराडी क्षेत्रमा सोमबार बिहान बालबालिकाले स्कुलमा पढिरहेका बेला यो घटना भएको हो । आगलागीमा परेर कैयौं बालबालिका घाइते पनि भएका छन् । आगो लाग्नुको कारण अझैसम्म स्पष्ट हुन सकेको छैन ।
नाइजरमा धेरै स्कुलका कक्षाहरु काठ र घाँस परालले बनाइएका छन् । यी कक्षाहरुमा ठूलो संख्यामा विद्यार्थीहरु हुन्छन् । ईंट वा माटोले बनेका स्कुलका कक्षाहरु धेरै कम छन् । स्थानीय मिडियासँग कुरा गर्दै मराडीका मेयर चाइबु अबु बकरले बताएअनुसार सोमबारको आगोले तीनवटा कक्षाकोठा नष्ट भएका छन् ।
एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार उनले कैयौं शवहरुलाई घटनास्थलबाट लैजाँदै गरेको देखेका छन् । उनका अनुसार कैयौं घाइते बच्चाहरुलाई अस्पतालमा भर्ना गरिएको छ । घाइते बच्चाहरुमा केहीको अवस्था गम्भीर भएको बताइउको छ । स्कुलमा सबै कक्षाहरु रद्द गरिएका छन् ।
नाइजरमा सकुलमा आगो लाग्नु असामान्य घटना मानिँदैन तर यस्ता घटनामा धेरै मृत्यु हुँदैनथे । यो वर्षको सुरुवातमा भने राजधानी नियामेमा आगो लागेपछि स्कुलको ढोकामा फसेका कारण २० जना बालबालिकाको ज्यान गएको थियो । यो घटनामा कूल २८ कक्षा ध्वस्त भएका थिए जसले जनताको आक्रोश निकै बढाएको थियो ।







डिसी नेपाल







Facebook Comment